6 Mangshir, 2071 |
Menu

विचार

वनस्पतिको अध्ययन र अनुसन्धान

  • बुधबार ८ जेष्ठ, २०७०
  • दयानन्द वज्राचार्य
  • DISQUS_COMMENTS
(0 votes)
वनस्पति हरितकण (क्लोरोेफिल)युक्त जीव हुन्। यिनै कण (पिग्मेन्ट)का कारण हरेक वनस्पति हरियो हुने गर्छन्। वनस्पतिमा पाइने हरितकण प्रकृतिमा सबैभन्दा बढी परिमाणमा पाइने पिग्मेन्ट पनि हो। वनस्पति पृथ्वीका सम्पूर्ण प्राणीको बाँच्ने आधार हो। वनस्पतिबिना पृथ्वीमा कुनै पनि प्राणीको अस्तित्व सम्भव छैन। हरेक प्राणीले आफू बाँच्न आवश्यक ऊर्जा वनस्पतिबाट नै प्राप्त गर्छन्। मांसाहारी प्राणीले पनि अप्रत्यक्षरूपमा आफूलाई आवश्यक ऊर्जा वनस्पतिबाट नै प्राप्त गर्छन् किनकि तिनीहरूले सेवन गर्ने प्राणीले पनि वनस्पतिबाट नै आवश्यक ऊर्जा प्राप्त गर्छन्। त्यसैगरी सबै प्राणीलाई बाँच्न नभई नहुने प्राणवायु अर्थात् अक्सिजनको एकमात्र स्रोत हुन्– वनस्पति। हामी कतिपय वनस्पतिलाई झारपात भनी काम नलाग्ने ठान्छौँ तर प्रकृतिमा पाइने 'झारपात'लगायत्का वनस्पतिका हरेक प्रजातिले निरन्तर अक्सिजन उत्पादन गरी मानिसलगायत्का सम्पूर्ण प्राणीको अस्तित्वमा प्रत्यक्षरूपमा योगदान पुर्‍याइरहेका हुन्छन्। त्यसैले प्रकृतिमा काम नलाग्ने भन्ने कुनै पनि वनस्पति छैनन्। 

वनस्पतिसम्बन्धी अध्ययनको विषय हो– वनस्पति विज्ञान। वनस्पति विज्ञान कृषि विज्ञान, औषधी विज्ञान, खाद्य विज्ञान, वातावरण विज्ञानजस्ता कतिपय व्यावहारिक विज्ञानका जननी मानिन्छ। जीव विज्ञानसम्बन्धी कुनै पनि विधा अध्ययन गर्न वनस्पति विज्ञानको अधारभूत ज्ञान अपरिहार्य छ। यसैले गर्दा पनि वनस्पति विज्ञानको महत्त्व धेरै ठूलो छ।

