७ वैशाख २०८१ शुक्रबार
विचार

मुखर्जी भ्रमणले कोर्ने मार्गचित्र

झुकेर हात फैलाउँदै पाइला सार्न इशारा गरिरहेका प्रणव मुखर्जी, उत्साहका साथ पाइला सारिरहेकी सहाना प्रधान अनि वरपरका भारतीय अधिकारी सबै घुँडा खुम्च्याउँदै झुकेको दृश्य। सन् २००७ को डिसेम्बरमा सहाना प्रधान उपप्रधान तथा परराष्ट्र मन्त्रीको हैसियतले भारत भ्रमण गर्दा भारतीय पक्षबाट भएको स्वागतको अन्तर्राष्ट्रिय चर्चा पाएको चर्चित तस्बिर थियो त्यो जतिबेला मुखर्जी विदेश मन्त्री थिए। भद्र अनि शालिन स्वभावका परिचय बनाएका होचो कदका उचो व्यक्तित्व मुखर्जीको कूटनीतिक विशेषता हो यो। विदेशी समकक्षी र मित्रहरूको सम्मानमा खुबै ध्यान दिने मुखर्जीको शैली विगतका व्यवहारबाट देखिन्छन्। बंगाली मूलका विद्वान् मुखर्जीले विदेश मन्त्रीका रूपमा कहिल्यै उत्तेजित बोली बोलेनन्। वित्त मन्त्री हुँदासमेत विवादमा परेनन्। परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्दै दक्षिण एशियाका नेतामध्ये नयाँ उचाइ बनाए। छिमेकीसँगको सम्बन्धलाई व्यावहारिकरूपमा प्राथमिकतामा राखेर व्यक्तिगत सम्बन्धसमेत गाँसे। त्यसैले नेपालका गनेचुनेका नेताहरूसँग उनको व्यक्तिगत सम्बन्ध सुमधुर छ। भारतको राष्ट्रपति भइकन पनि नेपाली नेताहरूसँग सहज भेट गर्ने इच्छा राख्छन् मुखर्जी। त्यसैले होला राष्ट्रपति निर्वाचित भएर मुखर्जी राष्ट्रपति भवनमा प्रवेश गरेलगत्तै भेट पाउने विदेशी नेताहरूमा केपी शर्मा ओली पहिलो नम्बरमा परे। प्रधान मन्त्रीका रूपमा भारत भ्रमण गर्दा ओलीले राष्ट्रपति भवनमा आतिथ्यता पाए। प्रचण्डले पनि सोहीअनुरूपको आतिथ्य पाए। यी आतिथ्यहरूमा मुखर्जीसँगको नेताहरूको निकट सम्बन्धले समेत भूमिका खेल्यो।

मुखर्जीको भ्रमणले द्विपक्षीय सम्बन्धमा कायापलट भइहाल्ने होइन। नयाँ गतिचाहिँ विकास हुन्छ। नेपालको आन्तरिक राजनीतिक समस्या समाधान पनि भइहाल्दैन। समस्या समाधानका पहलले द्रुत गति भने लिन सक्छ।

अहिले मुखर्जी राष्ट्रपतिका रूपमा नेपाल भ्रमण गर्दैछन्। भारतीय राष्ट्राध्यक्षको भ्रमणमा सम्बन्ध सुधारको सन्देशको उद्देश्य देखिन्छ। भ्रमणमा कुनै ठूलो सन्धि सम्झौता हुने पनि होइन। यसले द्विपक्षीय सम्बन्धमा रहेका समस्या हल गर्न ठूलो सहमति बन्ने पनि होइन। यसले दुवै पक्षको उच्चस्तरको भेटघाट र मन माझ्ने कार्यलाई चाहिँ बल पुर्‍याउन सक्छ। धेरैपछि भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउनुले विशेष महत्व राख्छ। त्यसमाथि, नेपालबारे गहिरो जानकारी राख्ने र नेपाली नेताहरूसँग सिधा सम्बन्ध बनाएका मुखर्जीले हित्तचित्त मिलाउने गरी कुराकानी गर्न सक्छन्। असन्तुष्ट बनेकाहरूको चित्त नबुझेको विषयसमेत सिधा भेटमा सुन्ने र बुझ्ने कोशिश गर्न सक्छन्। यसले द्विपक्षीय सम्बन्धको समस्याबारे भारतीय उच्च तहलाई सिधा जानकारी मिल्नसक्छ।

