Friday 9 Shrawn, 2071 |
Menu

विचार

वैदेशिक रोजगारमा महिला

  • आइतबार १२ जेष्ठ, २०७०
  • निलिमा गुरुङ
  • DISQUS_COMMENTS
(0 votes)
हाल नेपाल सरकारबाट संस्थागतरूपमा वैदेशिक रोजगारका लागि करिब ४२ वटा देशमा खुला गरिएको छ। यसै सन्दर्भमा रोजगारीको खोजीमा नेपालबाट वर्षेनी हजारौं महिला विभिन्न मुलुक पुग्ने गरेका छन्। यसमा पनि खाडी मुलुक जाने नेपाली महिलाको संख्या उल्लेख्य रहेको पाइन्छ। रोजागारीको सिलसिलामा विदेश जाने नेपाली महिलाका समस्या र वेदना भनिसाध्य नै छैनन्। पहिलो कुरा त उनीहरु विदेश जाने प्रक्रियामा स्वदेशमै विभिन्न दलालमार्फत् ठगिइसकेका हुन्छन्। विदेश जाँदै गर्दा बाटोमा नै प्रशस्तै ठगी र व्यवधानहरु हुने गरेका छन्। चाहिनेभन्दा बढी पैसा र कमिसन दिएर विदेश पुगिसकेपश्चात् पनि उनीहरुले भनेजस्तो काम पाउँदैनन्। प्रायः यहाँका महिला घरेलु कामदारकै रूपमा खरिद गरिन्छन्। त्यसमाथि पनि विभिन्न शारीरिक तथा मानसिक शोषण सहनुपर्ने हुन्छ। उनीहरुले पहिले सर्त गरेअनुरूप तलब तथा सुविधा पाउनु त कहाँ हो कहाँ, उल्टै काम गरेको थोरै पैसाका लागि महिनौं पर्खनुपर्ने बाध्यता आइपर्छ।
खाडी मुलुक प्रवेशमा नेपाली महिलालाई नेपाल सरकारले रोक लगाए पनि निजी प्रयासमा अरबलगायत् अन्य खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रूपमा भारत हुँदै खाडी मुलुक जाने गर्छन्। काम गर्ने कम्पनी वा घरको साहूबाट पाउने मानसिक यातना र यौन शोषण बारम्बार सुनिने घटना हुन्। दलालको सहयोगमा राहदानी बनाएर वा अरुको राहदानी प्रयोग गरेर भारतीय 'एजेन्ट'मार्फत् खाडी पुगेका सयौं नेपाली महिला दूतावासको शरणमा बस्नुपरेको छ। साउदी अरबमा धेरै नेपाली गैरकानुनीरूपमा कार्यरत् छन्।

वैदेशिक रोजगारीको आकारमा धेरै वृद्धि भए पनि यसको व्यवस्थापन सहीरूपमा हुन सकिरहेको छैन। कूटनीतिक नियोग पर्याप्त छैनन्। सबै गन्तव्यमा नेपाली दूतावास नहुँदा पनि धेरै समस्या सिर्जना भएका छन्। नेपाल सरकारले सुरक्षित वैदेशिक रोजगारीका लागि द्विपक्षीय श्रम सम्झौतालाई ध्यान दिँदै आएको भए तापनि यसमा सरलता र सहजता भने आउन सकेको देखिँदैन। रोजगारी खोज्दै विदेश पुग्ने धेरैजसो महिला श्रीमान् वा परिवारबाट अपहेलित, अशिक्षित, बहिष्कारमा परेका, श्रीमान् गुमाएका आदि छन्। त्यस्ता महिलालाई कानुनी प्रक्रिया तथा प्रावधानबारे थाहै नहुने भएकाले उनीहरुलाई एजेन्टहरुले सजिलै ठग्ने मौका पाउँछन्। ठगीमा परिसकेपश्चात् पनि कानुनी उपचार खोज्न उनीहरु असफलप्रायः देखिन्छन्। यसका लागि अन्य दोस्रो वा तेस्रो पक्षको सहायता खोज्नुपर्ने भएकाले उनीहरु त्यसै रुमलिएर बसेका हुन्छन्। यसरी रोजगारीले गर्दा सम्पूर्ण जीवन नै अन्धकारमय भएका उदाहरण धेरै बनिसकेका छन्।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन माथिल्लो निकायबाट पहल थालिनुपर्छ। रोजगारी र सेवा सर्तबारे ग्यारेन्टी भएपछि मात्र उनीहरुलाई वैदेशिक रोजगारमा पठाउनु उत्तम हुन्छ। विदेश गइसकेपछि पनि उनीहरुको त्यहाँको अवस्था र पिरमर्कालाई नियमितरूपमा सुनिदिने निकाय आवश्यक पर्छ। साँच्चै भन्ने हो भने हाल कति संख्यामा नेपाली महिला विदेशी मुलुकमा कार्यरत् छन्? र, उनीहरुको अवस्था कस्तो छ? भन्ने आधिकारिक तथ्यांकसमेत राज्यसँग छैन। यो ज्यादै ठूलो विडम्बनाको कुरा हो। एकातिर गतिला ऐन/कानुन बन्न नसक्नु र अर्कोतिर भएका कानुन पनि कार्यान्वयन नहुनुले थप समस्या सिर्जना भएका छन्। सरकारले वैदेशिक रोजगारको प्रक्रियालाई सरल र सहज बनाइदिनुपर्छ।

