६ वैशाख २०८१ बिहीबार
राजनीति

‘अघिल्लो सरकारले गरेका सम्झौताका कारण एकमुष्ठ रकम दिन अप्ठ्यारो’ (भिडियो)

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौताका कारण नै अहिले कांग्रेसले उठाइरहेका माग पूरा गर्न अप्ठ्यारो परेको बताएका छन्। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौता यो सरकारले कानुन जतिकै पालना गर्नुपर्ने हुँदा एकमुष्ट रकम प्रदान गर्न असहज भएको उल्लेख गरे।
‘भूकम्पको पीडामा परेका जनताप्रति अत्यन्त सम्वेदनशील छ। कसरी पीडितलाई सहयोग उपलब्ध गराउन सकिन्छ दत्तचित्त छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका निम्ति विश्व बैंकसँग भएका सम्झौता कानुन सरह हुन्छन् त्यसलाई हामी उल्लंघन गर्न सक्दैनौं। अघिल्लो सरकारको समयमा त्यस्ता सम्झौता भएका छन्।’
अघिल्लो सरकारले दातृ निकायसँग पहिला सबै लाभग्राहीहरुको सर्भे तयार पारेपछि मात्र सहयोग रकम दिन पाइने सम्झौता गरेको उनले बताए। ‘सबै विवरण लिन सजिलो त छैन नि। हिमालको फेदफेदमा पीडित छन् त्यहाँ पुग्न बाटो समेत छैन। त्यही पनि सरकारले तदारुकतासाथ काम गरिरहेको छ’, उनले भने।
भूकम्पपीडितका लागि सरकारले सामुहिक आवासको काम समेत अघि बढाइरहेको प्रधानमन्त्रीले उल्लेख गरे। सामुहिक आवास नेपाली सेनाले निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको उनले जनाए।
भूकम्पपीडितलाई एकमुष्ठ दुई लाख रुपैयाँ नगद दिनुपर्ने माग गर्दै प्रमुख विपक्षी कांग्रेसले सदन अवरुद्ध पार्दै आइरहेको छ। सो विषयमा सहमति खोज्न मुख्य चार दलले एक कार्यदल गठन गरी प्रयास जारी राखेका छन्।

 

प्रकाशित: १४ असार २०७३ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App