Sunday 7 Mangshir, 2071 |
Menu

विचार

दलितभित्रका बाहुनवादी

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • राजेन्द्र महर्जन
  • DISQUS_COMMENTS
(0 votes)
दुई दशकअघि डोरबहादुर बिष्टले बाहुनवादबारे निकै महत्वपूर्ण कुरा उठाएका थिए, पहिले यज्ञ–यज्ञादि धार्मिक पूजापाठ गरी समाज कल्याण कार्यमा लाग्ने मानिसलाई बाहुन भन्ने गरिन्थ्यो भने तिनैको नामबाट सम्पूर्ण असल कर्मलाई नै बाहुनवाद भनिन्थ्यो।

पछि झुटो काल्पनिक कथा, पुराण, पुर्ख्यौली, वंशावली निर्माण गर्ने, आफूलाई कुनै पनि शारीरिक कार्य गर्न नहुने बाहुन देवताका रूपमा प्रस्तुत गर्ने र अरुलाई नीच, अछुत, छोटा, अपवित्र र राक्षसका रूपमा समेत पेस गर्ने तथा भाग्यवाद प्रतिपादन र प्रबर्द्धन गर्ने वादका रूपमा बाहुनवाद स्थापित भयो। सारमा पछिल्लो प्रयोग र व्याख्या स्वीकार्ने र लागु गर्ने जो/कोही पनि बाहुनवादी हुने बिष्टको व्याख्या यहाँ विचारणीय छ। उनको भनाइको मजबुन थियो– देशका सबै बाहुन बाहुनवादका अनुयायी होइनन्। त्यसैगरी बाहुनवादका अनुयायी जति सबै बाहुन पनि होइनन्। कोही पनि बाहुन आफ्ना लागि भाग्यवादी विचारधारामा विश्वास गर्दैनन्। 
यसको अर्थ बाहुनबाहेक अन्य वर्ण र अवर्णमा पनि बाहुनवादी हुन सक्ने रहेछ। फ्रान्ज फेननले भनेझैँ 'ब्ल्याक म्यान, ह्वाइट मास्क' को दक्षिण एसियाली वा नेपाली संस्करण फेला पर्ने रहेछ। विभिन्न जात/जातिमा गैरबाहुन, दलित वा जनजातिका मानिसका सोचाइ र व्यवहार बाहुनवादी हुन सक्ने रहेछ। यसको मतलब बाहुनवादले गैरबाहुन, दलित वा जनजातिलाई पनि उपनिवेश बनाइसकेको रहेछ। र, उनीहरूमा पनि बाहुनवादी बाहुन जातको निर्माण पनि गरिसकेको रहेछ। यसको तात्पर्य दलितभित्र पनि बाहुनवादी सोचाइ बोक्ने 'बाहुन' हुने रहेछ, बाहुनभित्र पनि दलित हुन सक्ने रहेछ। 

विभाजनकारी बाहुनवादको अभ्यास
बाहुनवादले प्रतिपादन र प्रवर्द्धन गरेका अनेक सांस्कृतिक आयाममध्ये एक हो– अछुतपना। अछुतपनासँग अस्पृश्यता, उँचनीच, श्रेणीकरण र श्रम विभाजनका आयाम जोडिएका छन्। जसरी अछुत पहिचान स्वयम्मा पनि निकै विभाजनकारी छ, त्यसरी नै यसले अछुत समुदायमा पनि थप विभाजन गरेको छ, एउटै पहिचानमा जोडिन र मिल्न नसक्नेगरी। छुत र अछुतका रूपमा मात्रै होइन, अरुले अछुत ठहर्या्एका अछुत–अछुतबीच पनि अछुतपनालाई संस्थागतरूपमा निरन्तरता दिइएको छ। सार्वजनिक बहस र नीतिमा अछुतपनाका बाहिरी रूप र व्यवहार मात्रै बेसी चर्चित छ। अछुतपनाका बाह्य रूपबारे डिल्लीराम दाहाल र अन्य (सन् २००२)को भनाइ छ, दलितभित्रका सामाजिक विभेद घरमा पस्दा, खाना खाँदा, पानी पिउँदा र विभिन्न पारिवारिक संस्कार अभ्यास गर्दा टड्कारोरूपमा देखिने गरिएको छ र सबैभन्दा बेसी सजातीय विवाहमा देखिएको छ। 
