Thursday 11 Baishak, 2071 |
Menu

विचार

शब्दावलीका बन्दी

  • शुक्रबार ३१ जेष्ठ, २०७०
  • सीके लाल
  • DISQUS_COMMENTS
(0 votes)
नेपालगन्जलाई गैरसरकारी संस्था (गैसस)हरुको राजधानी त्यसै भनिएको होइन रहेछ। सहरका सामान्यदेखि विशिष्ट मानिएका सबैजसो होटलका कोठा गैससकर्मी एवं विशेषज्ञले भरिभराउ हुन्छन्। बजारतिर बाहिरका जोकोही भेटिए पनि अभिवादनपछिको पहिलो प्रश्न हुन्छ, ‘कुन कार्यक्रमका लागि आउनुभएको हो?' तर, गैससको गतिविधि व्यापक भएर पनि गैससगिरी (गैससबाट जीविका चलाउने) सायद डडेल्धुरातिर बढी छ।
राजनीतिक मात्र होइन, पर्यटकीय, स्वास्थ्योपचार, शिक्षा, व्यापार एवं संस्कृतिजस्तै सक्कली गैसस राजधानी पनि काठमाडौं नै हो। आर्थिक कारोबारका आधारमा हेर्ने हो भने बाँकी देशभरि खर्च गरिएभन्दा बढी रकम बहुराष्ट्रिय एवं राष्ट्रिय गैससले काठमाडौं उपत्यकाभित्र नै खर्च गर्ने गर्छन्। परिचय र पहिचानको अभावमा अवध नगरी गैससगिरीको अखडाका रुपमा दरिन अभिशप्त छ।
पश्चिमी पहाडको मूलद्वार रहेकाले नेपालगन्जको बस्ती धेरै अगाडिदेखि नै मिश्रित रहँदै आएको हो। दाङ–प्युठानका जिम्मावाल होउन् वा बाजुरा–बझाङका बाबुसाहेब, ती नयाँ मुलुकतिरका आआफ्ना बिर्ताको असुली गर्ने हवेली नेपालगन्जमै बनाउने गर्थे। व्यापारका लागि बहराइचदेखि लखनउसम्मबाट झिकाइएका साहुको कोठी पनि त्यस क्षेत्रको मूलबजार नै हुने भयो। दुईचार पैसा कमाइ भएका ‘उपरी आमदनी' पाउने सरकारी कर्मचारीले स्वभावतः बसाइँसराइका लागि सहर नै रोज्ने गर्थे। तराई–मधेसका सीमावर्ती सहरमध्ये दैनिक व्यवहारका लागि चोक–गल्लीमा समेत मूलतः नेपाली भाषा नै प्रयोग हुने भद्रपुर र भैरहवापछि सायद नेपालगन्ज नै हुनुपर्छ, चितवन एवं महेन्द्रनगरजस्ता अपवादबाहेक।
पहिचानको संकट अन्तर्क्रियाहरूमा झन् टड्कारो रूपमा देखिन्छ। मूलतः मधेसीको एउटा कार्यक्रममा नेपाली कांग्रेसका एकजना पूर्वसभासद्ले नेपालीमा बोल्न थाले। एकछिनपछि भावुक भएर अवधीमा आफ्ना पीडा पोख्न थाले। त्यसपछि सायद उनलाई लाग्यो, राजनीतिकर्मी त आँटिलो पो हुनुपर्छ। अनि एकछिन हिन्दीमा बम्किए। सभाकक्षको एउटा कुनाबाट एउटा टिप्पणी सुनियो, ‘नेपालीमा बोल्नुस्, फेरि दाजुहरूले गाली गर्लान्।' टिप्पणी सुने वा सुनेनन् तर त्यसपछि उनले पुनः अवधि वा हिन्दीमा बोलेनन्। घरमा ऊर्दू, थारु वा अवधी जे बोले पनि सार्वजनिक स्थलमा नेपालगन्जका सामान्य व्यक्ति पनि राष्ट्रिय सम्पर्क भाषा नै बोल्दा रहेछन्।
