Thursday 8 Shrawn, 2071 |
Menu

विचार

असफल शिक्षा प्रणाली

(0 votes)
उच्च शिक्षाको पहिलो ढोका मानिने प्रवेशिका (एसएलसी) परीक्षामा बहुसंख्यक विद्यार्थी असफल हुनुमा परीक्षार्थीभन्दा शिक्षा पद्धति र परीक्षा प्रणाली नै दोषी छ। विसं. २०६९ को चैतमा भएको एसएलसी परीक्षामा ४१.५७ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण घोषित भएका छन्। एसएलसी परीक्षाको इतिहासमा अधिकांश वर्ष अनुत्तीर्ण हुनेकै अनुपात बढी हुनुले यसको उपयुक्ततामै प्रश्न खडा भएको छ। विद्यार्थीले १० वर्षभन्दा बढी विद्यालय शिक्षामा बिताउँछन्।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
त्यसको मूल्यांकन अन्तिम वर्षको तीन घन्टामा प्रहरी तैनाथ गरेर गरिन्छ। विडम्बना, त्यसरी लिइने परीक्षाले विद्यार्थीको सही मूल्यांकन गर्ने र भविष्य नै निर्धारण गर्ने मानिन्छ। यसभन्दा ठूलो शैक्षिक विसंगति अरू के हुनसक्छ? 
यसो त यस पटक एसएलसी परीक्षामा केही उत्साहजनक संकेत पनि देखिएका छन्। सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची घ्याङ माध्यमिक विद्यालयका विद्यार्थी लगातार सात वर्षदेखि शतप्रतिशत उत्तीर्ण भइरहेका छन् त्यो पनि सबै प्रथम श्रेणीमा। विद्यालयमा भने सरकारले माध्यमिक स्तरको दरबन्दीसम्म पनि दिएको छैन। दुर्गम भेगको यो सार्वजनिक विद्यालयमा मूलतः निजी स्रोत र राहत दरबन्दीका शिक्षक कार्यरत रहेछन्। सबै सुविधा सम्पन्न अधिकांश सार्वजनिक विद्यालयका शिक्षकलाई यस विद्यालयको सफलताले लाजमर्दो बनाएको हुनुपर्छ। सिन्धुपाल्चोककै अर्को उल्लेख्य सफलता प्रौढ कक्षामा एक वर्ष तयारी गरेर एसएलसी दिनेमध्ये ६३ प्रतिशत उत्तीर्ण हुनु पनि हो कास्की जिल्लाबाट परीक्षा दिने बहिरा र दृष्टिहीन विद्यार्थी सबै उत्तीर्ण भएका छन्। आफ्नै आँखा अगाडि प्रहरीको गोली लागेर आमा ढलेको देख्ने चितवनका रबिन क्षेत्री विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। परन्तु, यी सबै उपलब्धिमा राज्य, समाज र शिक्षा पद्धतिको खासै योगदान छैन। सबैजसो सफलता व्यक्ति विशेषको प्रयासबाट हासिल भएको देखिन्छ। 
यस वर्ष असफल घोषित परिक्षार्थीको संख्या हेर्दा कहाली लाग्छ। भनिन्छ, विद्यार्थी असफल हुनुको अर्थ शिक्षक विफल हुनु हो। बर्सेनि लाखौं युवालाई असफल बनाउने पद्धतिमा सुधारको आवश्यकता सबैले स्वीकारे पनि २०२८ सालदेखि बिग्रेको शैक्षिक व्यवस्थामा परिवर्तन गर्ने आधारभूत प्रयास भने गरिएको छैन। राजनीतिक परिवर्तनको सुरुमा केही प्रगति भएको देखिए पनि शैक्षिक स्तर ओरालो लाग्ने चक्र २०४६ र २०६३ को परिवर्तनपछि पनि कायमै छ। 
