8 Kartik, 2071 |
Menu

विचार

रविनाको उपचार

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • गोविन्द अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
गोरखा नामजुङकी रविना बिकको त्रिवि शिक्षण अस्पतालमा जटिल शल्यक्रिया भयो। रविना सात वर्षकी बालिका हुन्। केही वर्षदेखि सपरिवार काठमाडौंमा बस्दै आएका उनका पिता प्लास्टिकको झोला बेच्ने गर्दारहेछन्। रविनाको कलेजोबाट मुटुमा रगत जाने नसा थुनिएर फुटेपछि रक्तश्राव भएछ। उनको उमेर र पारिवारिक अवस्थाका दृष्टिले पनि यो निकै कडा रोग हो। बाबुआमाले रविनालाई पहिले कान्ति बाल अस्पतालमा लगेछन्। त्यहाँ हुनेसम्मको उपचार गरेर तत्कालका लागि रक्तश्राव बन्द गरिएछ।
डाक्टरहरूले रविनालाई थप उपचारका लागि भारत लैजाने सल्लाह दिएछन्। दिनहुँ श्रम गरेर छाक टार्ने रविनाका बाबुका लागि यो सल्लाहले पीडा नै थपिदियो। फूलजस्ती छोरीको माया मार्न कसरी सक्नु? अनि तिनको उपचार गराउन पनि नसक्ने! कस्तो लाचारी? उनले पनि यस्तै अवस्थामा परेका अरू धेरै बिरामीका आफन्तले जस्तै पत्रिकामार्फत् वेदना पोख्ने र बाटामा भेटिएकासँग सहयोग माग्न थालेछन्। केही उदारमनाले सहयोग पनि गरे तर त्यसले उपचार गराउन पुग्ने रकम जम्मा हुने लक्षणै देखिएन। सहयोग याचना गर्ने क्रममा भेटिएका एक जना सहृदयी युवाले सोधखोज गर्दै रविनाबारे बालबालिकाका क्षेत्रमा कार्यरत् एउटा संस्थाका व्यक्तिलाई थाहा दिए। 
त्यसपछि रविनाको उपचार नेपालमै होला कि भनेर पत्ता लगाउने प्रयास भयो। त्रिवि शिक्षण अस्पताल डा. भगवान कोइराला नेतृत्वमा सेवामुखी हुँदै गएको सुनिएको थियो। एक पटक शिक्षण अस्पतालमा देखाउने सल्लाह उनका बाबुलाई दिइयो। रविनालाई जाँचेपछि शिक्षण अस्पतालका डाक्टरले उनको उपचारका लागि गर्नुपर्ने शल्यक्रिया शिक्षण अस्पतालमै हुने जानकारी दिएछन्। त्यसपछि अलि आशा पलायो। तैपनि, एकपटक डा. कोइरालालाई भेटेरै सोध्ने सल्लाह भयो। डा. भगवान कोइरालालाई फुर्सदमा भेट्न सकिने त कुरै थिएन। अस्पतालको प्रशासनिक काम त उनी साँझ परेपछि गर्दारहेछन्। बिरामी हेर्ने क्रममा वल्लो कोठाबाट पल्लो कोठामा गएका डाक्टरलाई बाटैमा छोपेर सोधियो। धन्न रिसाएनन्। कुरा सुने र सकेको सहयोग गर्ने वचन पनि दिए। 