सम्बन्ध सुधारको गति

संविधान निर्माण र त्यसपछिको नाकाबन्दीयता चिसिएको नेपाल र भारतबीचको सम्बन्ध अझै पूर्व अवस्थामा आएको छैन। दुवै देशका नेताले सम्बन्ध सही मार्गमा आइसकेको भने पनि समस्या अझै छन्। भारतले नयाँ संविधानको स्वागत गरेको छैन। नेपाली पक्षको अहिलेको प्राथमिक चाहना स्वागत नै हो। केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रधान मन्त्रीका रूपमा भारत भ्रमण गरेर स्वागतको पहल गरे पनि हुन सकेन। ओलीको पालामा दुवै देशका प्रधान मन्त्रीहरूद्वारा हस्ताक्षर गरिएको संयुक्त विज्ञप्तिसमेत आएन। अर्कोतर्फ, भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सहयोग र त्यसको कार्यान्वयनको विषय महत्वपूर्ण छ। नेपालमा विद्यमान राजनीतिक अन्योलता र अस्थिरताको कारकमध्येमा भारतीय पक्षलाई आरोप लाग्ने गर्छ। त्यसमाथि पनि मधेसको समस्यादेखि आन्तरिक राजनीतिक खिचातानीमा भारतको भूमिकामाथि प्रश्न उठाउनेहरूको कमी छैन। यतिसम्म कि अख्तियार आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिदेखि पछिल्लो समयमा चर्चामा रहेको महाभियोगको विषयमा समेत भारतीय भूमिकाबारे टिकाटिप्पणी भइरहेछ। यस्ता विषयले भारतीय पक्षलाई विवादित बनाउने गरेको छ। आन्तरिक मामलामा भारतले ठाडो हस्तक्षेप गरेको सन्देशहरू प्रवाह गरिएका छन्। भारतले सडक, विद्यालय, अस्पताल, छात्रवृत्तिलगायत भौतिक पूर्वाधारको विकासमा गरेको सहयोगदेखि मानवीय विपत्तिमा गरेको सहयोगसमेत ओझेलमा पार्न आन्तरिक मामलामा देखिने गरेको कतिपय विवादास्पद भूमिका पर्याप्त छ। यसले भारतप्रति नेपाली जनतामा समेत नकारात्मक धारणा बढ्ने गर्छ। गत वर्षका घटनाले समस्या ल्याए पनि पछिल्लो समय सुध्रँदै गरेको सम्बन्धमा नयाँ समस्याले अवरोध सिर्जना भइरहेछ। सम्बन्धमा आएको समस्यामा नेपाल र भारत दुवै पक्ष उत्तिकै जिम्मेवार छन्। भारतीय पक्षले चाल्नुपर्ने उपयुक्त कदम चालेन।