मधेसी समुदायले आफ्नो कमजोरीलाई सहिष्णुताको आवरणभित्र लुकाउने प्रयत्न गर्छन्। धनी होउन् वा विपन्न, पहाडीमा भने शासकीय समुदायको बोध स्पष्ट देख्न सकिन्छ। एउटै साहुका लागि काम गर्ने उही स्तरको स्थानीय मधेसी एवं आगन्तुक पहाडी कामदारको ज्याला भलै एक समान होला तर अग्रता कसको छ भन्ने चालढाल एवं बोली, व्यवहारबाटै झल्किन्छ। सत्ताधारी समुदायको सदस्य हुनुको फाइदा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता एवं उनको नाति भन्न सुहाउने पत्रकारबीचको वार्तालापमा अव्यक्त रूपमा प्रकट हुन्छ। मधेसी पत्रकारहरू गुप्ताप्रति श्रद्धावान् भएर कुरा गर्छन्। शासक समुदायका चल्तापुर्जा पत्रकारका लागि भने उनी आदरका पात्र भए पनि उत्प्रेरक व्यक्तित्व भने होइनन्। तिनको भाषामा वरिष्ठ पेशाधर्मीप्रति भद्रताभन्दा पनि सौजन्य बढी रहेको ठम्याउन गाह्रो हुँदैन।
भाषा सँगसँगै शक्ति प्रयोगको प्रत्यक्ष प्रभाव अन्तर्क्रियाहरूमा प्रयोग हुने शब्दावलीमा पनि अनुभव गर्न सकिन्छ। सद्भाव, सहिष्णुता, शान्ति, विकास, प्रजातन्त्र एवं निष्पक्षताजस्ता शब्द परिस्थितिनिरपेक्ष एवं शास्वत होइनन्। तिनको प्रयोग कसले, कुन उद्देश्यका खातिर, कस्तो प्रसंगमा एवं कुन किसिमको प्रभाव उत्पन्न हुनेगरी गर्छ भन्ने शब्दको अन्तर्निहित अर्थभन्दा पनि बढी महत्वपूर्ण हुन्छ। 
शब्द शक्ति : 
अंग्रेजी लेखक लेविस क्यारोलको रचनामा एउटा वार्तालाप छ। ‘जब म कुनै शब्द प्रयोग गर्छु,' हम्प्टी डम्प्टी भन्ने पात्र तिरस्कारपूर्ण शैलीमा भन्छ, ‘मैले त्यसलाई जे अर्थ दिन खोजेको हो, त्यसको अर्थ त्यति मात्र हो, न बढी न कम।' ‘प्रश्न के हो भने,' एलिसको जवाफ हुन्छ, ‘कि तिमी शब्दलाई त्यति धेरै अर्थ दिने बनाउन सक्छौ?' ‘प्रश्न हो,' हम्प्टी डम्प्टी सपाट स्वरमा भन्छ, ‘मालिक को हुने– त्यति हो।' काठमाडौंमा मालिकको भाषा अंग्रेजी हुन लागिसकेको भए तापनि नेपालगन्जजस्तै अन्य सहरमा वर्चस्व नेपालीमा प्रकट हुने गर्छ। छलफलका मुख्य मन्त्र अभिव्यक्ति (जारगन) एवं ‰याउँ शब्द (बजवर्ड) भने एकनासका छन्।
कतिलाई आश्चर्य लाग्ला तर यथार्थ के हो भने धर्मनिरपेक्षतालाई नेपालका शिक्षित समाजले समेत आत्मसात् गर्न सकेका छैनन्। केही दोषी त गलत अनुवादको पनि हो। लौकिकता वा सांसारिकता (सेक्युलरिज्म) आस्था हो, निरपेक्षता होइन। शासन एवं धर्मलाई सकभर जोड्नु हुँदैन भन्ने राजनीतिक जीवनदृष्टिलाई सामाजिक जीवनमा धर्मलाई मान्नेले पनि अंगीकार गर्न सक्छन्। मुख्य कुरा के हो भने सार्वजनिक जीवनमा लौकिकता धार्मिक स्वतन्त्रता एवं सहिष्णुताभन्दा फरक विषय हो। 
