15 Kartik, 2071 |
Menu

विचार

राजनीति कहीँ यस्तो नहोस्

(0 votes)
'पहिरन कहीँ यस्तो नहोस्, जहाँ पोशाक नै गायब होस्।
शृङ्गार कहीँ यस्तो नहोस्, जहाँ युवती नै गायब होस्।'
बसन्त बस्नेत

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

पञ्चायतकालताका आफूले लेखेका अखबारी स्तम्भको संग्रह 'जीवनको बाटोमा' मा मोदनाथ प्रश्रितले एक हिन्दी कविताको सन्दर्भ उप्काउँदै थपिदिए–
'सिद्धान्त कहीँ यस्तो नहोस्, जहाँ राजनीति नै गायब होस्।
राजनीति कहीँ यस्तो नहोस्, जहाँ नैतिकता नै गायब होस्।'
वाम राजनीतिमा पछिल्लोपटक दुई/दुई कलाकारको प्रवेश र बहिर्गमनले माथिका दुई पंक्ति सम्झाउँछ। कम्युनिस्ट पार्टी प्रवेश गर्ने दुई होनहार व्यक्तित्व हुन्– कमरेड रेखा थापा र कमरेड भुवन केसी। दशकौं लामो आन्दोलनमा प्रतिबद्ध भएर अन्ततः पार्टी छाडेका दुई योद्धा हुन्– जेबी टुहुरे र माइला लामा।
रेखा एमाओवादी पार्टीमा शनिबार औपचारिकरूपमा प्रवेश गरिन्। भुवन केसी दुई वर्षअघि एमाले छिरेका हुन्। रेखालाई प्रचण्डले र भुवनलाई झलनाथ खनालले क्रान्तिको बाटोमा 'प्रतिबद्ध' तुल्याएका हुन्। बाँकी रहे जेबी टुहुरे र माइला लामा। उनीहरू कहाँ छन्, के गर्दैछन्, कसलाई खोजीनीति? शायद इतिहासले क्रान्ति अघि र पछि दुई समयका लागि भिन्न पात्र माग गर्छ। यो समय रेखा, युवराज लामा र भुवनहरूको हो। जेबी, माइला, जीवन शर्मा, रामेश, खुसीराम पाखि्रन र रामकृष्ण दुवालहरूको होइन। घटनाक्रम यसै भन्छन्।
 

