Wednesday 8 Ashwin, 2071 |
Menu

विचार

softworica

खाँचो भयरहित शिक्षाको

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • रमेशप्रसाद गौतम
  • DISQUS_COMMENTS
(0 votes)
आजका असल शिक्षक भनेका विद्यार्थीसँगै रमाएर बस्ने, सधैँ मन प्रसन्न राख्ने, केटाकेटीलाई खेलाउँदै सिकाउने, माया गरेर बताउने र विद्यार्थीका मनका कुरा बुझेर व्यवहार गर्न जान्ने आदि गुणयुक्त हुन। आजका विद्यार्थी भोलिका सक्षम नागरिक हुन।
भोलि तिनै राष्ट्र विकासका सेवक भएर देश निर्माणमा लाग्ने हुन। यस्ता देशका भविष्यलाई समयमै शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक चेतना प्रस्फुटन गराउनु जरुरी छ। विद्यार्थीको झुकाव र चाहनाअनुसार विषय छनोट र पाठ्य–सामग्री उपलब्ध गराउनुपर्छ। तिनलाई पढाउने तौरतरिकामा पनि विविधता अपनाउनु जरुरी छ। एउटै तरिकाले सबैलाई समेट्न सकिँदैन। अतः शिक्षण प्रणालीको गुणस्तरमा पनि समयअनुसार सुधार गरिँदै लगिनुपर्छ।
आजको युग प्रतिस्पर्धाको युग हो। हरेक कुरामा खरो प्रतिस्पर्धामा उत्रनुपर्छ। यसका लागि हाम्रा विद्यालयबाट उत्पादित जनशक्ति विश्व प्रतिस्पर्धी बन्ने हुन्/होइनन् भन्ने नै ठूलो चुनौतीको विषय छ। हाम्रा शिक्षण संस्थाहरुले पनि आफ्ना उत्पादनहरु कत्तिको सिर्जनशील र स्वरोजगारमुखी बनाएका छन्, समयमै त्यसतर्फ ध्यान दिनुपर्छ। बजारमा खपत हुनेखालको जनशक्ति उत्पादनमा ख्याल गरिनुपर्छ। सरकारले पनि व्यवस्थित पूर्वाधार निर्माण गरी प्राविधिक तथा अप्राविधिक शिक्षण संस्था खोल्नुपर्छ। शिक्षण संस्थाहरु खोलिदिएर मात्र पनि पुग्दैन। त्यहाँ दिइने शिक्षा कत्तिको गुणस्तरीय छ, यसका लागि पर्याप्त मात्रामा दक्ष शिक्षक, भौतिक पूर्वाधार र अन्य शैक्षिक सामग्री छ/छैन त्यसमा निर्भर गर्छ। तद्नुकूल हुन सकेमा मात्र त्यहाँ निर्दिष्ठ लक्ष्यअनुसार शिक्षा प्राप्त गर्ने विद्यार्थीका बहुपक्षीय व्यक्तित्व निर्माण सम्भव हुन सक्छ। यसरी शिक्षा हासिल गरेर रोजगारी प्राप्त गरी भौतिक साधन जुटाई जीवन यापनको स्तर उठाउने चलन बन्दै आएको छ। विगतमा साधारण शिक्षाको बाहुल्यता थियो भने अहिले आएर सबैले व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिन थालेका छन्। 
विद्यमान शिक्षा प्रणालीअन्तर्गत कैयौं पढे/लेखेकाले काम पाइरहेका छैनन्। यहाँ उद्योग व्यवसायहरुले खासै प्रगति गर्न सकिरहेका छैनन्। यसका लागि काम लाग्ने दक्ष कामदार उत्पादन नभएर नै हो। भएका उत्पादन पनि विदेश पलायन हुन थालेका छन्। यति ठूलो राजनीतिक परिवर्तन हुँदासमेत कुनै सुधार नदेखिनु विडम्बनापूर्ण छ। यी सबै सन्दर्भ केलाउँदा हाम्रो देशमा शिक्षालाई नयाँ ढाँचामा रुपान्तरण नगरी धरै देखिँदैन। बालबालिकाको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन र विकास गराउन विद्यालय तहको शिक्षाको ठूलो हात हुन्छ। कक्षा कोठामा विद्यार्थी खुसी हुनु र कक्षा कोठाका हरक्रियाकलापमा सक्रिय सहभागी हुन पाउनु सिकाई प्रक्रियाको प्रारम्भिक महत्वपूर्ण चरण हो। यसमा सिक्न र सिकाउन चाहने शिक्षकको खाँचो पर्छ। 
