Friday 5 Baishak, 2071 |
Menu

विचार

भागबण्डे संस्कृति

(0 votes)
नेपाली कांग्रेसले आइतबार आफ्ना विभागलाई पूर्णता दिएको छ। पार्टी विधानअनुसार सभापति कोइरालाले ४१ विभाग गठन गरेका छन्। सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीच नौ महिनादेखि जारी विवाद सहमतिमा टुंगो लागेपछि मात्र विभाग गठन प्रक्रियाले पूर्णता पाएको हो।
राजेन्द्र ज्ञवाली

राजेन्द्र ज्ञवाली नागरिक दैनिकका सह-सम्पादक हुन्।  Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
कांग्रेसले आफ्नो विभाग गठन प्रक्रियालाई पूर्णता दिइरहँदा राजधानीमा पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनले पूर्व प्रधान मन्त्री सूर्यबहादुर थापालाई पार्टीको अध्यक्ष चुनेको छ। पार्टीलाई सामूहिक नेतृत्वमा लैजानका लागि अध्यक्ष थापासहित पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनी सम्मिलित उच्चस्तरीय राजनीतिक कार्यसम्पादन समिति गठन गरिएको छ। अझ राणाले आफ्नो बहुमत छँदाछँदै पार्टीको बृहत्तर हितका लागि आफूले 'त्याग' गरेको बताएका छन्।
नेपाली कांग्रेस र पूर्व पञ्चहरूको पार्टीमा कुनै सैद्धान्तिक समानता छैन। त्यतिमात्र होइन, एकीकृत माओवादी, एमाले जस्ता वामपन्थी पार्टीसँग पनि माथिका दुई पार्टीको कुनै सैद्धान्तिक मेल भेट्न सकिँदैन। तर पार्टी सञ्चालन र व्यवहार हेर्ने हो भने सबै पार्टीमा एउटा समानता छ– गुटबन्दी प्रवृति। नेपालका सबै दल यो रोगले ग्रस्त छन्। देउवा र कोइराला पक्ष नभन्दासम्म कांग्रेसको चिनारीले पूर्णता पाउँदैन। त्यस्तै मोहन वैद्य (किरण) पक्ष पार्टीबाट अलग भएपछि एकीकृत माओवादीमा गुटबन्दी समाप्त भएको ठान्नेहरूका लागि भट्टराई र दाहाल पक्षधरहरूले चुनौती दिन सक्छन्। एमालेमा त्यो स्थिति ओली–नेपाल र अध्यक्ष झलनाथ खनालका रूपमा छ। गुटबन्दीको प्रसङ्ग चल्दा मधेसी दलको कुरा उठ्न सक्छ। एकबाट अनेक भएका मधेसी दलमा त्यो क्रम अब रोकिएको खण्डमा समाचार बन्न सक्नेछ। हुन त मधेसका एक पत्रकारले मधेसी दलहरू वास्तवमा राजनीतिक दल बन्ने क्रममा रहेकाले यस किसिमको गुट/उपगुट र फुट स्वाभाविक भएको बताएका थिए।
मधेसी दलबाहेकका पार्टीका नेतासँग गुट/उपगुटबारे प्रश्न गर्ने हो भने यसलाई बडो सरलतासाथ आफ्नो पार्टी प्रजातान्त्रिक भएकाले त्यहाँभित्र विचारहरूको विविधता सामान्य भएको बताएर पन्छिने गर्छन्। तर त्यसो भन्ने लगभग हरेक दलले त्यही विविध विचारका कारण पार्टी फुटको तीतो अनुभव बोकिसकेका छन्। किनभने केन्द्रका नेताअनुसार वडाअनुसारका कार्यकर्ता हरेक पार्टीमा विभाजित छन्। विभाजित मानसिकताबाट भएको एकताले खासै अर्थ नलाग्ने कुरा कम्तिमा नेपाली राजनीतिमा प्रमाणित भइसकेको छ। कुनै पनि दलका नेताले आफ्नो पार्टीभित्रको गुटबन्दीबारे कतैबाट प्रश्न अथवा जिज्ञासा आएको उचित मान्दैनन् पनि। उनीहरूको विचारमा त्यो नितान्त पार्टीभित्रको कुरा हो र 'बाहिरिया' ले त्यसमा चासो राख्नु जरुरी छैन। 
तर राष्ट्र निर्माणको जिम्मेवारी लिएको ठान्ने दलहरूभित्रको गुटबन्दी र विवाद जनचासोको विषय हुनु सामान्य कुरा हो। किनभने एउटा दलभित्रको विवादले दलभित्र मात्र नभएर राष्ट्रिय राजनीतिमा समेत असर पारेको हुन्छ। 'यो तेरो गुट' यो मेरो गुट' को भावना वास्तवमा एउटा प्रवृति हो, जसबाट नेपाली राजनीति सबैभन्दा बढी ग्रसित छ। यही तेरो गुट र मेरो गुटको प्रवृतिले राष्ट्रिय महत्वको सवालमा दलहरूलाई एक मत हुनबाट रोक्दै आएको छ। 
