८ वैशाख २०८१ शनिबार
समाज

विदेश पठाउँछु भन्दै २५ लाख असुली

काठमाडौं- प्रहरीले ठगी आरोपमा पिएचडी ज्योतिषका ज्ञातालाई आश्रमबाट पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्› योग आश्रमबाट पक्रेको हो।

महाशाखाका अनुसार दंगालले भूकम्प पीडित कोटामा जापान, क्यानडा, अमेरिका लगायत देश पठाइदिन भन्दै आठ युवायुवतीबाट २४ लाख ३० हजार असुली गरेका थिए। उनले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानन्धरबाट २ लाख, छिरिङ तामाङबाट १ लाख, रामबहादुर तामाङबाट १ लाख, खुदनाथ घोरासैनीबाट ४ लाख ४० हजार, विकास तामाङबाट ३ लाख र सीतामाया तामाङबाट  ३ लाख ४५ हजार उठाएको खुलेको छ।

महाशाखाका अनुसार दंगालले जोतिषी सिद्धान्तमा पिएचडी, संस्कृत र फलितमा आचार्य पास तथा एमएस्सी र एमडी डिग्री प्राप्त गरेका छन्। उनी कास्की र रुपन्देही जिल्लामा पूर्व जिल्ला शिक्षा अधिकारीसमेत थिए। द्वन्द्वकालमा विस्थापित भई अमेरिकामा ४ वर्ष बसी अमेरिका, जापान, क्यानडामा सम्पर्क स्थापित गरेका दंगाल नेपाल फर्केर विदेश पठाउने धन्दामा लागेको अनुसन्धानमा खुलेको छ।

महाशाखाका एसपी सहकुल थापाका अनुसार दंगालले हालसम्म सम्पर्कका आधारमा ७ जनालाई अमेरिका पठाइसकेका थिए। उनका अनुसार अमेरिका, जापान, क्यानडामा एजेन्ट राखेर विदेश पठाउने धन्दामा लागेका दंगाल यसपटक असफल भएपछि प्रहरी फन्दामा परेका हुन्।

दंगालले अमेरिकाका लागि १६ लाख, क्यानडाका लागि १२ लाख र जापानका लागि रु १० लाख रेटसमेत तोकेका थिए। महाशाखाले दंगालबाट ठगिएका पीडित बढ्न सक्ने जनाएको छ।

प्रकाशित: १३ असार २०७३ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App