शिक्षकले बालबालिकाको सानिध्यमा बसेर उनीहरुको सर्वाङ्गीण विकासमा मद्दत गर्नुपर्छ। स्नेहपूर्वक आफ्ना विद्यार्थीको प्रगति र उन्नतिका लागि कहाँ र कसता कमी/कमजोरी छन्, तिनलाई कसरी निराकरण गर्नुपर्ने हो, त्यसबारे शिक्षक–विद्यार्थीबीच, शिक्षक–शिक्षकबीच र शिक्षक–अभिभावकबीच छलफल, सरसल्लाह अन्तरक्रिया आदि गरी एकअर्काको अनुभवबाट लाभ उठाई विद्यार्थीको गुणात्मक शिक्षाको विकास र मानवीय गुण अभिवृद्धि गराउन सकिन्छ। 
हरेक विद्यार्थीको प्रारम्भिक स्कुल भनेको उसको घर नै हो। घरमा आमाबाबुले मायालु वातावरणमा आफ्ना केटाकटीलाई तालिम दिनु जरुरी छ। विद्यालयमा आएपछि विद्यार्थीमा आत्मानुभूतिको विकास गराउनु जरुरी छ। प्रत्येक शिक्षकले विद्यार्थीलाई यतना नदिई मायालु व्यवहार गर्नुपर्छ। शिक्षकले प्रथमतः कतिपय विद्यालयले कलिला बालबालिकालाई पाठ्यपुस्तकको ठूलो भारी बोकाउन लगाउँछन्। शारीरिकरूपले किताबको भोलम बोक्न नसकी कुप्रिएर हिँड्नसमेत बाध्य हुन्छन्। अर्काेतर्फ तिनै कलिला बालबालिकालाई गृहकार्य गर्नु भनी घरमा पुग्नासाथ बिनाआराम पुस्तक, कलम, कापी समाती पढ्न/लेख्न बाध्य तुल्याइन्छ। यसले गर्दा बालबालिकाले आफूलाई बढी सजाय दिएको अनुभूत हुन पुग्छ। शिक्षकले स्कुलमा र अभिभावकले घरमा गृहकार्य गर्न दबाब दिने गर्छन्। परिणामतः बालबालिका अपहेलित र उपेक्षित महसुस गर्न थाल्छन्। अनि विद्यार्थी झन् कमजोर हुँदै जाने हुन्छन्। यस्ता व्यवहारले बच्चाहरुमा आत्मबल कमजोर भएर जाने हुन्छ। 
वास्तवमा विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो, त्यहाँ शिक्षकले सिकाउने कार्य गर्छन्। विद्यार्थीमा विद्यालयमा सिक्न आएको सोच आउनु सकारात्मक हो। तर तिनलाई बढी बोझ भिराउनु भने हुँदैन। विद्यालयमा सिकाइको ऊर्वर वातावरणचाहिँ बनाउनुपर्छ। यसका लागि बिनादबाब र तनावरहित वातावरणमा सिकाइ प्रक्रियालाई अघि बढाउनुपर्छ। बालबालिकालाई खुसी पारी कक्षामा सक्रिय सिकाइ प्रक्रिया अवलम्बन गरिनुपर्छ। हरेक बच्चाको क्षमता, प्रतिभा, रुचि र सिकाइ शैली आ–आफ्नै किसिमको हुँदा अरुसँग तुलना गर्दा प्रतिकूल प्रभाव पर्न सक्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ। उसले हरेक दिन केही न केही सिकिरहेको हुन्छ, त्यो कति सिक्यो, के जान्यो, केचाहिँ जान्न बाँकी छ भन्ने कुरा उसैलाई थाहा हुन्छ र सँगसँगै के/के कुरामा चाहिँ गल्ती/कमजोरी भए भनेर उसैलाई महसुस पनि भइरहेको हुन्छ। कक्षा कोठामा जसले आफ्नो गल्ती भयो र गरें भन्छ, उसलाई नहोच्चाई शिक्षकले प्रशंसा गर्नुपर्छ। यसैगरी शिक्षकले पनि आफ्नो गल्ती सिकाउनबाट जोगिन आफूभन्दा जान्ने शिक्षक साथीबाट सिकेर कक्षा कोठामा जानुपर्छ। यसो गरेमा कुनै बेला गल्ती भएमा सच्चाउन सजिलो पर्छ। गल्ती स्वीकार्न र गल्ती सच्चाउने बानी शिक्षकबाट नै विद्यार्थीले सिक्नु राम्रो कुरा हो।