 देशमा व्याप्त अशिक्षा र अज्ञानताका कारण नेपालीले भन्दा सयौँ वर्षअघि विदेशीले नेपालमा पाइने वनस्पतिबारे वैज्ञानिक अध्ययन तथा अनुसन्धानको थालनी गरेका थिए। नेपालका वनस्पतिको संकलन र अध्ययन गर्ने काम सन् १८०२/१८०३ मा पहिलोपल्ट एक अङ्ग्रेज फ्रान्सिस बुकानन–हामिल्टनले गरेका थिए। यसैगरी सन् १८१८/१८१९ मा काठमाडौँस्थित बेलायत सरकारका प्रथम स्थायी प्रतिनिधि एडवार्ड गार्डेनरले र अर्का अङ्ग्रेज नाथानियल वालिचले सन् १८२०/१८२१ म्ाा नेपालका वनस्पतिको संकलन गरेर अध्ययन/अनुसन्धान गरेका थिए। विभिन्न समयकालमा नेपालबाट संकलित वनस्पतिको अध्ययन गरी बेलायतका वनस्पतिविद् डेभिड डनले सन् १८२५ मा 'प्रोड्रोमस फ्लोरी नेपालेन्सिस' नामको पुस्तक प्रकाशित गरेका थिए। उक्त पुस्तक नेपालमा पाइने वनस्पतिको विस्तृत बयान गरिएको पहिलो प्रकाशन थियो। पुस्तकमा ७ सयभन्दा बढी वनस्पतिको विवरण उल्लेख थियो।
नेपाली विज्ञले पहिलोपल्ट नेपालको वनस्पतिबारे तयार पारेको सामग्री सम्भवतः 'चन्द्र निघन्टु' थियो। उन्नाइसौँ शताब्दीको अन्त र बीसौँ शताब्दीको आरम्भमा आठ खण्डमा हस्तलिखित उक्त अभिलेखमा सुन्दर रंगिन चित्रसहित ७ सय ५० वनस्पतिको औषधीय गुणको विस्तृत वर्णन गरिएको थियो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर र वीरशमशेरको निर्देशनमा पण्डित घनानाथ देवकोटाले उक्त अभिलेख तयार पारेका थिए। उक्त अभिलेख आज पनि नेपाली भाषामा औषधीजन्य वनस्पतिबारे लेखिएको उत्कृष्ट दस्तावेज मानिन्छ र आयुर्र्वेद विज्ञान र परम्परागत चिकित्साका लागि अत्यन्त उपयोगी सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुँदै आएको छ।
नेपाली वनस्पतिविद्ले नेपालको वनस्पतिबारे योजनाबद्ध र विस्तृत अध्ययन/अनुसन्धान गर्न सुरु गर्न थालेको २०१६ देखिमात्र हो। नेपालमा पाइने वनस्पतिको संकलन, उपयोग र सम्वर्द्धन तथा तिनको अभिलेख तयार पार्ने उद्देश्यले २०१६ म्ाा नेपाल सरकारले वनस्पति विभाग स्थापना गरेको थियो। विभागको प्रमुख काम देशमा पाइने औषधीजन्य वनस्पतिको खेती र सम्वर्द्धन गर्नु थियो। त्यसका अतिरिक्त विभागका वनस्पतिविद्हरूले देशभर पाइने विशेषगरी फूल फुल्ने जातका वनस्पति संकलन गर्न थालेका थिए। दशकौँ लगाएर संकलन गरिएका वनस्पतिका ती अमूल्य नमुना गोदावरीस्थित राष्ट्रिय वनस्पति संंग्रहालय (नेसनल हर्वेरियम) मा भण्डारण गरिएका छन्। यसैगरी देशमा पाइने रैथाने, दुर्लभ तथा लोपोन्मुख वनस्पति जीवित अवस्थामा संरक्षित गर्ने उद्देश्यले वनस्पति विभागलेे २०१९ मा गोदावरीमा राष्ट्रिय वनस्पति उद्यान स्थापना गरेको थियो। नेपालको वनस्पतिबारे अध्ययन/अनुसन्धान गर्न चाहने कुनै पनि अनुसन्धानकर्ताका लागि राष्ट्रिय वनस्पति उद्यान  र नेसनल हर्वेरियम एक अपरिहार्य अध्ययन स्थल बनेका छन्। उक्त हर्वेरियम र उद्यान हाम्रो देशको महत्त्वपूर्ण सम्पदा बनेको छ।

वनस्पति विभागले पाँच दसकमा नेपालका वनस्पतिबारे महत्त्वपूर्ण अध्ययन गरेका छन् र दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका छन्। विगतमा राष्ट्रिय वनस्पति उद्यान तथा नेसनल हर्वेरियमको विकासका लागि सरकारबाट ठूलो प्राथमिकता र महत्त्व प्राप्त हँुदै आएको थियो। तर पछिल्लो समयमा नेसनल हर्वेरियम, वनस्पति उद्यानलगायत्का वनस्पति विभागका विभिन्न इकाइको विकासप्रति राज्य उदासीन हँुदै आएको देखिन्छ। आर्थिक स्रोतको अभावमा हर्वेरियममा रहेका वनस्पतिका ती अमूल्य नमुना राम्ररी संरक्षित गर्न कठिनाइ उत्पन्न भएको बताइन्छ। त्यतिमात्र होइन, त्यत्रो प्राज्ञिक महत्त्व बोकेको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानलाई निजीकरण गर्ने चर्चासमेत सुन्नमा आएको छ। साथै विभागमा लामो समयदेखि कार्यरत् योग्य र अनुभवी वनस्पतिविद्हरू निवृत्त भएपछि उक्त जनशक्तिको परिपूर्ति हुन नसक्दा विभागको विकास कार्यमा प्रतिकूल असर पर्दै आएको विभागमा कार्यरत् वैज्ञानिक बताउँछन्।

