७ वैशाख २०८१ शुक्रबार
खेल

टिमोरसँग कमजोरी छताछुल्ल

काठमाडौं–गत वर्ष नेपाली टोलीका लागि सफलताको वर्ष रह्यो । भदौमा साफ यु–१९ उपाधि जितेको नेपालले माघमा बंगबन्धु गोल्डकप हुँदै फागुनमा दक्षिण एसियाली खेलकुद (साग) मा यु–२३ फुटबलमा स्वर्ण पदक जित्यो । धेरैलाई लाग्थ्यो नेपाली फुटबलको सुखद दिन सुरु भयो । तर मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो खेलमा नेपाली टोलीको कमजोरी फेरि छताछुल्ल भएको छ ।

पाँच वर्षअघि आफ्नै भूमि काठमाडौंमा विश्वकप छनोटमा टिमोर लिस्टेविरुद्ध धाक जमाएको नेपाली टोली शनिबार त्यही टोलीसँग भिड्दा निकै संघर्ष गर्नुपर्ने अवस्थामा पुग्यो, खेलभर गोलका लागि तड्पिनुप¥यो । नजिता रह्यो गोलरहित बराबरी । नेपालले गोलका लागि तड्पिनुपरेको यो पहिलो खेल भने होइन । विगतमा १३ खेलसम्म पनि नेपाल गोलविहीन भएको इतिहास छ । बंगबन्धु र सागमा भने नेपाली टोली गोलका लागि धेरै तड्पिनुपरेको थिएन ।

इतिहास आधार मान्दा नेपालले टिमोर लिस्टेलाई सहजै हराउने अनुमान थियो । तर इतिहासबाट वर्तमानमा आइपुग्दा नेपाली टोलीमा ठूलो परिवर्तन भएन, टिमोर लिस्टेको प्रगति भने हेर्नलायकको बनेको छ । यद्यपि टिमोर लिस्टेले पहिलो खेलको नतिजा भने ब्रुनाईलाई ४–० ले सुम्पेको थियो । त्यो नतिजाले पनि शनिबारको खेलका लागि नेपाललाई उत्साही बनाएकै हुनुपर्छ । तर नेपाली टोली पहिलो खेलको नतिजा फाइदा उठाउन असफल रह्यो । टिमोर लिस्टेलाई हराउन सकेको भने नेपाली टोली सेमिफाइनल पुथ्यो र ब्रुनाईसँग खेल्दा दबाबरहित हुन्थ्यो । अब परिस्थिति बदलिएको छ ।

समूह चरणको अन्तिम खेल नेपालका लागि हार्न नहुने अवस्थामा पुगेको छ । यद्यपि ब्रुनाईसँग हार्दा पनि नेपाली टोली सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । त्यसको एकमात्र कारण टिमोर लिस्टेको पहिलो खेलको ४–० को हार हो । ब्रुनाईले टिमोर लिस्टेलाई भन्दा बढी गोल अन्तरले हराएको खण्डमा मात्र नेपाल प्रतियोगिताबाट बाहिरिन्छ । अन्थया नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहन्छ ।

ब्रुनाई ३ अंकसहित समूहको शीर्षस्थानमा छ भने समान १ अंक भएका नेपाल दोस्रो र टिमोर लिस्टे तेस्रो स्थानमा छन् । ब्रुनाईले सेमिफाइनलमा स्थान सुरक्षित पारिसकेकेको छ । नेपाल अघि बढ्नेमा आफ्नै हातमा छ भने टिमोर लिस्टेले मंगलबारको नतिजा आफूअनुकूल निस्केमा मात्र सेमिफाइनल पुग्ने सम्भावना छ । ३ गोलको अन्तरमा पराजित हुँदासम्म नेपाल सेमिफाइनल पुग्नेछ ।

पटकपटकको मौका खेल फाल्दा नेपालले निराशाजनक बराबरीमा चित्त बुझाउनुप¥यो । त्यस बावजुद पनि नेपाली टोलीका जापानी मुख्य प्रशिक्षक ग्याटुको कोजीले खेलाडीको बचाउ  गरेका छन् । ‘लामो समय कृत्रिम मैदानमा अभ्यास गरेर यहाँ प्राकृतिक मैदानमा खेल्न कठिन भयो,’ खेलपछि उनले भने, ‘यहाँको आद्र्रताका बावजुद हामीले दोस्रो हाफमा राम्रो खेल्यौं । यसलाई नकारात्मक नतिजा भन्न मिल्दैन ।’

कोजीले टोलीका स्ट्राइकरलाई मात्र दोष दिन उचित ठानेनन् । फिनिसिङमा स्ट्राइकरहरू कमजोर देखिए नी भन्ने प्रश्नमा कोजीको जवाफ थियो, ‘स्ट्राइकरमा मात्र होइन, मिडफिल्डमा पनि समस्या देखियो । टाढा टाढाबाट प्रहार गर्नु हाम्रो समस्या रह्यो ।’ नेपालको दुईपटकको आक्रमण पोस्टमा लागेर फर्केको थियो । ४७ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार र ६८ औं मिनेटमा अन्जन विष्टको क्रसमा अनन्त तामाङको हेड क्रसबारमा ठोक्किएको थियो । त्यस्तै ८१ औं मिनेटमा भरत खवासको प्रहार पोस्टको अलि टाढाबाट बाहिरिँदा नेपालले गोलको अर्को अवसर गुमायो । ८७ औं मिनेटमा हेमन गुरुङ प्रहार पोस्ट नजिकबाटै बाहिरियो । पहिलो हाफमा विक्रम लामाको प्रहार विपक्षी गोलकिपरले रोकेका थिए ।  

प्रशिक्षक कोजीले पहिलो खेलको कमजोरी सुधार्ने गरी टोलीलाई तयार पार्ने बताए । ‘दोस्रो खेलमा सकारात्मक सोचसाथ उत्रनुपर्छ,’ उनले थपे, ‘म त्यहीअनुसार खेलाडीलाई निर्देशन दिनेछु । सुटिङ र लामो रेन्जमा हामीले सुधार गर्न आवश्यक छ । मसँग त्यो योजना रहनेछु । हामीसँग अर्को खेलका लागि अब दुई दिनमात्र बाँकी छ, तर हामी राम्रो गर्न सक्छौं भन्ने आशा राखौं ।’

टिमोर लिस्टेका प्रशिक्षक फाबियो डा सिल्भाले नेपालसँगको खेल पहिलो खेलको तुलनामा फरक हुनेमा आफू पहिल्यै विश्वस्त रहेको स्मरण गराए । शनिबारको नतिजापछि उनले भने, ‘तर हामी छनोट हुन कठिन छ । अब अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ । पहिलो खेलले नै हाम्रो भाग्य बदलिदियो ।’
टिमोर लिस्टेविरुद्ध नेपाली टोली – किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट (७७, अनिल गुरुङ), सुजल श्रेष्ठ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ (६१, भरत खवास) ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App