coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बेहाल हात्तीगौंडा-टोखा सडक

काठमाडौं- हात्तीगौंडा–टोखा सडकको बूढानीलकण्ठ नगरपालिका–७ मा किराना पसल गर्दै आएका कुमार श्रेष्ठ पसलमा बस्दा हिजोआज तनावमा हुन्छन्। खिम्ती विद्युत प्रसारण आयोजनाले सडक भत्काएपछि घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्मे हुने सडकका कारण उनी तनावग्रस्त बन्ने गरेका हुन्।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको खिम्ती विद्युत प्रसारण आयोजनाले विद्युतका तार जमिनमुनि राख्न हात्तीगौंडा चोकदेखि विष्णुमती पुलसम्म करिब २ किलोमिटर सडक खनेको  थियो। तर तार अन्डरग्राउन्ड गरिसकेपछि पनि आयोजनाले भत्काएको सडक कालोपत्र नगरी लथालिंग छाड्दा सडकखण्ड आसपासका स्थानीयले समस्या भोग्दै आएका छन्।

'पानी परेका बेला सडकको हिलो मोटरसाइकलले उछिट्ट्याएर पसलमा हिलो छ्यापिदिन्छ,' श्रेष्ठले भने, 'घाम लाग्दा धुलो उडेर बसिनसक्नु हुन्छ।' यो समस्या श्रेष्ठ एक जनाको मात्र नभएर त्यस सडकखण्डमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीसहित स्थानीय समेतको हो।

त्यो सडक हिँड्नुपर्ने बटुवाले पनि श्रेष्ठकैजस्तो सास्ती खेप्दै आएका छन्। 'महिनौं भइसक्यो सडक यस्तै हिलाम्मे छ,' सडकमा जमेको पानी र हिलो देखाउँदै पैदलयात्री सृजना कुईकेलले भनिन्, 'छोराछोरी स्कुल पुर्‍याउँदा ल्याउँदा दैनिक दुईपल्ट आवतजावत गर्नुपर्दा हिलाम्मे भइन्छ।'

प्रसारण आयोजनाले नगरपालिकासँग स्विकृति लिएर खनेको सडक कालोपत्र गर्न लाग्ने बजेट १८ लाख रुपैयाँ नगरपालिकामा बुझाइसकेको छ। अब नगरपालिकाले सडक कालोपत्र गर्नुपर्ने भए पनि नगरपालिका विभिन्न बहाना बनाएर कालोपत्र गर्न आलटाल गरिरहेको छ।

वडा–८ का सचिव अच्युत खड्काले कालोपत्र गर्न नगरपालिकाले तयारी गरे पनि जिल्ला विकास समितिले ढलको पाइप बिछ्याउन लागेकाले तत्कालका लागि रोकिएको दाबी गरे। 'कालोपत्र गर्नै लाग्दा केही दिनअघि मात्रै जिविसले सांसद् विकास कोषको रकमबाट ढलको पाइप राख्ने तयारी गरिरहेको जानकारी दिएपछि रोकेका हौं,' खड्काले भने, 'असार १४ भित्र जिविसले काम सक्ने भनेकाले त्यसपछि कालोपत्र हुन्छ होला।' तर जिविसले भने ढलको पाइप त्यहाँ लगे पनि बिछ्याउने कुनै सुरसार गरेको छैन। 'अस्ती प्रसारण आयोजनाले भत्काएर अहिलेसम्म बनेको छैन,' खडकाले भने, 'विकास निर्माणमा नीतिगत तहमै समन्वय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।'

'उक्त सडक उपत्यका विकास प्राधिकरणले विस्तार गर्न लागेको छ,' नगरपालिका प्रमुख विश्वराज पुडासैनीले भने, 'विस्तारपछि आयोजनाले नै कालोपत्र गर्ने हुँदा हामीले अहिले कालोपत्रे नगरेको हौं।' पुडासैनीले आफू नगरपालिकामा एक महिना अघिमात्र आएकाले पनि सबै जानकारी नभएको बताए।

प्राधिकरणका अनुसार उक्त सडक आफ्नो कार्यक्षेत्रमा नपर्ने भए पनि स्थानीयले विस्तार गर्नुपर्ने माग गरेपछि ८ मिटर कायम गर्न चिनो लगाइएको छ। अब नगरपालिकाले नै स्थानीयको सहमति जुटाएर ल्याए विस्तार थालिने प्राधिकरणले जनाएको छ। 'नगरपालिकाले स्थानीयको सहमति जुटाएर विस्तार गर्न अनुरोध गरे विस्तार थाल्नेछौं,' प्राधिकरण प्रमुख भाइकाजी तिवारीले भने, 'सडक जबरजस्ती बढाउने हाम्रो अधिकार क्षेत्रमा पर्दैन।' उनका अनुसार सडकमा जग्गा नपर्ने स्थानीयले सडक विस्तारको माग गर्ने तर जग्गा पर्ने स्थानीयले विराध गर्ने भएका कारण विस्तार सुरु नभएको हो। तर उक्त सडकखण्डले विभिन्न ठाउँ जोड्ने हुँदा तत्काल विस्तार गर्नुपर्ने आवश्यकता रहेको तिवारीले जनाए।

प्रकाशित: १३ असार २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App