डा. कोइरालालाई धेरैले मुटुका उत्कृष्ट शल्य चिकित्सक र कुशल, समर्पित र इमानदार व्यवस्थापक/प्रशासकका रूपमा चिन्छन्। उनले नेपालका बालबालिकालाई लगाएको गुन धेरैलाई थाहै छैन। अहिले मुटु रोगी बालबालिकाको उपचारको जिम्मा राज्यले लिएको छ। त्यसको पृष्ठभूमि तयार गर्ने काम 'बाल धड्कन’ नामक संस्थाले गरेको हो। बाल धड्कनमा डा. कोइराला पनि संलग्न थिए। मूलतः डा. कोइरालाकै आग्रहमा गिरिजाबाबुले गंगालाल अस्पतालमा उपचार गराएकै बेला तत्कालीन अर्थमन्त्रीलाई बालबालिकालाई मुटुको उपचार गर्दा लाग्ने पैसा राज्यले बेहोर्ने व्यवस्था बजेटमै मिलाउन प्रधानमन्त्रीका हैसियतमा आदेश दिएका थिए। भन्छन्, त्यसका लागि डा. कोइरालाले 'इमोसनल ब्ल्याकमेल’ जस्तै गरेका थिए। यसो त, गिरिजाबाबु पनि बालबालिकाका विषयमा संवेदनशील थिए।
बालबालिकाप्रति डा. कोइरालाको विशेष संवेदनशीलता थाहा पाएकैले पनि रविनाको उपचारमा उनले सहयोग गर्ने अपेक्षा भएको थियो। त्यसपछि अस्पतालका नियमित परीक्षण र उपचारको प्रक्रिया सुरु भयो। विभिन्न परीक्षणका क्रममा रविनाका बाबुलाई सघाउन जाँदा अस्पतालका कर्मचारीको व्यवहार बदलिएको अनुभव भयो। काम गर्ने तत्परता र दुःख बुझ्ने संवेदनशीलता लेखा र ल्याबका कर्मचारीमा पनि पाइयो। अन्ततः रविनाको शल्यक्रिया भयो। केही दिन अस्पताल बसेर उनी घर फर्किन्। 
अस्पतालमा उपचार हुनु कुनै उल्लेख्य घटना पक्कै पनि होइन तर हाम्रो स्वास्थ्य सेवा पद्धतिको नभई डा. भगवान कोइराला व्यक्तिको सहृदयताका कारणले मात्र यो उपचार यसरी सहजरूपमा सम्भव भएकाले यति लेख्नुपरेको हो। यसलाई प्रतिनिधि घटना मान्ने हो भने पनि स्वास्थ्य क्षेत्रको अवस्था कहालीलाग्दो देखिन्छ भने गर्नुपर्ने व्यवस्थाबारे त झन् गम्भीर हुनुपर्ने थाहा पाइन्छ। 
केही दशकयता संसारसँगै नेपालमा पनि जनस्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति भएको छ– विशेषगरी मातृ शिशु स्वास्थ्यका क्षेत्रमा। रोगको रोकथाम र प्रतिरोधका क्षेत्रमा भएको प्रगतिको प्रतिफल सामान्य जनतासम्म पनि पुगेको छ। तर उपचारका क्षेत्रमा भएको प्रगतिले भने त्यसरी नै सबैलाई समानरूपले छुन सकेको छैन। प्राथमिक स्वास्थ्यलाई अधिकारका रूपमा स्थापित गर्नेदेखि सरकारी स्वास्थ्य संस्थामा गर्ने भनिएको निःशुल्क उपचारलगायत्का अधिकांश सुधार प्रचारमुखी छन्। तिनले साँच्चै नै अप्ठेरोमा परेकालाई खासै सहयोग भएको छैन। गाउँको गरिब परिवारमा कसैलाई अलि ठूलो रोग लाग्यो भने उपचारका लागि सबै सम्पत्ति सकेर उठिबास लागेपछि काल पर्खनुबाहेक अर्को विकल्प अझै छैन। आपत परिहाल्यो भने राज्यले हेर्ला भनेर आशा गर्ने ठाउँ छैन। 