रोजगार खोज्दै विदेश पस्ने नेपाली महिलाहरुलाई स्वदेशमै व्यवस्थापन गर्न सक्नु सबैभन्दा राम्रो उपाय हो। यसका लागि सर्वप्रथम राज्यले नै गम्भीर भएर सोच्नुपर्छ। महिलाको अवस्थामा सुधार आउन नसक्नुमा महिला र पुरुषलाई समान शिक्षा प्रदान गर्न नसक्नु एउटा प्रमुख कारक तत्व मान्न सकिन्छ। त्यस्तै, अशिक्षित वा अर्धशिक्षित महिला दिदीबहिनीका लागि सीपमूलक तालिम तथा ज्ञान अभिवृद्धि गर्नेखालका कार्यक्रम ल्याएर उनीहरुमा उद्यमशीलता विकास गरिदिन सकिन्छ। विदेशमा रहेका महिला कामदारले दुःख पाउनुको प्रमुख कारण भनेको उनीहरुमा आवश्यक सीप नभएर नै हो।

महिलालाई उद्यमशील बनाउन सकेमा उनीहरुले स्वदेशमै बसेर धेरै काम गर्न सक्छन्। सिलाई–कटाई, तरकारी खेती, व्यवसाय आदि गरेर पनि सजिलै जीविकोपार्जन हुन सक्छ। यसबाहेक राज्यले विभिन्न उत्पादनमूलक उद्योग स्थापना गरेर महिलालाई यही रोजगारी प्रदान गर्न सक्छ। खाडी मुलुकको तातो घाममा काम गर्न तयार महिलाहरु आफ्नै देशमा काम गर्न पाए भने पक्कै उनीहरुमा खुसी छाउनेछ। स्वदेशमा अवसर र सम्भावना नभएका हुँदै होइनन् तर यसबारे गम्भीर भएर सोच्ने निकायको खाँचो छ। यदि सरकार आफैँले त्यस्ता बेरोजगार महिलालाई स्वदेशमै व्यवस्थापन गर्न सकेको खण्डमा एकातिर उनीहरुको आर्थिक अवस्थामा सुधार आउनेछ भने अर्कोतिर मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्छ। खेर गइरहेको श्रमशक्तिको सदुपयोग गरेर राज्यले विकासको फड्को मार्न सक्छ। अहिले रोजगारीका क्षेत्रमा जे–जस्ता समस्या देखापरेका छन्, त्यसको हल गर्न आर्थिक मुद्दाहरुमा ध्यान जानुपर्छ। जबसम्म आर्थिक विकासको गति तीव्र बन्न सक्दैन, तबसम्म समाजमा बेरोजगारीको अवस्था यसरी नै चुलिँदै गइरहन्छ। बेरोजगार भई विदेशमा जाने र बेचिने क्रम पनि चलि नै रहनेछ। त्यसैले यसमा पर्याप्त ध्यान जानैपर्छ।