Sunday 5 Ashwin, 2071 |
Menu

विचार

ठूला खेतीको विपक्षमा

  • बिहीबार २ जेष्ठ, २०७०
  • जगत देउजा
  • DISQUS_COMMENTS
(0 votes)
नेपालको कृषि क्षेत्रका समस्या अनेकन् छन्। जग्गा टुक्रियो। सिँचाई नहर बनेनन्। कृषि सडक छैन। बजार अव्यवस्थित छ। मलखाद समयमा पाइँदैंन। बिमाको व्यवस्था भएन। प्राविधिक गाउँ बस्दैनन्। युवा विदेशिए। खेतीपाती गर्ने श्रम शक्ति छैन।
जग्गा बाँझै रहन थाल्यो। खेती गर्नेसँग जग्गा छैन। भएकाको थोरै छ। धेरै जग्गा हुने खेती गर्दैनन्। खेती व्यावसायिक भएन। निर्वाहमुखी भयो। अनि यसको समाधान? धेरैले भन्ने गर्छन्– मेसिनरी औजार प्रयोग गरेर ठूला खेती गर्नुपर्छ। तिनलाई लागेको छ– ठूला खेती गरेपछि प्रशस्त खाद्यान्न उत्पादन हुन्छ र यसले सबैलाई रातोपिरो हुनेगरी आहारा खुवाउँछ। 
नीति निर्माण तहमा रहेका धेरैलाई यस्तै लागेको छ। राजनीतिक दल आफ्ना घोषणापत्रमा त्यही लेख्छन्। 'जसको जोत, उसको पोत' भनेर जिन्दगीभर आन्दोलनमा होमिएका पनि अहिले ठूला खेतीको प्रवक्ता बनिरहेका छन्। भन्छन्– जग्गाको चक्लाबन्दी गर्नुपर्छ। अब पुरानो पाराले हँुदैन–व्यावसायिक खेती गर्नुपर्छ। कतिपय साना किसान पनि नबुझेरै व्यावसायिक खेतीको कुरा गर्छन्। यथार्थ भने निर्वाहमुखी खेती पनि धरापमा पर्दैछ। भूसंस्कृति, भूगोल, कृषिको शिक्षा नबुझी एकोहोरो ठूला खेतीको कुरा गरेर समय बर्बाद भइरहेको छ। 
निर्वाहमुखी खेती भनेको के हो? व्यावसायिक भनेको के? कर्पोरेट भन्नाले के बुझ्ने? निर्वाहमुखी भन्दै आएको खेतीपाती निर्वाहमुखी छ कि छैन? किसानले उत्पादन पहिले आफ्ना लागि गर्ने कि बजारको माग पूरा गर्न गर्ने? यावत् अलमल छन्। त्यस्तो खेेतीपातीबाट पर्ने नकरात्मक असरबारे बहस पुगेको छैन। 
चितवनका चेपाङ कम्मरमा डोरी बाँधेर रुखमा अल्झाउँछन् र मुखमा मकै हालेर कोदालोले मकै छर्छन्। पहाडमा गोरुले जोत्न नसकेर खनेर निर्वाह गर्ने कैंयन् क्षेत्र छन्। कतिले बगरमा अस्थायीरूपमा केही न केही फलाएर जीविका धानिरहेका छन्। कुवेतको तेल ल्याएर लगाउने ट्याक्टर किफायती होला कि गोरुले जोत्दा? यो विशिष्ट अवस्थामा ठूला खेती भनेको के हो? 
माघ अन्तिम हप्ता सुनसरीमा मोही सम्मेलन थियो। आसपास जिल्ल्ााका सयौं मोही आए। मोरङका ४ सहभागीले विस्थापनबारे सुनाए। मोरङको डाँगीहाटमा कुनै कम्पनीले व्यावसायिक खेती गर्ने उद्देश्यले जग्गा एकीकरण गरेछ। यस क्रममा मोही लागेको जग्गा कमाएर जीविका चलाउने केही परिवारलाई अन्तै जग्गामा सारियो। यसरी सारिएको जग्गा कमाउनेकै नाममा दर्ता गरिदिने सहमति भयो। तर पहिले छाडेको जग्गामा मोहियानी हक दाबी नगर्ने सर्तमा। अहिले न उनीहरुको नाममा जग्गा दर्ता भयो, न त भनेअनुसार रोजगारी नै दिइयो। यो एउटा सानो उदाहरण हो वञ्चितीकरणको। 'कर्पोरेट फार्मिङ' मा जाँदा सबैले भोग्ने यही नियति हो। 