हुन त अछुतपनाका बाह्य रूपलाई विभिन्न श्रेणीमा बाँडेर हेर्ने चलन छ। किनभने यसका एउटा मात्रै आयाम छैन, यसका पाँच वटा बाह्य आयाम टड्कारो देखिन्छ। पहिलो, गैरदलितले गर्ने छुवाछुत र भेदभावको आयाम। दोस्रो, दलितभित्रकै 'बडा' जातले 'साना' जातलाई गर्ने छुवाछुत र भेदभावको आयाम। तेस्रो, गैरखस–नेपाली भाषी भएकाले र गैरपहाडी भएकाले हुने भेदभावको आयाम। चौँथो, धनी गैरदलित र दलितले दलितलाई गर्ने उत्पीडन। पाँचौँ, दलित महिलालाई गैरदलित, अन्य दलित, पुरुष र पहाडीले गर्ने विभेदको आयाम। तल्लो जात भनिएका समुदायका दलित महिलाले त महिला भएकै कारण दलित पुरुषको तुलनामा पाँच गुना विभेद भोग्नुपर्ने बाध्यता छ। 
अछुतकरणको आन्तरिक आयाम पनि कम खतरनाक र गम्भीर प्रकृतिको छैन। गैरदतिल र दलितबीच, दलित र दलितबीच, विभिन्न जात र उपजातमा विभाजनले दलितहरूलाई पनि ठूला र सानाका रूपमा उचनीच गर्न सिकाएको छ। यसले अरुलाई हीन, आश्रित, असमर्थ, असभ्य एवं फोहोरी मान्न अभ्यस्त बनाएको छ। अरुलाई हीन, आफूलाई श्रेष्ठ मान्ने, अरुलाई आश्रित र आफूलाई मालिक बनाउने (प्याट्रोन–क्लाइन्ट रिलेसन बनाउने), अरुलाई असमर्थ र आफूलाई सामर्थ्यवान तुल्याउने, अरुलाई असभ्य, काला, फोहोरी अनि आफूलाई मात्रै सभ्य, श्वेत, सफा, सुसंस्कृत र ज्ञानीगुनी ठहर्यााउने संरचना, संस्कृति र सम्बन्ध नै अछुतपनाका सारभूत आयाम हुन्, जसको जराचाहिँ बाहुनवादै हो। 
हुन त नेपाली समाजको पुँजीवादीकरण र लोकतन्त्रीकरणसँगै गैरदलितले दलितमाथि गर्ने छुवाछुत र भेदभाव बहस र आलोचनाको स्थापित विषय भइसकेको छ। तर, दलितले दलितमाथि गर्ने भेदभावचाहिँ बहसको विषय भएको छैन, न त यो व्यापक र गम्भीर खोजको मुद्दा भएको छ। त्यसमा पनि दलित र गैरदलितबाट दलित महिलामाथि गरिने उचनीच, भेदभाव र उत्पीडन नै 'डिस्कोर्स' (विचार–विमर्श) मा स्थापित भइसकेका छैनन्। यसरी पुरुष र महिला दलितविरुद्ध दलितले गर्ने उत्पीडनका पनि बाह्य र भित्री आयामबारे गम्भीर डिस्कोर्सको आवश्यकता छ नै, त्यस्तो उत्पीडन विरोधी सङ्घर्षमा स्पष्ट हुनुपर्ने पक्षबारे पनि सुविचारित बहस हुनु जरुरी छ। 

बडप्पनको भ्रमजाल र उत्पीडनकारी संरचना