कांग्रेसमा विभाग गठन हुन अरु केहीले नभई कोइराला र देउवाबीचको विवादले रोकेको थियो। उनीहरूबीच सहमति भएपछि मात्र विभाग गठनको प्रक्रियाले पूर्णता पाएको छ। अर्थात् त्यो विभाग गठन वास्तवमा दुई शीर्षस्त नेताबीच भागबन्डाका आधारमा सम्भव भएको छ। दुवै नेताले विभाग गठन गर्दा कांग्रेसका कर्मठ कार्यकर्ताभन्दा आफू निकट कार्यकर्तालाई महत्व दिएका छन्। त्यहीअनुसार नै दुवैको चित्त बुझेपछि लामो समयदेखि थाँती रहेको कामले पूर्णता पाएको हो। पार्टीभित्र रहेको तेरो र मेरोको भावना राष्ट्रिय राजनीतिसम्म पुग्दा तेरो पार्टी र मेरो पार्टीमा परिणत भएको हुन्छ। अनि त्यही भावनाले राष्ट्रिय हितका सवालमा समेत भागबन्डा गर्ने स्थिति आउँछ। अहिले नेपालमा अनेकन् स्थानमा पदपूर्ति गर्दा पार्टीगत भागबन्डाका आधारमा गर्ने गरिन्छ। पछिल्लो पटक अख्तियारमा गरिएको पदपूर्ति त्यही भागबन्डाका आधारमा गरिएको तथ्य त सार्वजनिक भइसकेकै छ। 
अनी भागबन्डाका आधारमा गरिने नियुक्ति प्रजातान्त्रिक मूल्य र मान्यताविपरित हुन्छ। त्यस आधारमा गरिने नियुक्तिबाट सक्षम व्यक्ति उचित स्थानमा आउन सक्दैन। त्यसैले पार्टीभित्र हुने कुनै पनि विवाद र गुटबन्दी स्वयं त्यस दलको आन्तरिक कुरामात्र होइन। यो प्रवृति भएका कारण यसले पछि गएर राष्ट्रिय स्वार्थलाई संकुचित बनाउन सक्छ। नेपालमा त्यही देखिँदै आएको छ। पछिल्लो संविधान सभाले मुलुकलाई संविधान दिन सकेन। यसको मूल जरो पनि त्यही मेरो र तेरो प्रवृति नै थियो। पार्टीभित्रको मेरो तेरो भावना संविधान निर्माणका क्रममा मेरो पार्टी र तेरो पार्टीमा विस्तारित भएको थियो। कुनै पनि दलले संविधानको खाका बनाउने क्रममा राष्ट्रिय हितभन्दा दलगत स्वार्थलाई बढी महत्व दिएका कारण संघीयता जस्ता विषय विवादित बन्न पुगेका थिए। त्यस्ता विवादको निर्क्योल नगरेसम्म अबको निर्वाचनबाट गठन हुने संविधान सभाले समेत संविधानको ग्यारेन्टी गर्न सक्ने अवस्था छैन। किनभने अबको निर्वाचनमा पनि उही पार्टी र त्यसका उही अनुहारको हालीमुहाली रहनेछ। 
संविधान निर्माण जस्तो जटिल प्रक्रियामा जाँदा पार्टीगत नभई राष्ट्रिय स्वार्थलाई सर्वोपरि मान्नुपर्ने हो। देशको मूल कानुन बनाउन चाहिने पहिलो सर्त भनेकै राष्ट्रिय सहमति हो। त्यो भनेको राष्ट्रिय हितका सवालमा दलबीच पूर्णरूपमा एकता हुनु हो। एउटा पार्टीले ल्याएको उचित प्रस्तावलाई उसको ठानेर विरोध गर्ने प्रवृति समाप्त नभएसम्म संविधान निर्माण हुन सक्ने अवस्था छैन। एउटा पार्टीका प्रतिनिधिका रूपमा आउने अनुहार आफँैमा विभाजित भएको अवस्थामा राष्ट्रिय सहमतिको सम्भावना निकै क्षीण हुन्छ। गुटबन्दीको संस्कृति बोकेका दलहरूले राष्ट्रिय हितको सवालमा एक भएर निर्णय गर्न सक्ने अवस्था रहँदैन। अनि त्यसको टुंगो भागबन्डामा गएर लाग्छ। दलहरूले फलाक्ने राष्ट्रिय सहमति भनेको वास्तवमा त्यही भागबन्डा हो। 
सबैभन्दा डरलाग्दो पक्ष त्यही भागबन्डाको हो। पाहिलो संविधान सभाले संविधान दिन नसकेको मुख्य कारण पनि त्यही भागबण्डा नमिलेर नै हो। संविधान सभा निर्वाचनमा विजयी भएका दलभित्र भागबन्डाको प्रवृति कायमै छ र त्यसबाट संविधानको धारासमेत प्रभावित हुन सक्ने डर छ। संविधानको धारासमेत भागबन्डाका आधारमा लेखिन थाल्यो भने मुलुकले कस्तो किसिमको मूल कानुन पाउला? सहजै अनुमान गर्न सकिन्छ। त्यसको सम्भावना पनि बलियो यस कारणले छ कि पार्टीभित्रको गुट/उपगुटको प्रवृतिले भागबन्डाको संस्कृति निर्माण गरिरहेको छ।