नेपालमा वनस्पति विज्ञान विकासका लागि वनस्पति विज्ञान शिक्षा आरम्भ हुनु पनि निकै महत्त्वपूर्ण रह्यो। नेपालमा वनस्पति विज्ञानको अध्यापन कार्य निकै ढीलो गरी सुरु भएको थियो। सन् १९१९ मा त्रिचन्द्रमा पहिलोपल्ट विज्ञान विषयको प्रमाणपत्र तह (आइएस्सी) को अध्यापन कार्य सुरु भए तापनि वनस्पति विज्ञानका योग्य शिक्षकको अभावले गर्दा त्रिचन्द्रमा सन् १९४७ मा मात्र पहिलोपल्ट प्रमाणपत्र तहमा वनस्पति विज्ञानको अध्यापन कार्य आरम्भ भएको थियो। यसैगरी त्रिचन्द्रमा सन् १९५२ मा स्नातक तह र सन् १९६५ मा त्रिविमा स्नातकोत्तर तहको वनस्पति विज्ञानको अध्यापन सुरु भएको थियो। प्रमाणपत्र तह, स्नातक तह र स्नातकोत्तर तहको प्रथम ब्याचमा क्रमशः ३५, ३ र ८ विद्यार्थी थिए। देशभित्र स्नातकोत्तर तहको वनस्पति विज्ञानको अध्यापन सुरु हुनु नेपालमा वनस्पति विज्ञानको विकासमा एक कोशेढंुगा थियो। यसले गर्दा देशभित्रै वनस्पति विज्ञानका आवश्यक जनशक्ति उत्पादन हुन थालेको हो।
सन् १९६५ मा त्रिविमा वनस्पति विज्ञानको अध्यापन सुरु भए पनि सन् १९८० को दशकसम्म वनस्पति विभागमा अनुसन्धान कार्यले त्यति महत्त्व पाएको थिएन। अध्यापन कार्यमै बढी जोड दिने गरिन्थ्यो। यसको एक प्रमुख कारण त्यतिबेला विभागमा अनुसन्धानमा अनुभव प्राप्त शिक्षक अभाव थियो। उदाहरणका लागि यस पंक्तिकार सन् १९७८ मा विभागीय प्रमुख हुँदा एक जनामात्र विद्यावारिधि गरेका शिक्षक थियो। त्रिविमा पनि अन्य देशका विश्वविद्यालयमा जस्तै अध्यापनको साथै अनुसन्धान पनि हुनुपर्ने पंक्तिकारको मान्यता थियो। त्यसैले विभागमा अनुसन्धानको संस्कृति विकास गर्न सक्दो प्रयास गरेँ। केही वर्षभित्रै विभागमा गरिएका अनुसन्धानका नतिजा प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशन हुन थाले। यस पंक्तिकारले करिब १३ वर्षपछि विभागीय पद छाडेका बेला विभागका अधिकांश शिक्षकले विद्यावारिधिको उपाधि हासिल गरिसकेका थिए। आज वनस्पति विभागका सबैजसो शिक्षकले विद्यावारिधिको उपाधि हासिल गरेका छन्। यसलाई वनस्पति विभागमा अनुसन्धानको संस्कृति विकास भएको लक्षणका रूपमा लिन सकिन्छ।
त्रिविको वनस्पति विभागले अहिलेसम्म २ हजारभन्दा बढी स्नातकोत्तर तहको जनशक्ति उत्पादन गरिसकेको छ। केही वर्षयता विभागबाट करिब ३० जना विद्यावारिधि उत्पादन भएको छ। यसरी ठूलो संख्यामा विद्यावारिधि उत्पादन हुनुलाई विभागमा बढ्दो अनुसन्धानको सूचक मान्न सकिन्छ। यद्यपि धेरैजसो यी विद्यावारिधि ट्याक्सोनोमी, परिस्थितिकी तथा वातावरणजस्ता 'फिल्ड ओरियन्टेड' विषयमा सीमित भएको पाइन्छ। वनस्पति विज्ञानका यी विधामा जस्तै वनस्पतीय परमाणु विज्ञान, अनुवांंिशक विज्ञान, क्रिया विज्ञान, कोषिका विज्ञानजस्ता वनस्पति विज्ञानका कतिपय प्रयोगशालामुखी एवं आधुनिक तथा महत्त्वपूर्र्र्ण विधाकोे अध्यापन र अनुसन्धान कार्यलाई पनि विभागले त्यत्तिकै महत्त्व दिनु आवश्यक छ। विश्वविद्यालयअन्तर्गतका शैक्षिक संस्थामा सम्बन्धित विषयको सबै विधाको अध्ययन/अनुसन्धानमा समान विकास र विस्तार हुनु जरुरी छ।

