८ वैशाख २०८१ शनिबार
विचार

उत्ताउलो सेयर बजार

सेयर बजारको मापक नेप्से सोमबार १,७०० अंक सजिलै पार गर्दै १७२१.७७ अंकमा पुगेको छ। बजारमा एकै दिन ३६.६० अंकको वृद्धि भएर बजारले ऐतिहासिक उचाइ प्राप्त गरेको हो। साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक १८.८८ अंकले बढेको थियो। दुई दिनमै परिसूचक ५५.४८ बिन्दुले बढ्दा लगानीकर्ता उत्साहित हुनु  स्वाभाविक हो। पछिल्ला महिना सेयरको लगातार बढ्दो उचाइले लगानीकर्ता बजारमा झुम्मिएका छन्। दिनमा जम्मा ३ घन्टा समय तथा आफ्नो थोरैतिनो पुँजी लगानी गरेर राम्रै फाइदा पाइने पुँजीवादी अर्थतन्त्रको एक औजार सेयर बजारले नेपाली लगानीकर्तालाई राम्रै प्रतिफल पनि दिइरहेको छ। बजार बढ्दा लगानीकर्ता हौसिएर लगानी गर्ने हुनाले पछिल्लो समय सेयर बजारले प्रत्येक दिन विभिन्न कीर्तिमान बनाउँदै गइरहेको छ। तर, बजारमा सबैलाई सेयरबारे सबै प्राविधिक पक्ष थाहा नहुने भएकाले हल्लाको भरमा भन्दा पनि विश्लेषणका आधारमा लगानी गर्नेले बढ्दो तथा घट्दो दुवै बजारमा कमाउन सक्छ। तर, प्राप्त सूचनाको राम्ररी प्राविधिक विश्लेषण नगरी धेरै हल्लाको पछाडि लागेका कारण सेयर बजारमा धेरै नेपाली यसअघि २०६४ सालमा डुबेका पनि छन्। तसर्थ बजार किन बढिरहेको छ, बढ्ने आधार उचित छन् कि छैनन्, कस्तो कम्पनीमा लगानी गर्दा दीर्घकालमा र कस्तो कम्पनीमा लगानी गर्दा अल्पकालमा फाइदा हुन्छजस्ता पक्ष राम्ररी बुझेर लगानी गर्नेले कमाएका प्रशस्त उदाहरण पनि बजारमा छन्।

आफ्नो स–सानो पुँजी लगानी गरेर निश्चित आम्दानी–वर्गका नागरिकले फाइदा लिन सक्ने पुँजी बजारलाई बैंक तथा वित्तीय संस्था विशेषतः वाणिज्य बैंक, बिमा र जलविद्युत् कम्पनीका सेयरले बढाइरहेका छन्। त्यसमाथि पछिल्लो समय प्राविधिक रूपमा अभौतिक सेयर प्रमाणपत्र कारोबार भएका कारण बजारमा कारोबार रकमले पनि कीर्तिमान राखेको छ। पछिल्ला केही सातायता प्रत्येक दिनजसो एक अर्बभन्दा बढी कारोबार हुनुलाई लगानीकर्तामा बजारप्रतिको विश्वासका रूपमा पनि लिन सकिन्छ। त्यसमाथि पनि चालू आर्थिक वर्षको अन्त्य हुन लागेको र ३–४ महिनाभित्र बैंकले लाभांश वितरण गर्ने भएकाले पनि लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका हुन्। प्रायः साउनमा बैंकहरूको वित्तीय विवरण आउने र उनीहरूको नाफा बढ्ने अपेक्षा लगानीकर्ताले गरेका कारण पनि सेयर मूल्य बढेको छ। सामान्यतया वैशाखदेखि असार मसान्तसम्म सेयर मूल्य बढ्छ। यो समयको वृद्धि कम्पनीको प्रगतिभन्दा पनि बजार मागमा आधारित हुन्छ। बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत आगामी दुई वर्षभित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बनाउनुपर्ने प्रावधान ल्याएको थियो। विकास बैंक र वित्तीय संस्थाले पनि चुक्ता पुँजी बढाउनुपर्नेछ। त्यो आवश्यकता पूरा गर्न वाणिज्य बैंकले धमाधम हकप्रद र बोनस सेयर दिइरहेका छन्। तोकिएको चुक्ता पुँजी पुर्‍याउन उनीहरूले हकप्रद सेयर जारी गर्ने योजना पनि अघि सारेका छन्। यसरी बोनस र हकप्रद सेयरबाट लगानीकर्तालाई नगद लाभांशबाटभन्दा बढी फाइदा हुन्छ। नगद लाभांश पाउँदा पनि हालको बैंक ब्याजभन्दा बढी हुने हुँदा लगानीकर्ता सेयर बजारमा बढी हौसिएका हुन्। बैंकिङ प्रणालीमा थुप्रिएको तरलताका कारण ब्याजदर घटेकाले पनि कर्जा लिएर सेयर किन्ने प्रवृत्ति पछिल्लो समय बढेको छ। यसै कारण पनि सेयरको मूल्य बढेको हो।

यस्तै बढ्दो बजारमा केही लगानीकर्ता छोटो समयमा नाफा लिन उत्साहित हुने हुँंदा पछिल्ला साता सेयर बजार आकासिएको हो। यसपटक बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिएको र अन्य सुरक्षित लगानीको वैकल्पिक क्षेत्र उपलब्ध नभएकाले लगानीकर्ता सेयर बजारमा आकर्षित भएका छन्। ठूला व्यवसायीदेखि साना लगानीकर्तासम्मले बजारमा लगानी गरेका छन्। भूकम्प र नाकाबन्दीको असरले थोरैदेखि धेरै पैसा भएकासम्मलाई लगानीको विकल्प नहुँदा सबै पैसा सेयर बजारमा गएको अनुमान पनि गरिएको छ। तर, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड दुवैले लगानीकर्तालाई संयम भएर लगानी गर्न आह्वान गरेका छन्। सम्बन्धित कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेर मात्र सेयरमा लगानी गर्नु लगानीकर्ताको हितमा छ। मुलुकको आर्थिक गतिविधि तथा नीतिनियमले कम्पनीको क्रियाकलापमा प्रभाव पार्ने हुँदा यसले कम्पनीको सेयर मूल्यमा पार्न सक्ने प्रभावलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्छ। त्यसैले लगानीसम्बन्धी निर्णय गर्दा प्राविधिक विश्लेषणका साथै आधारभूत विश्लेषण नगर्दा जोखिम धेरै हुन्छ। तर, प्राविधिक विश्लेषणका साथै आधारभूत विश्लेषण गरेर गरिएको लगानी सुरक्षित हुन्छ।

प्रकाशित: १४ असार २०७३ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App