८ वैशाख २०८१ शनिबार
समाज

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

सुर्खेत- सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्। सुर्खेतमा यी मेसिन बिग्रिएको डेढ वर्ष भइसकेको छ। नेपालगन्जको भेरी अञ्चल अस्पतालमा पनि मेसिन बिग्रिएको अवस्था छ।

संक्रमितले सिडिफोर र भाइरसलोड परीक्षण हरेक ६–६ महिनामा गरी शरीरमा रहेको भाइरस र रोग प्रतिरोधात्मक क्षमताका आधारमा औषधि सेवन गर्नुपर्छ। तर, मेसिन बिग्रेका कारण सेवा नपाएपछि आचार्य परीक्षणबिनै घर फर्के।

घाटगाउँकी इसारा नेपाली पनि सिडिफोर र भाइरसलोड परीक्षणका लागि वीरेन्द्रनगर आएको तीन दिन भयो। नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा रहेको मेसिन पनि बिग्रेको थाहा पाएपछि उनी अहिले नवकिरण प्लसको सामुदायिक हेरचाह केन्द्र सुर्खेतमा आश्रय लिइरहेकी छन्। प्रतिरक्षा प्रणाली र भाइरसको संख्या मापन गर्नका लागि दुई दिनको बाटो हिँडेर आएकी उनी शुक्रबार घर फर्कने तयारीमा छिन्। 'सुर्खेतमा मेसिन बिग्रेको धेरै भइसक्यो, नेपालगन्जमा पनि त्यस्तै समस्या छ भन्ने सुने,' उनले भनिन्, 'टाढा जान पैसा छैन, परीक्षण नगरेरै घर फर्कनुपर्ने भयो।'

क्षेत्रीय अस्पताल कालागाउँमा रहेको मेसिन बिग्रँदा सुर्खेतका दुई सय ३४ एचआइभी संक्रमित र नयाँ संक्रमित समस्यामा परेका छन्।

क्षेत्रीय अस्पतालमा सुर्खेतका साथै कर्णाली, दैलेख, जाजरकोट, सल्यान र सुदूरपश्चिमको अछामबाट पनि औषधि सेवन गरिरहेका संक्रमित र नयाँ संक्रमित आउने गर्थे। क्षेत्रीय अस्पतालले बिग्रेको मेसिन बनाउन वा नयाँ पठाइदिनका लागि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा पटक–पटक ताकेता गरिरहेको छ।

'पटक–पटक लिखित र मौखिक आग्रह गर्दा पनि अहिलेसम्म हामीले मेसिन प्राप्त गर्न सकेका छैनौँ,' क्षेत्रीय अस्पताल कालागाउँका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले भने, 'मेसिन नहुँदा यस क्षेत्रका एचआइभी संक्रमित समस्यामा परेका छन्।'

क्षेत्रीय अस्पतालले एचआइभी परीक्षणका लागि आउनेलाई नेपालगन्ज पठाउने गरेको बस्नेतले जनाए। 'त्यहाँ पनि मेसिन बिग्रेको खबर आएको छ, अब संक्रमितलाई कहाँ पठाउने भन्ने समस्यामा छौं,' उनले भने।

परीक्षण नभएपछि इसारा र उपेन्द्रले अब अन्दाजकै भरमा  औषधि सेवन गर्नुपर्ने हुन्छ।

नवकिरण प्लस, सामुदायिक हेरचाह केन्द्रका कार्यक्रम संयोजक देवेन्द्र शर्मा औषधि सेवन गरिरहेका र नयाँ संक्रमितहरू मेसिन बिग्रँदा समस्यामा परेको बताउँछन्। 'नयाँ एचआइभी संक्रमितका लागि एआरभी औषधि प्रयोग गर्न र औषधि सेवन गरिरहेकाको प्रतिरक्षा प्रणाली परीक्षण गर्नका लागि सीडीफोर र भाइरसलोड परीक्षण अनिवार्य गर्नुपर्छ,' उनले भने, 'क्षेत्रीय अस्पतालमा रहेको मेसिन बिग्रँदा यस क्षेत्रका संक्रमित समस्यामा परेका छन्।'

प्रकाशित: १७ मंसिर २०७३ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App