15 Kartik, 2071 |
Menu

विचार

सडक विस्तारको सन्देश

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • दीपेश केसी
  • DISQUS_COMMENTS
(0 votes)
सडक स्वतन्त्रपूर्वक हिँड्ने/गुड्ने साझा थलोमात्र होइन, समाजको आँगन पनि हो। जहाँ असन्तुष्टि पोख्ने र सन्तुष्टिका श्वास फर्नेहरुको जमात भेटिन्छन्। सडक बगैंचा पनि हो, जहाँ थरीथरीका फूल फुलेका, ओइलिएका र झरेका भेटिन्छन्। सडक समाजको ऐना पनि हो, जहाँ सामाजिक अवस्था देखिन्छ। घरभित्र देखाउन नसकिने बेहोरासमेत सडकमा अनायासै पोखिन्छ। समाज चिन्न सडक काफी त छैन तर सडकले समाजबारे धेरै थोक बताइदिन्छ।
 तर सडकलाई चिन्न र बुझ्न सहज छैन। सडकमा देखिएका सबै सत्य हुन् भन्ने पनि छैन। प्रदूषित आवाज सडकमै चर्कोरूपमा सुनिन्छन्। भ्रमपूर्ण दृश्य उत्तिकै देखिन्छन्। मानव सागर मूल सडकमै पोखिन्छन्। सागरको क्षमता र स्तर मापन सहज छैन। एकाध देखिने दृश्य र सुनिने आवाजबाट आँकलनको प्रयाससम्म गर्न सकिन्छ। 
पंक्तिकारले देशभित्र परिवर्तित सडकका दृश्यहरुबाट समाजको चित्र केलाउने जमर्को गरेको छ। जब सुनौली नाका कटेर नेपाल छिरेपछिको परिवर्तित सडकका दृश्यले ध्यानाकृष्ट गर्योे, तब मनमा उत्साह भरियो। साँघुरा थिए ती सडक, फराकिला बन्दैछन्। धुलो र धुँवा नै सही भविष्यका लागि आशाका कण फ्याँकिरहेछन्। चेपिएर चल्नुपर्ने मुख्य सडक चौडा हुनु भविष्यका लागि सहज चालको आरम्भ हो। परम्परागत शैलीमै किन नहोस्, नाप्ने टेप सडकको मध्य भागबाट लिएर दायाँ बायाँ तन्काएर चिह्न लगाउनेहरु सक्रिय छन्। विकल्पका लागि नयाँ बनाएर पुरानो भत्काउने र पहिल्यै भत्काएर नयाँ बनाउनेहरु खुसी/दुःखी जे भए पनि सडक फराकिलो पार्ने कदमलाई स्वीकारिरहेछन्। समाजमा भौतिक परिवर्तनको उत्कट चाहनालाई अस्वीकार गर्नेहरु अल्पमतमा परिसके। अब विकास र परिवर्तनको शक्ति बढिसक्यो। विकल्प दुईवटा मात्र छन्। कि विकासको गतिसँगै हिँड्नुपर्यो कि थलो छाड्नुपर्यो । भौतिक विकासले पुर्यासउने फाइदासँगै बेफाइदाका फेहरिस्त छँदैछ। तर विकासको गति रोक्न असम्भव छ। 
देशैभर चलेको सडक फराकिलो पार्ने जोड चलिसकेछ। राजधानीको साँघुरा सडक हुँदै विस्तार भएको अभियानले मोफसलतिर समेत प्रभाव पार्योु। अब फराकिला सडक चाहियो। कुनै बेला एक फिट सडक विस्तार गर्दा पाखुरा सुर्केर आउने र पहुँच र प्रभावका भरमा रोक्नेहरुका सन्तान दरसन्तानले भौतिक विकासका लागि फराकिलो मन बनाइसके। युगको चाहनालाई रोक्नेभन्दा सँगै बढ्ने जमर्को छ। फराकिलो सडक बनाउने अभियानले उनीहरुका