४ वैशाख २०८१ मंगलबार
अर्थ

बारपाकमा ५ जनाको मात्रै बिमा

काठमाडौं- सरकारले जीवन बिमाको महत्व सर्वसाधारणसम्म पुर्‍याउन सकेको छैन भन्ने गतिलो उदाहरण फेला परेको छ। गत वर्ष आएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा त्यसबेला ज्यान गुमाएका ५ जनाको मात्रै बिमा गरिएको तथ्यबाहिर आएपछि जीवन बिमा अभियानमा सरकार असफल भएको पुष्टि भएको हो।

२०७२ वैशाख १२ गते आएको भूकम्पको केन्द्रबिन्दु बारपाकको जनसंख्या ८ हजार ५ सय छ। तीमध्ये भूकम्पमा परेर ७१ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये ५ जनाको मात्रै जीवन बिमा गरिएको तथ्य बिमा समितिले नागरिकलाई उपलब्ध गराएको छ।

'बारपाकमा ५ जनाको मात्रै जीवन बिमा गरिएको रहेछ,' बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बुधबार नागरिकसँग भने, 'त्यति ठूलो जनसंख्यामा ५ जनाको मात्रै बिमा हुनु दुखद विषय हो। यो घटनापछि बिमा कम्पनीहरुले जीवन बिमाबारे आवश्यक प्रचार प्रसार र जनचेतना फैलाउन नसकेको पुष्टि भएको छ।'

बारपाकमा भूकम्पबाट ज्यान गुमाएका ५ जनाको परिवारलाई केसी आफैं त्यही पुगेर जीवन बिमाको रकम हस्तान्तरण गरेका थिए। उनीहरुको परिवारलाई ९ लाख ६३ हजार रुपैयाँ दिइएको केसीले बताए।

गृह मन्त्रालयको तथ्यांक अनुसार वैशाख १२ र २९ गतेको भूकम्पका कारण आठ हजार आठ सय ९० जनाको मृत्यु भएको थियो। भूकम्पमा परेर ज्यान गुमाउने व्यक्तिको परिवारले बिमा रकमको दाबी भुक्तानीका लागि विभिन्न जीवन बिमा कम्पनीहरुमा तीन सय ६७ दाबीका निवेदन परेका थिए। यसले पनि पुष्टि गर्छ कि बिमा गर्ने कति छन्।

दाबी भुक्तानीका लागि निवेदन दिएकामध्ये ३ सय ४९ मृतकका परिवारले रकम बुझेको बिमा समितिको पछिल्लो तथ्यांकले देखाएको छ। 'दाबी भुक्तानीका लागि निवेदन दिएकामध्ये करिब ९५ प्रतिशतको बिमा रकम भुक्तानी भइसकेको छ,' केसीले भने, 'दाबी भुक्तानीका लागि निवेदन दिएका केही मृतकका परिवार सम्पर्कमा नआएकोले रकम भुक्तानी गर्न समस्या आएको छ।'

अहिलेसम्म करिब १२ प्रतिशत जनताले मात्रै जीवन बिमा गरेका बिमा समितिको भनाइ छ। एक व्यक्तिले दुई वा तीन कम्पनीमा बिमा गराउने गरेकाले पनि त्यो भन्दा अझै कमले जीवन बिमा गरेको अनुमान गरिएको छ।

अझै पनि ९२ प्रतिशत नेपालीले बिमा गरेका छैनन्। जीवन बिमा कम्पनीहरुको सेवा जोड्दा त्यति प्रतिशत जनतामाझ अझै बिमा पुग्न नसकेको देखिएको हो।

जीवन बिमा कम्पनीहरुले बिक्री गरेको बिमालेख (पोलिसी) का आधारमा १२ प्रतिशत जनतामाझ मात्र बिमा पुगेको देखिन्छ। एक व्यक्तिले एउटामात्र बिमा गरेको आधारमा यो तथ्यांक निकालिएको बिमा समितिका एक अधिकारीले बताए। 'एकजनाले दुईवटा भन्दा बढी बिमासमेत गरेकाले अझै बढी जनतामाझ बिमा नपुगेको स्पष्ट हुन्छ,' उनले भने, 'यसले बिमाको पँहुच विस्तार हुन सक्ने प्रशस्त सम्भावना छ।'

विकसित मुलुकमा ९८ प्रतिशतसम्म मानिसले बिमा गरेको जानाकार बताउँछन्। ती देशको बिमाको इतिहास डेढ सय वर्ष पुगिसकेको छ।

सरकारी स्तरबाट स्थापना भएको जीवन बिमा कम्पनीले आधा शताब्दी अघिदेखि नै बिमा गराउन थालेको थियो। निजी क्षेत्रबाट स्थापित कम्पनीले बिमा गराउन थालेको पनि डेढ दशक भएको छ। तर, तिनीहरुको पहुँच अधिकांश नागरिकसँग पुग्न सकेको छैन। मुलुकभर नौवटा जीवन बिमा कम्पनीले  बिमा गराउँदै आएका छन्।

सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनिवार्य रुपमा बिमा गर्नुपर्ने प्रावधान ल्याएपछि बिमा गर्नेको संख्या बढेको विज्ञहरुको भनाइ छ। 'वैदेशिक रोजगारीमा जाने व्यक्तिको अनिवार्य बिमालाई गणना नगर्ने हो भने ज्यादै न्यून प्रतिशत नेपालीले मात्र बिमा गरेको पुष्टि हुन्छ,' उनले भने, 'सरकारले विगत ७–८ अघिदेखि नै वैदेशिक रोजगारमा जाने व्यक्तिले अनिवार्य बिमा गर्नुपर्ने प्रावधानले बिमा गर्नेको संख्या ह्वात्तै बढेको हो।'

ग्रामीण क्षेत्रमा बिमा गर्नेहरु ज्यादै कम भएको कम्पनीहरुले बिक्री गरेको बिमालेख (पोलिसी) का आधारबाट प्रस्ट हुन्छ।  ग्रामीण क्षेत्रमा जीवन बिमा गराउने कम्पनी पुग्न सकेका छैनन्। भौगोलिक अवस्थाले गर्दा पनि बिमाको पहुँच बढाउन बाधा पुगेको विज्ञहरुको भनाइ छ।

जीवन बिमा गर्नेको संख्या बढ्दै गएको बेला गत वैशाख १२ र २९ गते गएको भूकम्प, बन्द–हडताल र नाकाबन्दीको असर यस क्षेत्रमा पर्न गएको उनीहरुको भनाइ छ।

कुल जनसंख्याको आधाभन्दा बढीले नियमित आम्दानी गर्ने अवसर प्राप्त नगरेका कारण मुलुकको ग्रामीण क्षेत्रमा बिमाको पहुँच विस्तार हुन नसकेको बताइएको छ। बिमा क्षेत्रको विस्तार गर्ने हो भने जीवन बिमाबारे आवश्यक प्रचारप्रसार र जनचेतना फैलाउन सक्नुपर्छ। साथै जनताको आयस्तर पनि बढाउन सक्नुपर्ने विज्ञहरुको  सुझाव छ।

प्रकाशित: १६ असार २०७३ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App