खेतीपातीमा सुधार आवश्यक छ तर यसको समाधान ठूलो वा कर्पोरेट खेती हैन। किसान नेतृत्वको सामुदायिक र सहकारी पद्दतिले मात्र समाधान पस्कन्छ, जसको व्यवस्थापन व्यवसायिक घरानाले हैन, किसान स्वंयले गर्न सकून्। किसान मिलेर जग्गा वा बालीमा चक्लाबन्दी गरुन्। जहाँ कुनै एउटा ठालु नबनोस्। जहाँ परिवारको श्रमले खेतीपाती हुनसक्छ, त्यहाँ श्रम शोषणको सम्भावना न्युन रहन्छ। अलापिएको ठूलो खेतीले अहिलेका किसानलाई मजदुरमा झार्छ भने उद्योगपति र जमिनदारलाई कम्पनीको मालिकमा उकाल्छ। अहिले पनि व्यावसायिक खेती गर्ने नाममा किसानहरु आफू सुकेर आफ्ना उत्पादन अरुलाई खुवाइरहेका छन्। जसलाई नजरअन्दाज गर्न मिल्दैन। 
आफ्नै श्रमले खेतीपाती गर्ने किसान मिलेर आर्थिक, वातावरणीय र जैविक हिसावले उपयुक्त प्रणालीमा जाने कार्य नै दीर्घकालीन हुन्छ। यसका लागि किसानको सहकारी बनाई वा अन्य उपायबाट खेतीपाती, बजार आदिको सामूहिक व्यवस्थापन गर्न सक्छन्। आ–आफ्नो जग्गामा के खेती गर्ने? कुन फाइदाजनक छ भनेर सल्लाहमार्फत् योजना बनाउन सक्छन्। मल, बीउ एकमुष्ठ खरीद गर्न सक्छन्। बजार त्यसैगरी खोज्न सक्छन्। यस्तो सहकार्यले समाजलाई सहयोगी बनाउँछ। यसको विकल्पमा साना खेती गर्नेको जग्गा लिएर व्यावसायिक घरानाले खेती गर्ने र तिनलाई मजदुर बनाउने कार्य कुनै पनि दृष्टिबाट उचित छैन। यसले आर्थिक वृद्धिमा पनि योगदान दिँदैन। उल्टै असमानता बढाउँछ। कृषक समुदाय कर्पोरेट चाहनाले प्रभावित हँुदै जाने हो भने किसान समुदायको बचे/खुचेको स्रोत पनि फुत्किने निश्चित छ। 
लाग्न सक्छ, अहिलेकै पाराले खेतीपाती गरेर सबै भोकै मर्ने? गरिबीमा बाँचिरहने? अहिलेको उत्पादन र यसले नेपालीको खाद्यान्न परिपूर्तिमा कस्तो मद्दत गरिरहेको छ भन्ने भरपर्दो अध्ययन छैन। त्यसैगरी ठूलो खेतीको योगदान पनि प्रष्ट छैन। बरु सीमित अध्ययनले साना खेतीको उत्पादन दिगो र धेरै देखाएको छ। 
विश्वकै ७० प्रतिशत खाद्यान्न यही साना र पारिवारिक खेतीबाट पूरा हँुदै आएको छ। प्रतिइकाईमा हिसाव गर्दा पनि ठूलो खेतीको भन्दा साना खेतीपातीमै बढी उत्पादन हुन्छ। जहाँ कम ऊर्जा र विषादि एवं रासायनिक मल प्रयोग हुन्छ। यसले जलवायु परिवर्तनको समस्यालाई पनि सम्बोधन गर्न मद्दत गर्छ। ठूलो र कर्पोरेट खेतीमा कुनै पनि हालतमा गोबर मल हालेर खेती सम्भव छैन। यसबाट मानव स्वास्थ्यमा पर्ने असर त बयानसाध्य छैन। विश्वका ४० प्रतिशत परिवार परिवारिक खेती गर्छन्। यो नै अहिलेसम्मको रोजगारीको पनि ठूलो क्षेत्र हो। कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा पुर्याूएको योगदानबाट गरिबी निवारणमा पुगेको सहयोग अरु क्षेत्रको भन्दा दुई गुना बढी पाइएको छ। 