अछुतपनाको बाह्य आयामबारे डिस्कोर्स र सङ्घर्ष गर्दा कुनै उत्पीडक व्यक्ति, थर, जात र धर्म–विशेषमाथि आक्रमण गर्नुको साटो उत्पीडनकारी सम्बन्धबारे, त्यस्तो सम्बन्ध सिर्जना गर्ने सामाजिक संरचनाबारे आलोचनात्मक विमर्श गर्नु जरुरी छ। उदाहरणका लागि, आमदलितको संघर्ष अत्यन्त विभेदकारी सावित भएको बाहुनवाद र त्यसलाई निरन्तरता दिने हिन्दु वर्णव्यवस्था र सामाजिक संरचनासँग हो, कुनै बाहुन जात–विशेषसँग होइन, न त कुनै क्षत्री र वैश्य जात–विशेषसँग, न त द्विज जातका कुनै व्यक्ति–विशेषसँग हो। उत्पीडक व्यक्ति, थर, जात र धर्म–विशेषमाथि आक्रमण गर्दैमा वा तिनलाई सखाप पार्दैमा उत्पीडनकारी संरचना, त्यसले जन्माएको सम्बन्ध र मानसिकता समाप्त हुँदैनन्। द्विज–शूद्र, छुत–अछुत, बडा–छोटा, पवित्र–अपवित्र जातका नाममा व्यक्ति, थर, जात र धर्म–विशेषले अर्काे जात, लिङ्ग र समुदायविरुद्ध गर्ने भेदभाव आफैँमा उत्पीडनकारी संरचना, त्यसले जन्माएको सम्बन्ध र मानसिकताको एक अंश हो। त्यस्तो संरचना, त्यसले जन्माएको सम्बन्ध र मानसिकताबारे डिस्कोर्स गरियो भने अनेकखालका दमनकारी र उत्पीडनकारी संरचना र सम्बन्धबारे वैचारिक स्पष्टता प्राप्त हुने र त्यस्ता सम्बन्ध र मानसिकता तोड्न पनि अस्पष्ट र दिग्भ्रमित हुने अवस्था आउँदैन। जहाँसुकै पनि त्यस्तो संरचना, सम्बन्ध र मानसिकता स्थापित हुने अवस्थामा प्रतिरोधका लागि खासै समस्या पनि हुँदैन, चाहे त्यस्तो उत्पीडन बाह्य होस् या आन्तरिक। 
जातभात–प्रथा समाजको श्रेणीबद्ध विभाजनको सतत् प्रक्रिया हो। यस प्रक्रियाको क्रममा अरु जातलाई 'छोटा' जातमा झार्ने र आफ्नो जातलाई भने ठूलो वा 'बडा' जातमा उकास्दै आफ्नो श्रेष्ठता सिद्ध गर्न सामाजिक धरातल (सोसल स्पेस) बनाइन्छ। त्यही धरातलमा टेकेर आफ्नो जातलाई 'बडा' जातको बराबरीमा उभ्याउने कामसँगै अरु सबै जातलाई पुरानै सम्बन्ध, समय, स्थानीयता र दर्जामा सीमित गरिन्छ ताकि उनीहरू त्यस सीमाबाट अगाडि बढ्न नसकून्, आफ्नो परम्परागत सीमाभन्दा अगाडि बढेर गतिशीलता कायम गर्न नसकून्, उत्पीडनकारी सम्बन्धको जालो तोड्न नसकून्। यो प्रक्रिया द्विज वर्णमा मात्रै सीमित छैन, शुद्र, अछुत वा तल्लो जातमा पनि फैलिएको छ, कयौँ मामिलामा त कुनै जबर्जस्ती र शक्ति प्रयोगविना नै। दलित समुदायमा कालान्तरमा गतिशीलता, उन्नति र विकास अनुभव गर्न पाएका जातले आफूमाथि थोपरिएका बन्धनप्रति अनिच्छा, गुनासो र विरोध व्यक्त गरेका छन्। तर, उनीहरूको नेतृत्वमा भएका सामूहिक प्रतिरोध प्रवल भएको छैन। किनभने दलितहरूलाई विभिन्न जात र उपजात, कुल