अर्कोतर्फ, तीनतर्फ भूगोल जोडिएको छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने यथार्थ बुझेर पनि अपरिपक्व कूटनीतिक अक्षमता प्रदर्शन गर्ने नेताहरूको उत्तिकै दोष छ। विदेश सम्बन्ध र कूटनीतिक पहलकदमीहरूमा ल्याउन नहुने कतिपय विषयसमेत सार्वजनिक गरेर समस्या खडा गर्ने नेताहरूको कमी छैन। प्रधान मन्त्री प्रचण्डसँग चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको गोवामा संयोगले भएको भनिएको त्रिपक्षीय भेटको खुलासा विवादमा आयो। भारतीय विदेश मन्त्रालयले 'त्रिपक्षीय भेटवार्ता' को खुलासाप्रति असन्तुष्टि व्यक्त गर्ने शैलीले विज्ञप्ति जारी गर्‍यो। संवेदनशील कूटनीतिक घटनालाई हल्का ढंगले प्रस्तुत गर्नुले नेताहरूको विश्वसनीयतामा प्रश्न उठ्नसक्छ। यस्ता भूमिका र घटनाक्रमले सम्बन्ध सुधारको गतिमा अवरोध आउने प्रतिक्रिया जन्मन सक्छन्।

द्विपक्षीय पहल

भारतीय राष्ट्रपतिको भ्रमण सम्बन्ध सुधारको पहलको एउटा गतिलो पाइला हुनसक्छ। केपी ओली प्रधान मन्त्री हुँदा राष्ट्रपति विद्या भण्डारीले गर्ने भनिएको भारत भ्रमण स्थगित हुँदा सम्बन्धमा अर्को समस्या खडा भयो। अहिले भारतीय पक्षबाट हुन लागेको भ्रमणले सम्बन्ध सुधारमा उसकै पहल देखिँदैछ। नेपालसँगको सम्बन्ध ब्रिगँदा पाकिस्तानले समेत भन्ने ठाउँ पायो। अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतमाथि आफ्नै सबैभन्दा निकट छिमेकीलाई नकारात्मक व्यवहार देखाएको सन्देश प्रवाह भयो। त्यसैले अहिले नेपालसँगको सम्बन्ध सुधार भारतका लागि निकै आवश्यक देखिँदैछ। त्यसैले उसले चौतर्फी पहल गरिरहेछ। मुखर्जीको भ्रमणको अवसर पारेर भारतीय जनता पार्टीका नेता राममाधव प्रमुख रहेको इन्डिया फाउन्डेसनको आयोजना नेपालस्थित नीति अनुसन्धान प्रतिष्ठान र नेपाल सेन्टर फर कन्टेम्पररी इस्टडिजको सहआयोजनामा दुवै देशका लब्धप्रतिष्ठित बुद्धिजीवी भेला गरेर सेमिनार आयोजना हुँदैछ। नेपाल र भारतको विभिन्न क्षेत्रका जानकार र अनुभवीले सम्बन्ध सुमधुर बनाउने र द्विपक्षीय हितमा सुझाव पुग्ने तर्क राख्ने अपेक्षा गरिएको छ। सम्बन्धमा समस्या आएपछि सुधारका लागि जनस्तरसम्म सकारात्मक सन्देश पुग्ने गरी छलफल चलाउने योजना भारतीय राजदूत रणजीत रेले केही महिनाअगाडि सुनाएका थिए। जुन सम्बन्ध सुधारमा सकारात्मक पाइला सावित हुँदैछ।

सम्बन्धबाट अपेक्षा

नेपाल र भारतबीचको सम्बन्धले दुवै देशलाई जति लाभ मिल्नुपर्ने हो मिलिरहेको छैन। आपसी समन्वय गरी स्रोत र साधनको सही सदुपयोग गरी आर्थिक वृद्धि र मानव विकासको स्तर बढाउने अवसर प्रशस्त छन्। नेपालको प्राकृतिक स्रोत साधनको उचित प्रयोगले नेपाललाई मात्र नभई भारतलाई समेत लाभ पुग्छ। नेपाल भारतका लागि सुरक्षित बजार हो। अर्कोतर्फ भारतीय लगानीकर्ताका लागि नेपाल उपयुक्त आर्थिक सम्भावनाको स्थल हो। बाबा रामदेवसम्बद्ध पतञ्जलीले नेपालमा पाएको बजार र उसले नेपालमै सुरू गर्न लागेको उत्पादन एउटा गतिलो उदाहरण हो। नेपाल भारतीय पर्यटकको प्राथमिक गन्तव्यस्थल हो। भारतीयहरूको धार्मिक पर्यटनको विदेश गन्तव्यमा नेपाल पहिलो स्थानमा पर्छ। पर्यटन र लगानीका क्षेत्रहरूबाट लाभ लिनका लागि नेपालमा राजनीतिक स्थायित्व र शान्ति अनिवार्य छ। नेपालको आन्तरिक राजनीतिक किचलो र अन्योलताले भारतलाई पनि उत्तिकै नोक्सान छ।

