coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले आज पनि सदन अबरोध गर्ने

नयाँ बानेश्वरमा जारी संसदीय दलकाे बैठकमा सहभागी कांग्रेस सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि व्यवस्थापिका संसद बैठक अबरोध गर्ने तयारी गरेको छ। सरकारले आफूहरुसँग कुनै छलफल नगरेको भन्दै कांग्रेसले माग सम्बोधन नभएसम्म संसद चल्न नदिने रणनीति बनाएको हो।
संसद भवन नयाँ बानेश्वरमा  जारी कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले सरकारको चर्को आलोचना गर्दै सरकारले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिन सरकारी प्रतिबद्धता नआएसम्म संसद चल्न दिन नहुने बताएका छन्।

बैठकमा सांसद रामशरण महतले कांग्रेस नेतृत्वको सरकारको पालमा दातृ निकायले भूकम्प पीडितलाई चार किस्तामा एकवर्षभित्र दुई लाख रुपैयाँ दिने गरी सहयोग गरेको भन्दै एकवर्ष वितिसक्दा पनि सरकारले सोही निर्णयलाई निरन्तरता दिएको भन्दै आपत्ति जनाए।
सांसद रामहरि खतिवडाले सरकारले भूकम्प पीडितलाई एकमुष्ट राहत वितरण गर्नसमेत ‘श्रीमतीको दाइजो’ दिएजस्तो गरेको आरोप लगाए। उनले लाखौं भूकम्प पीडित अहिले पनि खुला आकाशमुनी बस्न बाध्य भएको भन्दै सरकारले एकमुष्ट दुई लाख रुपैयाँ नदिएसम्म सदन चल्न दिन नहुने बताए।

बैठकमा सरकारले भूकम्प पीडितलाई राजनीतिक आस्थाका आधारमा विभेद गरेको,  पुननिर्माण प्राधिकरणले एमाले निकट एनजिओमार्फत पुननिर्माणको जिम्मा दिएको भन्दै आपत्ति जनाएका थिए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने लगायतमा माग गर्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद बैठक अबरोध गर्दै आएको छ। कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिने सरकारी प्रतिबद्धता नआएसम्म संसद अबरोध जारी राख्ने जनाएको छ।

 

प्रकाशित: १३ असार २०७३ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App