मनलाई समेत फराकिलो बनाइदियो। दुःखजिलो गरी बनाएको घर र पर्खाल भत्किँदासमेत नागरिकहरु फराकिलो सडक देखेर प्रफुल्ल छन्। केही पाउन केही गुमाउनुपर्छ। अब साँघुरो गल्लीमा कोच्चिएर र चेपिएर कोही पनि निसास्सिन चाहँदैन। खुलापन चाहिएको छ। सडकमा जबर्जस्ती कोचिएर चल्ने मोटरगाडीहरुलाई सुविस्ता होला जस्तो छ। व्यस्तता बढ्दै गएकाहरुको समयको बचत होला जस्तो छ। सडकले परिवर्तनका लक्षण देखायो। मानिस खुल्ला सडकजस्तै सामाजिक जीवनमा समेत खुल्लापन र उदारता चाहन्छन्। 
सडकको विस्तारले एकाथरीको बिल्लिबाठ गराउँदैछ। सडक विस्तार अभियानअन्तर्गत राजमार्ग छेउछाउका झुपडी धेरै भत्किसके। पृथ्वी राजमार्गमा झुपडी विकल्पको खोजीमा व्याकुल छन्। दुःखजिलो गरी खानेहरुको बास उठ्यो। कतिपय झुपडी सडकभन्दा केही पर सारिँदैछन्। कतिपयका लागि सार्ने स्थानसम्म छैन। विकल्प नभएकाहरु के गर्लान्? झुपडीहरु बदनाम बनाइएका छन्। यौनधन्दाको चर्चा चलाउँदैमा सबै एकैनास हुन्छन् भन्ने छैन। गर्नेहरुले गरे त के भो? समाजले विकसित भइरहेको यौन व्यवसायलाई रोक्न पनि नसक्ने र स्वीकार्नसमेत नसक्ने दोहोरो चरित्र कतिञ्जेल देखाइरहला? सडक फराकिलो हुनुपर्छ भन्नेहरुले समाजका विद्यमान समस्या समाधानका लागिसमेत फराकिलो मन बनाउनुपर्छ। सडक किनारका झुपडीमा गरिबका रोजीरोटीको सवाल जोडिएको छ। सक्नेहरुले विकल्प खोजेर घर/टहरा सारे। भित्तो खोस्रेर वा नदी छेवैतिर जोरजाम गरे। अरु कहाँ जाने? राज्यसँग विकल्प दिने दीगो नीति खोइ? नत्र सडकमा पोखिने असन्तुष्टिको परिणामले पिरोल्छ। 
काठमाडौं छिर्ने उपयुक्त वैकल्पिक मार्ग नहुँदा पृथ्वी राजमार्ग चापमा परेको छ। क्षमताभन्दा बढीको भार बोक्ने ट्रकहरुको मनोमानी चलेकै छ। सडक बिगार्ने यिनै ट्रक हुन् भन्दै बस चालकहरु सत्तोसराप गर्छन्। उजुरीको साहस उनीहरुमा छैन। उजुरीको सुनुवाई हुने भरोसा नभएर पनि हो। नत्र पीडा भोग्ने उनीहरुले नै भएपछि उजुरी गरिहाल्थे। यात्रुहरुबाट समेत शायदै उजुरी हुन्छ। हदैसम्म भएर बाटोमा भ्वाङ परेपछि पत्रपत्रिकाले लेख्छ अनि केही दिन कारबाही हुन्छ। प्रवृति दोहोरिन छाड्दैन। नत्र पोहोरसाल त्यत्रो आवाज उठेर भारक्षमताभन्दा बढी बोक्न नपाइने भनिसक्दासमेत ट्रकहरुले मनोमानी किन छाडेनन्? उजुरीमा जाँगर नदेखाउने र सुनुवाई गर्ने निकायप्रतिको अविश्वासले ढुवानी गर्नेहरुको मनोमानी छ। सडक निर्माण बालुवामा पानी हालेसरह भयो। 