बिनाकुनै पूर्वाग्रह एउटा उदाहरण लिने हो भने लौकिकताको महत्व अझ स्पष्ट हुन्छ। सर्वोच्च अदालतका कायम मुकायम प्रमुख साधु प्रकृतिका व्यक्ति छन्। बारा, पर्सातिर हुर्के बढेकाले सायद उनका मुसलमान बालसखा होलान्। देशदेशावर घुमेकाले यहुदी, इसाई एवं बौद्ध धर्मावलम्बीसँग उठबस भएको होला। आधुनिक कानुनका ज्ञाता छन्। अन्तरिम संविधान अर्थ्याउने जिम्मा उनको नैतिकवान् काँधमा छ। मानिलिउँ उनी कुनै दिन गेरु रंगको लबेदा–सुरुवालमा इजलासमा बसेका छन्। निधारमा रक्तचन्दनको टीका छ। भित्तामा पशुपतिनाथको मन्दिरको सुनौलो आकृति पनि झुन्डिएको होला। त्यस इजलासमा एउटा मुसलमान फरियादीको स्थिति कल्पना गर्न कुनै मौलाना आसीन शरिया अदालतमा उभिएको हिन्दुको मनस्थिति ठम्याउनुपर्ने हुन्छ।
विदेशीलाई दोष दिन सजिलो छ तर राजनीतिमा लौकिकता नेपालको बाध्यता नभएर आवश्यकता हो। सहिष्णुता वा सदाशयले पुग्ने भए जनजातिलाई रामायण थमाउँदै तिनको हिन्दुकरण वा दलितको मानमर्दन आवश्यक पर्ने थिएन। धर्मनिरपेक्षतामात्रले जातीय समानताको प्रत्याभूति गर्दैन। सहिष्णुताभन्दा फराकिलो व्यवस्था भने पक्कै हो।
धर्मभिरुता सात सालअघिको शक्ति संयन्त्र हो भने ‘विकास'सँग सम्बद्ध शब्दजालको व्यापकता सत्र सालपछि चलनचल्तीमा आएका हुन्। सुन्दा अचम्म लाग्न सक्छ, नेपालगन्जमा एमाले वा कांग्रेस निकट रहेको छवि बनाएका प्रतिष्ठित पेसाकर्मी आजभोलि पनि वर्ग समन्वयका कुरा गर्दा रहेछन्। संघर्षभन्दा शान्ति महत्वपूर्ण रहेको दाबी सार्वजनिकरूपमै गर्दा रहेछन्। र, संघीयताले मुलुक टुक््रयाउनेछ भन्ने टिप्पणी गर्न कति पनि धक नमान्ने रहेछन्। आवरणमा जे देखिए पनि राजा महेन्द्रको ‘अरूले सय वर्षमा गरेको काम हामीले दस वर्षमा गर्नुपरेको छ' भन्ने हावादारी दाबीभन्दा खासै फरक छैनन्, ‘विकासका लागि राजनीति' गर्ने पञ्चायतकालीन नारा।
आवश्यकता बढ्दै जान्छन्। चाहना असीमित हुने नै भए। तिनका तुलनामा साधन एवं स्रोत जुनसुकै समाजमा पनि सीमित नै हुन्छन्। उत्पादकत्व बढाउने एवं प्रतिफलको न्यायोचित वितरण सुनिश्चित गर्दै लगेर अन्तर्द्वन्द्व कम गर्ने चुनौती अर्थ राजनीतिको शास्वत प्रश्न हो। सर्वमान्य एवं सर्वस्वीकार्य समाधानको खोजी नै राजनीति हो। अनि राजनीति–निरपेक्ष विकास कसरी सम्भव हुन्छ। नेतालाई सराप्नु खातापिता एवं सुकिलामुकिलाका लागि कुण्ठा अभिव्यक्त गर्ने तरिका होला तर राजनीतिमा लाग्नेरू पढेलेखेकाको वाहवाही पाउनमात्र सार्वजनिक जीवनमा गएका होइनन्। प्रजातन्त्रमा राजतन्त्र वा सम्भ्रान्तवादको पनि वकालत गर्न पाइन्छ तर त्यसका लागि विकासवाद, राष्ट्रवाद वा संविधानवादको बर्को फालेर राजनीतिक प्रतिस्पर्धाको मैदानमा उत्रिने आँट देखाउन सक्नुपर्छ। 