साना र दिगो खेतीपातीका लागि जमिनको पुनर्वितरण हुनैपर्छ। दिगो खेतीपाती भनेको जमिनमा किसानको स्वामित्व कायम गरेर उसलाई जमिनमा आधारित उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आम्दानी बढाउन मद्दत गर्नु हो। जमिन नभएका विपन्न छन् र थोरै जमिन भएका पनि विपन्न छन्। यसका लागि सरकारले किसानमैत्री औजार, प्रविधि, तिनका सहकारी र उचित बजार व्यवस्थापनका क्षेत्रमा लगानी गर्नुपर्छ। खेती नै अरुलाई सुम्पने हैन। यो अहिलेको वैदेशिक, सम्भ्रान्त वर्गको भूमि कब्जाको दाउ असफल गराउन पनि जरुरी छ। ठूलो खेती जैविक विविधता, स्थानीय र मौलिक बीउको संरक्षण अनि वातावरण संरक्षणका लागि पनि बाधक छ। 
वातावरणीय स्वास्थ्य र सामाजिक न्याय हेरेर दिगो र शान्तिपूर्ण समाज चाहने हो भने साना र दिगो किसानी नै एकमात्र उपाय हो। यही चेत खाएर विकसित देशहरु, खासगरी ल्याटिन अमेरिकी देश परिवारिक र खाद्यमुखी खेतीमा फर्किसकेका छन्। वैशाख दोस्रो हप्ता ग्वाटेमालाको एन्टिगुवामा अन्तर्राष्ट्रिय भूमि सञ्जालले विश्व भूमि मञ्च आयोजना गरेको थियो। जहाँ अधिकांश ल्याटिन अमेरिकन मुलुकका किसान नेताले कर्पोरेट खेतीले दिएका दुःख र तिनले गरेका व्यवस्थापन सुन्न पाइयो। ग्वाटेमालाको एउटा गाउँ ललपुटिया य कोनराडोमा त आँखाले नभ्याउने, गाडीको बाटोमा घण्टौं हुइकिँदा पनि केरा, उखु र आँप खेती देखियो। खोइ त किसान? विस्थापित भएर कतै थुप्रिएका रहेछन्। र, गरिबीमा बाँचिरहेका। हिजो जमिनका मालिक आज सक्नेहरु सस्तो श्रममा मजदुर बनेर अरुलाइै धनी बनाइरहेका। सरकारले पनि ठूला कम्पनीको पक्षमा नीति बनाइदिएको छ। किसान विदेशी वा स्वदेशी कम्पनीको उत्पादन हेरेर बाँच्न विवश छन्। जुन खेतीमा बैंकले लगानी गर्छ। खरीद गर्ने कम्पनी अर्कै छ। स्थानीय सरकारको भूमिका भने कम्पनीका खरिदार जस्तो। कर्पोरेट खेतीको बिजोग बुझ्न यही काफी छ।

यहाँ सुकुम्बासी छन्। कृषिश्रमिक छन्। हरुवा छन्। मोही छन्। कमैया, कमलरी र हलिया छन्। साना किसान छन्। जिन्दगीभर माटोमा काम गर्ने मुसहर समुदाय छन्। खोरिया र परम्परागत भूमिमा खेतीपाती गर्ने आदिवासी समुदाय छन्। यिनीहरुको भूमि र कृषि अधिकारको ग्यारेण्टी कसरी गर्ने? र यिनीहरुमा भएको उत्पादनको ज्ञान र कहिल्यै नथाकी काम गर्ने ज्यानलाई कसरी खुसी राख्ने भन्नेचाँहि आजको अहं प्रश्न हुनुपर्छ। दिगो र पारिवारिक खेतीबाटै स्वयं तिनका परिवार, समुदाय र राष्ट्रलाई पुग्ने उत्पादन गर्न सकिन्छ। यसर्थ कृषि क्षेत्रको लगानी किसानलाई बलियो बनाउनमा हुनपर्छ न कि व्यापारिक घरानालाई।