सरकारले केही वर्षदेखि स्वास्थ्य बिमा गराउने अभ्यास गर्न खोजेको छ तर नीतिगत अन्योल र प्राथमिकता तथा प्रतिबद्धताका अभावमा राम्ररी कार्यान्वयन भएको छैन। गैरसरकारी क्षेत्रबाट भएका प्रयास केही आर्थिक दृष्टिले दिगो हुन नसक्ने प्रकारका छन् भने केही सानो ठाउँमा सीमित भएकाले प्रभावहीन छन्। यस्ता प्रयासमा राज्यको स्वामित्व आवश्यक हुन्छ। बिमा भन्नेबित्तिकै पुँजीवादी पद्धति ठान्ने र त्यसको विरोध गर्नैपर्ने मानसिकता भएका व्यक्तिको बाहुल्य भएको समाजमा सबैलाई समेट्ने जनस्वास्थ्य प्रणालीको विकास सजिलो पक्कै छैन। यस्तै, सैनिक संख्या बढाउँदा आपत्ति नगर्ने तर शिक्षा र स्वास्थ्यमा लगानी बढाउँदा अर्थतन्त्र खलबलिने ठान्ने किताबी अर्थशास्त्रीहरू शासनमा प्रभावकारी हुँदासम्म राज्यले नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मा लिने पद्धति विकास हुन सत्तै्कन। तर अहिलेसम्म अपनाइएको नीति जनतालाई राज्यले दिनुपर्ने संरक्षण गर्न अक्षम भएकोचाहिँ स्पष्ट हुन्छ।
बालबालिकाको उपचारका लागिसमेत गरिब नागरिकले मागेर खर्च जुटाउनुपर्ने अवस्था यथार्थमा राज्य र समाजका लागि लज्जा, ग्लानि र क्षोभको विषय हो। नीति निर्माताले लाज मान्नुपर्ने हो यसमा। सिकिस्त बिरामीको उपचार गराउँदा पनि कर असुल्ने सरकारी नीति र त्यसका निर्माताहरूको संवेदनहीनताको निन्दा जति गरे पनि थोरै हुन्छ। त्यसरी कर असुल्दा पनि रविनाजस्ता बिरामीको उपचार राज्यले नगर्ने अवस्था झन् आपत्तिजनक र चिन्ताको विषय हो। राजनीतिक नेता/कार्यकतालाई उपचारका नाममा राज्यको ढुकुटीबाट बर्सेनि करोडौं रुपियाँ बाँडिन्छ। नेपालमै सजिलै हुने उपचारका लागि उनीहरू विदेशका महँगा अस्पतालमा जान्छन् र राज्यको ढुकुटी रित्याउँछन्। तिनले खर्च गरेको पैसा रविनाको पनि हो। उनका बाबुले छोरीको उपचारका लागि बाटामा माग्नुपर्ने अवस्था यथार्थमा उनीविरुद्ध राज्यले गरेको अन्याय पनि हो। यस विसंगतिको अन्त्य गर्नु आवश्यक छ। कम्तीमा गरिबीको रेखामुनिको जनसंख्याकै लागिमात्र भने पनि स्वास्थ्य र सुरक्षाको जिम्मा राज्यले लिन सक्नुपर्थ्यो। त्यसका लागि आवश्यक संयन्त्र र प्रक्रिया निर्माण हुने हो भने आर्थिक दृष्टिले समर्थ अरू नागरिकलाई पनि त्यसैमा सम्मिलित गर्न सकिन्छ। 
रविना गरिब परिवारकी सामान्य नेपाली बालबालिकाकी प्रतिनिधि पात्र हुन् भने डा. भगवान कोइराला अपवाद। संयोगले मात्र रविनाको उपचार भयो। डा. कोइराला शिक्षण अस्पतालका निर्देशक नभएका भए सम्भवतः रविनाका बाबु अहिलेसम्म पनि छोरीको उपचारका लागि सहयोग याचना गरिरहेका हुन्थे। डा. कोइराला हिजो गंगालाल अस्पतालमा थिए। भोलि अन्यत्रै पुग्न सक्छन्। व्यक्ति विशेषको प्रयासले परिवर्तन हुन्छ तर त्यसलाई संस्थागत गर्न सजिलो हुँदैन। पद्धति बसाउन सके व्यक्ति परिवर्तन हुँदा पनि खासै धेरै फरक पर्दैन। यसैले रविनाहरूको उपचारका लागि सडकमा याचना र कसैले दया गर्न नपर्ने पद्धति बसाउनु आवश्यक छ। राजनीति गर्नेहरूले यस विषयमा केही विचार गर्लान्?