त्रिविबाट उत्पादित वनस्पति विज्ञानका अधिकांश जनशक्ति मूलतः विश्वविद्यालयअन्तर्गतका क्याम्पस र उच्च माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत् छन् भने केही नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्राकृतिक विज्ञान संग्रहालय, नेपाल सरकारअन्तर्गतका वनस्पति विभागजस्ता शैक्षिक/प्राज्ञिक संस्थामा कार्यरत् रहँदै आएका छन्। केही वनस्पतिविद् भने वनस्पतिसम्बन्धी निजी व्यवसाय खोलेर देश विकासमा योगदान दिँदै आएका छन्।
नेपाल जलस्रोतजस्तै वनस्पतीस्रोतमा पनि अति धनी देश हो। विशिष्ट भौगोलिक बनावटका कारण नेपालमा वनस्पतिको विविधता धेरै पाइन्छ। भनिन्छ– नेपालजस्तो सानो भूभागमा पाइने वनस्पतीय विविधता विश्वका कमै देशमा मात्र पाइन्छ। उदाहरणका लागि नेपालले विश्वको ०.१ प्रतिशत भूभागमात्र ओगटेको भए पनि विश्वमा पाइने कुल वनस्पति प्रजातिको करिब ३ प्रतिशत नेपालमा पाइन्छ। सम्पूर्ण हिमालय क्षेत्रमा पाइने वनस्पतिको एक तिहाइ प्रजाति नेपालको हिमालयमा पाइन्छन्। नेपालमा करिब ६ हजार ५ सय फूल फुल्ने जातका वनस्पति पाइन्छ। तीमध्ये करिब १८ सय जातका वनस्पति औषधिजन्य छन्। करिब ४ सय प्रकारका वनस्पति खानयोग्य छन् भने करिब ३ सय प्रजाति नेपालका रैथाने हुन्।

जापान, चीन र भारतले वनस्पतिमा आधारित औषधीजन्य वस्तु निर्यात गरेर हरेक वर्ष अर्बाैँ डलर आम्दानी गर्दै आएका छन्। नेपालले पनि देशमा उपलब्ध वनस्पति स्रोतको उचित विकास र उपयोगमार्फत् देशको आर्थिक विकास गर्न सकिने प्रचुर सम्भावना छन्। तर यसतफ राज्यको पर्याप्त ध्यान गएको देखिँदैन। 'माल पाएर के गर्नु, चाल पाए पो हुन्छ' भन्ने उखानजस्तै हामीले आफ्नो देशमा भएका अपार जलस्रोतजस्तै अपार वनस्पति स्रोतकोे पनि उचित उपयोग गर्न सकिरहेका छैनौँ। देशको जलस्रोत शायद कहिल्यै समाप्त नहोला तर हामीले समयमै ध्यान दिएनौँ भने कुनै दिन हाम्रा अमूल्य वनस्पति स्रोत सधैँका लागि समाप्त नहोला भन्न सकिन्न। अहिले नै नेपालमा एक सयभन्दा बढी प्रजातिका वनस्पति दुर्लभ तथा लोपोन्मुख अवस्थामा छन्। बढ्दो वातावरणीय ह्रासका कारण यो संख्या आउँदो वर्षमा अझ तीव्र गतिमा बढ्ने प्रबल सम्भावना छ। तर यसबारे राज्य चिन्तित भएको देखिँदैैन। देशमा भएका वनस्पतिको उचित संरक्षण, सम्वर्द्धन, विकास तथा दिगो उपयोगका लागि वनस्पतिको विविध पक्षबारे गहन अध्ययन/अनुसन्धान गर्न/गराउन नेपाल कृषि अनुसन्धान परिषद्जस्तै ऐनद्वारा व्यवस्थित राष्ट्रिय स्तरको एक स्वायत्त र सुविधायुक्त वनस्पति अनुसन्धान केन्द्रको स्थापना हुनु अति आवश्यक देखिन्छ। यसतर्फ नेपालका वनस्पतिविद् तथा राज्यका सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।