क्रंक्रिटको जंगल बनिसकेको काठमाडौं उपत्यकामा फराकिलो सडकको आकांक्षा धेरैअघिबाट भइसकेको थियो। नागरिकको चाहनाले अहिले आएर मूर्त रूप लिँदैछ। मध्य शहरमा मात्र नभई चक्रपथबाहिर समेत सडक विस्तारले गति पायो। शहर विस्तारले फराकिलो सडकको आवश्यकता बढायो। चक्रपथभित्र चाप बढेपछि बाहिरतर्फ निस्किएकाहरुको आवश्यकताले मूर्त रूप पाउँदैछ। फराकिला सडकहरु बन्दै र भविष्यमा बन्नेगरी नाप नक्शा भइरहेबाट भौतिक विकासका फड्को देखापर्छ। राजधानीको मुटुबाट गाउँ गाउँसम्म चल्ने सार्वजनिक यातायातको सुविधा विस्तार हुनुले काठ भेग शहरीकरण र विकासतर्फ लम्किरहेको आभाष मिल्छ। शहर विस्तार अनिवार्य छ। शहरबासी कतिञ्जेल कोच्चिने? कतिञ्जेल अस्तब्यस्तताबीच बाँच्ने ? एक्काइसौं शताब्दीको प्रविधिले ल्याएको परिवर्तन अनुकूलको सहज जीवनयापनको चाहना पूरा गर्ने अभिलाषा नेपाली जनतालाई हुनु स्वाभाविक हो। कतिञ्जेल सुविधारहित जीवन बाँच्ने? जीवनमा दुःखजिलो गर्नु सुख/सुविधाकै लागि हो। राज्यले सुख/सुविधाको नक्शा कोर्ने जमर्को गर्योव। अब नागरिकको चाहना सम्बोधनतर्फ जिम्मेवारीबोध भएको प्रतीत हुन्छ। केही वर्षमा आएको फेरबदलले ल्याएको परिवर्तन हो यो, जसले गति लिइरहेछ। 
सडकमा यातायात सेवामा व्यापक फेरबदल आइरहेछ। सार्वजनिक सवारी साधनको मनोमानीलाई चुनौती दिँदै प्रतिस्पर्धा बढ्यो। पुनर्जन्म लिएको साझा यातायातले निश्चित नियम बनाएर यातायात सेवामा आधुनिक प्रणाली लागु गर्दैछ। कमी/कमजोरी भए पनि सुधारको लक्ष्य बोकेर अघि सर्योल। यात्रुहरु साझाप्रति आकर्षित छन्। साना सवारीको लुकिचुरी यात्रु राख्ने र रोक्ने प्रवृतिमा पूर्णविराम ल्याउन सहज छैन। तर प्रयास थालनी भइसक्यो। ज्येष्ठ नागरिक, महिला र अपाङ्गका लागि सार्वजनिक यातायातमा स्थान पक्का गरियो। तर व्यावहारिक पक्ष फितलो छ। महिला यात्रुहरु आफँै आफ्नो सिटको दाबी गरी बस्ने परिपाटी अझै विकास भइसकेको छैन। महाराजगन्जबाट पुतलीसडक आउँदा नेपाल यातायातलाई ट्राफिक प्रहरीले रोके। महिला उभिएको र उनीहरुको सिटमा पुरुष किन राखेको भनी चालक र कन्डक्टरसँग प्रश्न गरे। दिल्लीमा महिलाले आफ्ना लागि सुनिश्चित गरिएको सिटमा बसेर उठ्न नमाने पुरुषलाई उठाउने गरेको दृश्य देखेको थिएँ। देशभित्र महिलाचाहिँ नबोली चूपचाप बसेको पाएँ। अधिकारका लागि बोल्न पनि पर्योर। मौनताले आफ्नो स्थान अरुले कब्जा गरिरहन्छ। नत्र आधिकारिकरूपमा स्थान सुरक्षित गरे पनि व्यावहारिक पक्ष फितलो हुन्छ। केही कमी/कमजोरी छन्, जुन सुधार्न सकिन्छ। समग्रमा सडकले आमूल परिवर्तनको संकेत गर्छ। परिवर्तनको लहरले गति लिइसक्यो। भविष्यका मार्ग फराकिला छन्।