६ वैशाख २०८१ बिहीबार
समाज

श्रीलंका ट्रान्जिट

काठमाडौं- मानव तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले पछिल्ला दिन श्रीलंकालाई 'ट्रान्जिट प्वाइन्ट' बनाउँदै नेपालबाट तस्करी गरिरहेको खुलेको छ। गिरोहले उक्त रुटबाट अहिलेसम्म १ हजार ४ सयभन्दा बढी नेपाली युवायुवती विदेश पुर्‍याइसकेको छ।

केही दिनअघि मानव तस्करी र वैदेशिक रोजगार नेपालीका समस्या अनुसन्धान गर्न गएको सरकारी टोलीले श्रीलंकालाई ट्रान्जिट बनाएर गरिँदै आएको तस्करीको नयाँ रुट पत्ता लगाएको हो। श्रीलंका र मलेसियामा गरिएको अनुसन्धान प्रतिवेदन टोलीले आइतबार श्रममन्त्री दीपक बोहरालाई बुझाइसकेको छ।

टोलीका अनुसार नेपालबाट स्थलमार्ग हुँदै भारत, मुम्बई र त्यहाँबाट जल तथा हवाई बाटो श्रीलंका पुर्‍याइने गरेको छ।  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले नेपालीका लागि श्रीलंकामा रहेको भिसा सुविधालाई तस्करले अवसर छोपिरहेको बताए। टोलीका सदस्यसमेत रहेका उनले मानव तस्करी नियन्त्रणका लागि श्रीलंकाका समकक्षी र सरकारी टोलीसँग छलफलसमेत भएको जानकारी दिए।

'हामीले कोलम्बोमा केही तथ्य फेला पारेका छौं, यससम्बन्धमा श्रम मन्त्रालयले समेत केही कुरा समकक्षीसँग राखेको छ, चाँडै प्रक्रिया सुरु होला,' एसएसपी खनालले भने। विभिन्न बहानामा कोलम्बो पुग्ने नेपाली नफर्किएको पाइएपछि टोलीले त्यहाँ अनुसन्धान केन्द्रित गरेको थियो। श्रीलंकामा नेपालीका लागि 'अनअराइभल भिसा' को सुविधा छ।

नेपाल भएर अमेरिका, युरोपका विभिन्न देश र प्रतिबन्धित खाडी देश जाने युवतीको संख्या ह्वात्तै घटेपछि नयाँ रुट प्रयोग गरिएको हुन सक्ने आशंका थियो। वैदेशिक रोजगारी र ठगीसम्बन्धी उजुरी नरोकिएपछि महाशाखाले मानव तस्करीको सञ्जाल र प्रयोग भइरहेको रुटबारे छानबिन थालेको हो।

यसरी हुन्छ तस्करी

नेपालमा रहेका गिरोह सदस्यले सुरुमा नेपालीलाई विभिन्न प्रलोभन देखाई विदेश जान तयार पार्छन्। त्यसपछि देशका विभिन्न स्थानबाट काठमाडौंमा भेला गरिन्छ। आवश्यकताअनुसार राहदानीसमेत गिरोहका सदस्यले नै तयार गर्छन्। महाशाखाले जेठ १३ गते कोटेश्वरबाट झापा हुँदै कुवेत जान लागेका ६ महिलालाई उद्धार गरेपछि पक्राउ परेकाको बयानका आधारमा तस्करीको नयाँ रुट र अपराधशैली बाहिर आएको हो।

'प्रविधि प्रयोग गरी युवायुवती फसाएर तस्करी गर्ने एउटा र आकर्षक देशमा जागिर लगाइदिने प्रलोभनमा मोटो रकम असुलेर तस्करी गर्ने अर्को गरी दुई समूह सक्रिय पाइयो,' एसएसपी खनालले भने।

नेपालबाट प्रतिबन्धित खाडी देश र रसिया, पोर्चुगल, दक्षिण कोरिया, जापान र काजकस्तानसम्म रोजगारीमा जान चाहने युवायुवतीलाई विभिन्न म्यानपावर कम्पनीका एजेन्टले सीमावर्ती क्षेत्रबाट दिल्ली र मुम्बई पुर्‍याउँछन्। नेपाली एजेन्टले त्यहाँ रहेका गिरोह सदस्यलाई बुझाएपछि उनीहरूलाई बन्धकझैं बनाएर राखिन्छ। भारतीय गिरोहले मौका छोपेर दिल्ली र मुम्बईबाट हवाई मार्ग हुँदै श्रीलंकाको राजधानी कोलम्बो पुर्‍याई त्यहाँस्थित गिरोहलाई हस्तान्तरण गरिन्छ।