भारतीय लगानीका जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसक्नु र अन्य उद्योगधन्दामा लगानी जोखिममा पर्नुमा राजनीतिक अस्थिरता मुख्य कारण बनेको छ। यी विषयबारे भारतीय अधिकारीहरू पक्कै जानकार होलान्। तैपनि माओवादी द्वन्द्व अन्त्य गर्दै शान्ति प्रक्रियालाई अहिलेको अवस्थासम्म पुर्‍याउन सफल भूमिका खेल्न सकेको भारत नेपालमा उठेका जातीय, क्षेत्रीयलगायतको नयाँ नयाँ द्वन्द्वको समाधानमा सहयोगी बन्न सकिरहेको छैन। हुन त नेपालीको समस्या नेपालीले नै समाधान गर्ने हो तर क्षेत्रीय शक्ति हुनाको साथै नेपालसँग निकै निकटतम सम्बन्ध रहेको भारत नेपालमा बढ्न सक्ने संकट र समस्या समाधानमा भूमिकाविहीन मान्न सकिँदैन। भारत जुनरूपमा प्रस्तुत हुनुपर्ने हो तद्नुरूप नभएकाले समस्या गहिरिएको त होइन? नेपालको आन्तरिक द्वन्द्वको व्यवस्थापनमा भारतीय सद्भाव र सहयोग अपरिहार्य छ।

मुखर्जीको भ्रमणले द्विपक्षीय सम्बन्धमा कायापलट भइहाल्ने होइन। नयाँ गतिचाहिँ विकास हुन्छ। नेपालको आन्तरिक राजनीतिक समस्या समाधान पनि भइहाल्दैन। समस्या समाधानका पहलले द्रुत गति भने लिन सक्छ। भारतीय पक्षले नेपाल मामलामा निकै गम्भीरता देखाएको सन्देश दिन खोजेको छ। भारतीय पक्ष जिम्मेवाररूपमा अगाडि बढ्न खोजेको हो भने नेपाली पक्षले अवसर गुम्न दिनुहुँदैन। विगतका तीतो अनुभवबाट पाठ सिकेर छिमेकीको सद्भाव र सहयोगबाट शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि नयाँ सम्भावनाको खोजी गर्नुपर्छ। आफू झुकेर भए पनि राष्ट्रिय स्वार्थ झुक्न नदिने मुखर्जी जस्ता नेताको सफल कूटनीति गतिलो पाठ हो। नेपाल भ्रमणका बखत पनि उनले फलेको वृक्ष झुक्ने शैली प्रदर्शन गर्न सक्छन्। हामीले हाम्रो राष्ट्रिय स्वार्थको हित र छिमेकीसँगको सम्बन्धबाट दूरगामी लाभ लिनका लागि आफूलाई जुन तरिकामा ढाल्नुपर्ने हो, ढाल्नुपर्छ। मुखर्जीको भ्रमण सम्बन्ध सुदृढ बनाउने र त्यसबाट लाभ लिने नयाँ विन्दु बन्नसक्छ। दुवै देशबाट तत्परता बढेको छ। यसबाट नेपालले समृद्धि, शान्ति र स्थायित्व हासिल गर्ने मार्गचित्र कोर्ने अवसर बन्न सक्छ।

प्रकाशित: १२ कार्तिक २०७३ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App