र वंशमा विभाजित गरिएको छ नै, उनीहरूभित्रका माथिल्ला जात र तिनको नेतृत्व तहमा द्विज वर्णमा जस्तै श्रेष्ठताको दाबी गर्ने र त्यसका लागि सामाजिक धरातल बनाउने संस्कृति पनि छँदैछ। यसको अर्थ उनीहरूको मनमस्तिष्कमा पनि बाहुनवादको उपनिवेश प्रवलरूपमा स्थापित छ र आफूलाई बाहुनको स्तरमा उकास्न उनीहरू हरदम क्रियाशील छन्। 

छुवाछुतको मनो–सामाजिक पक्ष
जन्म, जात, कुल र वंशका आधारमा गरिने आन्तरिक छुवाछुत र भेदभावको एउटा मनो–सामाजिक पक्ष विचारणीय छ। दलितभित्रका 'बडा' भनिएका जातका मानिसले हिन्दु वर्णव्यवस्थालाई स्वीकार्दै आफूलाई माथि राख्ने, अरु जातलाई तल राख्ने तथा छोइछिटो र अन्यखालका उत्पीडन गर्ने कामले उनीहरूका मनमा पनि आफूहरू माथिल्लो जात भएको भ्रम पाल्न सघाएको छ। 'तल्लो' जातका मानिसलाई छोइछिटो गर्दै उनीहरूले पनि द्विज वर्णको संस्कार सिकेको र अब आफू पनि माथिल्लो जातमा उक्लिएको आभासमा रमाउन खोजेको पनि पाइन्छ। र, द्विज वर्णबाट आफूमाथि भएका छोइछिटोलाई हलुका पार्न अरु दलितमाथि छोइछिटो गर्दै आत्मसन्तुष्टि लिन खोजेको पनि हुन सक्छ। र, सम्भावनाकै कुरा गर्दा आफूभन्दा कमजोर, असमर्थ र अक्षम पक्षमाथि थप असमर्थता र अक्षमता थोपरेर शक्ति सञ्चय गरिएको पनि हुन सक्छ। किनभने कुनै पनि उत्पीडकहरूको शक्ति वास्तवमा उत्पीडितहरूको असमर्थताको वृद्धिमै निहीत हुन्छ। 
अरुको हीनता र असमर्थताको जगमा निर्माण गरिएको अछुतपना र अन्य उत्पीडनले द्विज वर्णमा जस्तै शुद्र वर्णका ठूला जात भनिएका दलितमा पनि 'बाहुन' बन्न खोज्ने सामाजिक मनोविज्ञानको पक्षलाई उजागर गरेको छ। त्यसको व्यावहारिक पक्ष हो, अरुलाई हीन ठहर्यानउँदै आफ्नो हीनताको ग्रन्थी (इन्फेरियर्टी कम्प्लेक्स)बाट मुक्त हुन श्रेष्ठताको स्वाङ पार्ने मनोविज्ञान अर्थात् (सुपेरियर्टी कम्प्लेक्स)। यसैलाई नेपाललगायत् दक्षिण एसियामा बाहुनवादको मनोवैज्ञानिक पक्षका रूपमा बुझ्न सकिन्छ। यस्ता संस्कार, मनोविज्ञान र व्यवहारको सिको गर्दै त्यसको कुनै न कुनै रूपमा पुनरुत्पादन गर्नु आफैँमा पनि छुवाछुत, भेदभाव र उत्पीडनजस्ता बाहुनवादकै निरन्तरता र व्यापकताबाहेक केही होइन। 

असमावेशी संरचना र अभ्यास 