यसबीच, सरकारले ऋण लिएर पनि शिक्षामा लगानी बढाएको बढायै छ। लगानीको अभावले एसएलसी परीक्षाफल बिग्रेको मान्न मेलम्चीघ्याङ माविको उदाहरणले दिँदैन। उचित पठनपाठन हुने हो भने अपांगताले पनि सफलतालाई छेक्न सक्तो रहेनछ। कास्की अपाङ्गता भएका विद्यार्थी शत प्रतिशत उत्तीर्ण हुनुले यही प्रमाणित गर्छ। करिब एक वर्ष कक्षा लिएका सिन्धुपाल्चोकका प्रौढ परीक्षार्थीको उत्तीर्ण प्रतिशत १० वर्ष लगातार पढेका विद्यार्थीभन्दा धेरै हुनुले विद्यालय शिक्षामा रहेको कमजोरी नै उजागर गरेको छ। यी सबैका आधारमा स्पष्ट हुन्छ त्रुटि परीक्षार्थीको नभएर शिक्षा प्रणालीकै हो र सुधार पनि त्यहीँ केन्द्रित गरिनुपर्छ।
उत्तीर्ण हुनेले नै पनि श्रम बजारमा सजिलै प्रवेश पाउन सत्तै्कनन्। सबैले उच्च शिक्षा हासिल गर्ने सम्भावना पनि छैन। प्रतिस्पर्धा निकै चर्को छ। यसैले तिनले शैक्षिक बेरोजगारको संख्या र समस्या बढाउनेमात्रै हुन्। शिक्षा प्रणालीमा सुधार गर्दा विद्यमान अनुदार मूल्यांकन प्रणालीमा मात्र हैन समग्र शैक्षिक पद्धतिको औचित्यमा केन्द्रित हुनुपर्छ। अर्बौँ रुपियाँ ऋण लिएर शिक्षामा खर्च गर्ने तर त्यसको प्रतिफल भने सधैँ ऋणात्मक भइरहने अवस्था मुलुकले धान्न सत्तै्कन।
अहिलेको विसंगतिको मूल दोष शिक्षा व्यवस्थालाई जान्छ तर सार्वजनिक विद्यालयका शिक्षक पनि उत्तिकै दोषी छन्। शिक्षकले आफ्नो व्यावसायिक धर्म पूरा गरेका भए पक्कै पनि बहुसंख्यक विद्यार्थी अन्तिम परीक्षामा असफल हुने थिएनन्। तिनलाई राजनीतिक काममा लगाउने र संरक्षण दिने राजनीतिक नेतृत्व तथा त्यसमा सहयोग पुर्याईउने शिक्षा प्रशासन पनि यस विंगतिका लागि उत्तिकै दोषी देखिन्छन्। यसैले शिक्षकको मूल्यांकन विद्यार्थीको सफलतामा आधारित बनाइनु विद्यमान विकृति हटाउन सहयोग पुग्ने एउटा उपाय हुनेछ। 
शैक्षिक प्रणालीमा आधारभूत सुधार गरेर अहिलेको विसंगति अन्त्य गर्नुपर्छ। शिक्षा जीवनोपयोगी भएमात्र सफल मान्न सकिन्छ। व्यक्तिको सिर्जनात्मक क्षमता, तर्क शक्ति र आत्मविश्वास बढाउने शैलीको शिक्षा प्रणाली भएमात्र त्यसबाट राज्यले प्रतिफल पाउँछ। एसएलसीकै हकमा पनि यसको विकल्प खोजिनुपर्छ। यो फलामे ढोका हो भने भत्काइनु पर्छ। 
अवैज्ञानिक र पटक्कै विद्यार्थी मैत्री नभएको परीक्षामा पनि सफल हुनसक्ने सबै परीक्षार्थीलाई बधाई छ। मूलतः कमजोर शिक्षण र त्रुटिपूर्ण परीक्षा विधिका कारण असफल घोषित हुन पुगेकालाई पनि हामी चिन्ता नगरी पुनः प्रयास गर्ने सुझाव दिन्छौँ। खिन्न हुनुपर्ने कारण पटक्कै छैन। किनभने, यो मूलतः व्यक्ति विद्यार्थीको नभएर शिक्षा प्रणालीको असफलता हो।