14 Bhadra, 2071 |
Menu

विचार

वागमती सफाइमा प्रतिबद्धता

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • सम्पादकीय
  • DISQUS_COMMENTS
(0 votes)
वागमती सफाइको नाममा शनिबार भएको विज्ञापन र कलाकार संघबीचको फुटबल खेल तथा आइतबार सरकार, सेना तथा स्वयंसेवीहरुले गरेको वागमती सफाइको महत्व प्रतीकात्मक मात्रै छ। जनचेतना जगाउने यस्ता अभियानका आफ्नै महत्व होलान् तर वागमतीको सफाइ अब यस्ता अभियानको क्षमताभन्दा धेरै बाहिर गइसकेको छ।
वास्तवमा वागमतीका नाममा चलाइएका प्रायः सबैजसो सफाइ अभियान वागमतीकै शुद्धता कायम राख्न सत्प्रेरक र सफल बन्न सकेका छैनन्। कुनै न कुनै टुंगोमा पुगेपछि यी अभियानको राजनीतीकरण हुने गरेको छ। हिजोआज वागमतीलाई हिन्दुहरुको नदी भन्ने मानसिकता राख्नेहरुको पनि कमी छैन। तर वागमती त सबै धर्म र जातिको नदी हो। जे भए पनि, वागमती सफाइका नाममा चलाइएका अभियानले प्रचार र चर्चा भने प्रशस्तै पाएका छन्। यसबाट वागमतीको महत्व स्थापित भएको छ।
काठमाडौं उपत्यकाको जीवनदायी शक्तिका रूपमा वागमती पुनर्स्थापनाका लागि बेलाबेलामा सरकारले प्रयत्न नगरेको होइन। नेपाल राष्ट्रका लागि वागमती सभ्यताको महत्व कति छ भन्ने सरकारले नबुझेसम्म योजना र बजेटले मात्र वागमतीको उद्धार हुन सक्दैन। अहिलेसम्म वागमतीको सुधार र सफाइको योजना पशुपतिनाथको मन्दिर र आर्यघाटलाई केन्द्रमा राखेरमात्र बनाइएको छ। वागमती नदीको महत्व पुनर्स्थापित गर्नभन्दा पशुपति परिसर र आर्यघाट–केन्द्रित आयोजनामा नै सरकारले जोड दिएको देखिएको छ। सरकारले गठन गरेको उच्चस्तरीय वागमती सुधार आयोगले पनि वागमती नदीको सम्पूर्ण पवित्रता बुझने चेष्टा गरेको पाइएन। त्यसैको परिणाम अहिलेसम्म पनि वागमती नदीको दूरावस्था बढ्दो छ। वागमती सुधार आयोग कहाँ छ र के गर्दैछ? त्यसको अत्तोपत्तो छैन। योजनाअन्तर्गत गुह्येश्वरी मन्दिर नजिक बनेको प्रशोधन केन्द्र अहिले पनि सरकारी योजनाको निष्क्रिय तस्बिरका रूपमा उभिएको छ। त्यो प्रशोधन केन्द्रको प्रभावकारिता स्थापित हुन सकेको छैन। वागमती कहाँदेखि शुद्ध राख्ने? भन्ने विषयमा सरकारी नीति निर्माता नै अन्योल र विभाजित मनस्थितिमा देखिन्छन्। 
वागमतीको विनास मानिस र सरकारको लोभको परिणाम हो। नयाँ निर्माणलाई प्राथमिकता दिने भन्दै जसप्रकार सरकार र सम्बन्धित निकायले वागमती र वागमती नदी पद्धतिका नदीबाट जथाभावी बालुवा निकाल्ने अनुमति बाँडेर जसरी नदीहरुको दोहन र शोषण गरे, त्यस्तो उदाहरण अर्को पाइँदैन। त्यो दोहन र शोषणबाट बिग्रिएको वातावरणको पुनर्स्थापना सानोतिनो योजना र थोरै समयले हुन सक्दैन। वागमतीको पुनर्स्थापनका नाममा ल्याइने कुनै पनि खण्डित योजनाबाट वागमतीको संरक्षण हुन सक्ने सम्भावना अब छैन। मुहानदेखि नै वागमतीको सफाइ गरेमात्र यो नदीको पवित्रता कायम राख्न सकिन्छ। वागमती सफाइका लागि सुरुमा नै सरकारले ध्यान दिन सकेको भए अहिले यो नदी यतिसारो अपमानित हुने थिएन।
नेपाल राष्ट्रको राजधानीका रूपमा काठमाडौंको महत्व स्थापित गर्ने केही महत्वपूर्ण प्रतीकमध्ये वागमती नदी मुख्य हो। यो नदी अनन्तकालदेखि काठमाडौं उपत्यकाको जीवन शक्तिका रूपमा प्रवाहित भइरहेको थियो। अहिले त्यो प्रवाह रोकिएको छ। हामीले वागमतीको सम्मान गर्न सकेका छैनौं। बूढा भएका बाबुआमालाई अनाथाश्रममा लगेर थन्क्याउने निर्दयी सन्तानसँग तुलना गर्न सकिने स्थितिमा पुगेको छ काठमाडौंबासीको अवस्था। काठमाडौंका लागि आवश्यक पिउने पानीको केही हिस्सा अहिले पनि वागमतीबाटै आपूर्ति हुन्छ। अहिले पनि वागमतीबाट बालुवा झिक्ने र वागमतीको पवित्रतालाई चुनौती दिँदै आफना घर–आँगन र कलकारखानाको फोहोर मिल्काउने प्रवृति यथावत् छ। 
वागमतीमात्रै होइन, कुनै पनि महत्वपूर्ण सभ्यता उद्वोधन गर्ने नदीको संरक्षण सरकारले नै गर्नुपर्छ। काठमाडौं उपत्यकाका लागि वैकल्पिक खानेपानी र ढल निकासको बेग्लै व्यवस्था नगरी वागमती सफा हुनै सक्दैन। वागमती सफा राख्न यस नदी पद्धतिका विष्णुमती, रुद्रमती, इच्छुमती, मनमती, हनुमन्तेलगायतका प्रमुख नदी र खोलानाला पनि सफा राख्नुपर्छ। यी नदीको सुरक्षा र सम्वर्द्धनका लागि सरकारले दण्डात्मक, सुधारात्मक र आर्थिक तीनथरी व्यवस्था गर्नुपर्छ। सुधारका विषय जनस्तरबाट राय लिएर तर्जुमा गर्नुपर्छ भने वागमती सुधारमा अवरोध हुनेखालका सबै काम निरुत्साहित गर्न दण्डात्मक व्यवस्थाको विकल्प छैन। सरकारले चाहेको खण्डमा वागमती सभ्यताको विकासका लागि लगानी खा“चो पर्ने छैन। किनभने देशभित्र रहेका र संसारभर छरिएर रहेका वागमतीका असंख्य सुपुत्री/सुपुत्र वागमती सभ्यताको ठोस र परिणाममुखी सुधारका लागि योगदान गर्न तयार छन्।