नागरिक नेता
आधुनिक शासन व्यवस्थाका चार मुख्य धार (सैन्यवाद, साम्यवाद, उदार प्रजातन्त्र एवं सम्भ्रान्त तन्त्र) पुराना प्रचलन (राजतन्त्र, सामन्तवाद, उपनिवेशवाद एवं साम्राज्यवाद) विस्थापित हुँदै गएपछि उदाएका हुन्। उत्तरआधुनिक राजनीति भने अझै पनि आफ्ना आधार, आस्थाको खोजी गर्दैछ। मार्क्स, लेनिन एवं माओका विचारको सान्दर्भिकता म्याकियावेलीका सूत्र, जेम्स मिलका सिद्धान्त वा कौटिल्य एवं लाओ जुका मान्यताजस्तै लामो कालसम्म रहनेछ। तर, फासीवादजस्तै मालेमावाद पनि असफल विचारधारा हो भन्ने स्वीकार नगरेसम्म भूस्वर्ग (युटोपिया) खोजीको मृगतृष्णाबाट सामान्य जन मुक्त हुनेछैनन्। बुद्धले उहिल्यै भनेका थिए, ‘जीवन दुःख हो। सुखको खोजीले अन्ततः हिंसातिर डोर्या उँछ। संघर्षसँग बाँच्दै निरन्तर प्रयत्नशील रहने हो भने चमत्कारको मोहपाशबाट मुक्त हुन सकिन्छ। मानवजातिको कुनै पनि युद्धले सबै युद्धको अन्त्य गरेको छैन भन्ने तथ्यले व्यापकता नपाएसम्म ‘हतियार उठाउने' चेतावनी वामपन्थी–बहुल समाजका हरेक अन्तर्क्रियामा सुनिरहनु पर्नेछ। 
अर्थ बन्दी बनाइएका शब्द असंख्य छन्। विकास, गरिबी निवारण, सामाजिक सुरक्षा, सद्भाव, सहिष्णुता, सहभागिता, विश्वव्यापीकरण, खुलापन, पारदर्शिता, भ्रष्टाचार निवारण, सशक्तीकरण, लैंगिक हिंसा, पर्यावरण, दिगोपन, सरोकार समूह, क्षमता निर्माण, चेतना वृद्धि, सामुदायिक स्वामित्व, असल शासन, द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण एवं स्थानीय अग्रसरता जस्ता शब्दावलीले प्रजातान्त्रिक व्यवस्थामा मात्र पूर्णता पाउन सक्छन्। ‘नागरिक समाज' बडो कर्णप्रिय अभिव्यक्ति हो तर आधारभूत स्वतन्त्रता संस्थाकरण नभएसम्म त्यसको औचित्य केही अगुवाको क्रियाशीलतामै सीमित रहनेछ। 
शिक्षित समुदायको समेत निरीहता पारम्परिक संस्कार दर्शाउने एउटा सामान्य प्रश्नमा मुखरित हुन्छ– ‘समस्या कसलाई थाहा छैन, समाधान बताउनुस् न!' गुरु, पुरोहित, विज्ञ, पीडित, ज्योतिष, पुजारी वा अन्य जान्नेसुन्नेले सामाजिक वा राजनीतिक रोगको ओखती गरिदिन्छन् भन्ने अपेक्षा कायम रहेसम्म नारद प्रवृत्तिको वर्चस्व समाप्त हुन सत्तै्कन। शब्दहरूको पुनर्व्याख्याले समाधान नभएर समस्यालाई विभिन्न दृष्टिकोणबाट हेर्ने क्षमता बढाउँछ। सहभाव र सद्भाव त्यसपछिको स्वाभाविक चरण हो।
Our website is protected by DMC Firewall!