सर्वसाधारणले पर्दामा हेरेकी, ठूलो तप्काबाट रुचाइएकी अभिनेत्रीमाथि एमाओवादीको दृष्टि आकर्षित हुनुलाई कार्यकर्ताले जे ठाने पनि नेतृत्वले अन्यथा ठानेको छैन। एमाओवादीका आलोचकले पनि सक्ने भए रेखाजस्ता अन्य कलाकारलाई आफ्नो दलमा भित्त्याउँथे होला। हरेक चुनावको अघिल्तिर दलबदलु प्रक्रिया चल्नु अनौठो होइन। नवप्रवेशीको लस्कर पनि अनौठो होइन।
स्वागत कार्यक्रममा ओखलढुंगा विद्रोहमा कांग्रेसले हतियार उठाउँदा ज्यान गुमाएका क्याप्टेन यज्ञबहादुर थापाकी नातिनीका रूपमा रेखाको प्रशंसा भयो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले रेखाको तीनपुस्ते क्रान्तिकारी पृष्ठभूमि बताउँदै गर्दा पंक्तिकारलाई एउटा उखान याद आइरहेको थियो– मेरा हजुरबाले घिउ खाएका थिए, नपत्याए मेरो हात सँुघ।
कलाकार राजनीतिमा छिरेको उदाहरण यो पहिलो होइन। अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन, नेता सनी बोनो, बेन जोन्सदेखि भारतका धर्मेन्द्र, जयललिता, शबाना आजमी, रेखा, जया बच्चन, गोविन्दा यसका केही दृष्टान्त हुन्। अभिनयबाट राजनीतिमा आउनेहरूमध्ये केही सफल अपवाद छन्। उद्देश्यमा प्रष्टता र लगनशीलता हुनेहरू राजनीतिमा जमेका छन्। अति महत्त्वाकांक्षी भएर छिर्ने धेरैचाहिँ यसै बिलाएर गएका छन्।
राजनीतिको सामान्य मान्यता भनेको जनतासँगको निरन्तर अन्तर्क्रिया हो। चलचित्र, खेलकुद, कलाभन्दा यसको चरित्र फरक हुन्छ। उल्लिखित क्षेत्रले जनतालाई भावनाको तहमा गाँस्छन्। राजनीति कार्यकारी शक्ति हत्याउन, पाएकाहरूले त्यसलाई अक्षुण्ण राखिरहन गरिन्छ। ईश्वर, देश, राजा, जाति वा जनताका लागि भनी जसले जे अर्र्थ्याए पनि सिधा अर्थमा राजनीति शक्तिका लागि गरिन्छ। इतिहास यसै भन्छ।
रेखा थापा, भुवन केसीहरूले सम्बन्धित पार्टी प्रवेश गरेलगत्तै बोलेका कुरा सुन्दा थाहा लाग्छ, उनीहरू पार्टीको कार्यकर्ता वा सामान्य समर्थक, शुभचिन्तक भएर बस्नेवाला छैनन्। उनीहरूलाई कलाकारितामार्फत् आर्जेको छोटो बाटोबाट शक्तिको चुचुरो छुनु छ।  
कलाकारितालाई राजनीतिमा स्थापित हुने माध्यम बनाउँदा वर्षौंदेखि परिश्रम गर्ने कार्यकर्ताको भावनाको अवमूल्यन हुन जान्छ। रेखा र भुवनको केही गल्ती छैन, गल्ती त जसलाई मन लाग्यो उसैलाई खल्तीबाट झिकेर पार्टी सदस्यता दिलाउने स्वेच्छाचारी आचरणको छ। पार्टी सदस्यता पाउने निश्चित मापदण्ड हुन्छ। अहिलेका पार्टी सदस्यहरूको राजनीतिक पृष्ठभूमि हेर्दा त्यो मापदण्डको उपहास भएको छ। यस्तो लाग्छ, कुनै योगदान जरुरी छैन, केवल कसैले हरहर गंगे भन्दै लोटाको पानीले चोख्याइदिए हुन्छ।  
दुई प्रभावशाली महिला रेखा थापा र उर्मिला अर्याल प्रवेश गराउन आयोजना गरिएको स्वागत कार्यक्रममा स्वयं एमाओवादीको महिला नेतृत्व उपस्थित थिएन। यसबाट थाहा लाग्छ, खास व्यक्तिको लहड र सनकका भरमा उनीहरूलाई पेरिसडाँडामा रातो कार्पेट बिछ्याइएको छ।
रेखा एमाओवादीमा छिर्दै गर्दा जनयुद्धमा हत्केलामा ज्यान थापेर हिँडेका माइला लामाले एमाओवादी छाडेका छन्। माइलासँग छाड्नुपर्ने स्पष्ट कारण छ, रेखासँग पस्नुपर्ने कारण छैन। हिजोआज जोकोहीलाई एमाओवादी हुन प्रष्ट कारण चाहिँदैन।
रेखाले सांसद हुन पनि सक्ने जनाउ दिएकी छन्। सम्भवतः उनलाई कुनै फिल्म बोर्ड वा परिभाषित जिम्मेवारी दिइनेछ। राजनीतिमा लाग्नु भनेको कुनै पद पाउनु हो भन्ने मान्यता स्थापित भएको छ। शायद त्यही सोचेर भुवन केसी एमाले छिरेका हुन्। यस्तै उट्पट्याङ निर्णय हुने संस्थाभित्र आफ्नो भविष्य असुरक्षित होला भन्ठानेर हुनुपर्छ, जेबी टुहुरेले एमाले छाडेको, माइलाले एमाओवादी छाडेको। माथि उल्लिखित चार व्यक्तिको प्रवेश र बहिर्गमनको घटनाका सम्बन्धित एमाले र एमाओवादी दुवैले खुसी हुनुपर्ने कारण कम छ, दुःखी हुनुपर्ने कारण बढी छ।
राजनीति कहीँ यस्तो नहोस्, जहाँ नैतिकता नै गायब होस्। आज भुवन केसी र रेखा थापाको लय समात्न गाह्रो मानिरहेका एमाले र एमाओवादी कार्यकर्ताहरूले प्रश्रितका लाइनको पेटबोली समातेर नेतृत्वलाई किन नखेर्ने?