कतिसम्म भने दलित आन्दोलन, संगठन र गैससमा पनि दलितभित्रका ठूला जात अगुवाहरूको मात्रै एकाधिकार छ। राज्यका संयन्त्र, राजनीतिक पार्टी र सामाजिक संघ/संस्थामा द्विज वर्णका नेताहरूको प्रभुत्व भएझैँ दलित आन्दोलन, संघ/संगठन र उनीहरूबाट हुने राजनीतिक प्रतिनिधित्वमा उनै अगुवाहरूका जातको वर्चस्व छ। उनीहरूले पनि द्विज वर्णका नेताहरूले जस्तै आफ्नो जातभन्दा 'तल' रहेका अन्य जात र लिङ्गका मानिसलाई नेतृत्वमा ल्याउने वा आउने संरचना, प्रक्रिया र संस्कृति बनाएका छैनन्। अझ उल्टो, उनीहरूले पनि एकाधिकार कायम राख्ने प्रवृत्तिसँगै अन्य जातमा सुविधा, अवसर र पद नजाने गरी अप्रत्यक्षरूपमा नाकाबन्दी गर्ने संस्कृति पनि अँगाल्दै आएका छन्। यस्तो प्रवृत्ति र संस्कृतिले परिवार, नातागोता, जात, वंश, कुल र क्षेत्रको सीमालाई तोड्नुको साटो बढाएका छन्, जुन एक अर्थमा बाहुनवादकै विस्तार र सुदृढीकरण हो। 
कुनै पनि गैरदलितले अछुतपनाको पुनरुत्पादन गर्न र न्यायोचित ठहर्यानउनमात्रै होइन, आफू र आफ्ना पूर्खाले गरेको भेदभावले जन्माएको आत्मग्लानिलाई छोपछाप गर्न पनि दलित आन्दोलनलाई प्रहार गर्ने क्रममा आन्तरिक छुवाछुतलाई मुद्दा बनाउने गरेका छन्, जुन पक्कै पनि लोकतान्त्रिक र न्यायपूर्ण छैन। तर अब त गैरदलितको नीति र नियततिर मात्रै औँला ठड्याएर आन्तरिक छुवाछुत ढाकछोप गर्न सकिँदैन। किनभने अरुतिर एक औँला देखाउँदा चार औँलाले आफैँतिर संकेत गरेको तथ्य बुझ्ने बेला आइसकेको छ। दलितभित्र पनि तल्लो जात भनिएका समुदाय र दलित महिलामाथि जारी आन्तरिक भेदभावलाई छोपछाप गर्न खोज्दा आफैँ नाङि्गने सम्भावना पनि बढेको छ। र, 'तल्लो जात' र दलित महिलाका लागि गैरदलितको मात्रै होइन, दलितभित्रकै ठूला जात र पुरुषहरूको भेदभाव, उचनीच र श्रेणीक्रम (हाइरार्की) अस्वीकार्य भइसकेको छ अनि उनीहरू पनि दलितभित्र जारी बाहुनवादको अभ्यासलाई उल्ट्याउन लागिपरेका छन्। 
अब दलितभित्रकै ठूला भनिएका जातका बाहुनवादीहरूले पनि थाहा पाउनुपर्छ : आफ्नो दलित समुदायका तल्लो जातिलाई छुवाछुत र भेदभाव गर्दैमा ठूलो होइँदैन, बरु अलोकतान्त्रिक र अमानवीयमात्रै होइन्छ। जन्म र जातका आधारमा गरिने छुवाछुत र भेदभाव सबै जातका मानिसका लागि सामाजिक अपराध हो, चाहे त्यो बाहुन, क्षेत्री, नेवार होस् या आफूलाई बडा जातका ठान्ने दलित। छुवाछुत र भेदभाव गर्दा गैरदलितमात्रै दण्डित हुने होइन, दलित पनि सजायका भागिदार हुन्छन्, हुनुपर्छ पनि। उनीहरूले पनि आफ्नो संघर्षसँगै आफूलाई समतावादी, धर्म निरपेक्ष, लोकतान्त्रिक र मानवीय बनाउने सांस्कृतिक अभियान छेड्नुको कुनै विकल्प छैन। अन्यथा कुनै न कुनै रूपरंगमा बाहुनवाद हावी भइरहन्छ किनभने बाहुनवादले जुनसुकै व्यवस्था र संस्थामा आफ्नो प्रभुत्व कायम गर्ने सीप र कला विकास गरिसकेको छ।