'मुम्बईबाट केहीलाई जलमार्ग हुँदै कोलम्बो पुर्‍याइँदो रहेछ, त्यहाँ नक्कली कागजपत्र बनाएर अन्य देश पठाइँदो रहेछ,' टोलीमा सहभागी एक सदस्यले नागरिकसँग भने। उनका अनुसार तस्करी गिरोहलाई सघाउनेमा नेपालमा नाम चलेका म्यानपावर र कन्सल्टेन्सीको समेत सक्रिय भूमिका रहन्छ। 'एजेन्ट भनिए पनि उनै म्यानपावर र कन्सल्टेन्सीको इसारामा काम गर्ने व्यक्ति प्रयोग हुने गरेको पाइयो,' उनले थपे।

कोलम्बोपछि पनि पठाइएको देशमा रहेका गिरोह सदस्य फेरिँदै उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने गरिन्छ। 'विमानमा भेटिएका नेपालीको अवस्था देख्दा जोकसैले सजिलै उनीहरूको तस्करी भइरहेको थाह पाउन सक्छ, अध्यागमन र विमानस्थल सुरक्षामा समेत उनीहरूलाई घेराबन्दीमा राखेर गिरोह सदस्यले नै सम्पूर्ण प्रक्रिया फटाफट पूरा गरेको भेटियो,' केही दिनअघि अध्ययन भ्रमणमा गएका एक पत्रकारले नागरिकसँग भने।

मलेसियाको मनोरञ्जन भिसामा यौन ब्यवसाय

मनोरञ्जन भिसामा तीन महिनाका लागि मलेसिया गएका नेपाली युवती त्यहाँ डान्सबार र यौन व्यवसायमा संलग्न रहेको टोलीले जनाएको छ। टोली सदस्यले गरेको स्थलगत भ्रमणमा त्यहाँको रात्रिकालीन व्यवसायमा नेपाली युवतीको संख्या उल्लेख्य फेला परेको हो। 

सरकारी टोलीले मलेसियामा नेपालीको अवस्था झनै बिजोग रहेको प्रतिवेदन बुझाएको छ। मलेसियामा रहेका करिब ६ लाख नेपाली त्यहाँ नेपालीबाटै प्रताडित हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

'हामीले त्यहाँको प्रहरी र इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एसएनसिबी) र श्रम मन्त्रालयका अधिकारीसँग नेपालीको अवस्थाबारे छलफल र सहयोग आग्रह गरेका थियौं तर उनीहरू परिस्थितिबारे अनभिज्ञ हुन् वा के हो, केही स्विकार्नै चाहेनन्,' टोलीका एक सदस्यले नागरिकसँग भने।

उजुरीको ओइरो

अपराध महाशाखामा तीन महिनायता वैदेशिक ठगीका ३ सय १७ उजुरी परेका छन्। यी उजुरी प्रहरीले फोनमार्फत पीडितको गुनासो संकलनका लागि व्यवस्था गरेको 'डिजिट ११७७' र इमेलमार्फत पाएको हो। उजुरी दिने पीडितको संख्या १ हजार १ सयभन्दा धेरै छ।

मकाउ, भारत, ओमन, दुबई, साउदी अरब र दक्षिणी अफ्रिकी देशबाट धेरै उजुरी आउने गरेका छन्। कुवेत, कतार, मलेसिया, रसिया, दक्षिण कोरिया, लिबिया, जापान, कम्बोडिया र काजकस्तानबाट पनि उजुरी आउने गरेको डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए। उनका अनुसार उजुरीपछि महाशाखाले विदेशमा रहेका १ सय १३ जनालाई उद्धार गरेको छ भने ३६ जनाको समस्या विदेशस्थित दूतावास र समकक्षीमार्फत समाधान गराएको छ।

'मानव तस्करी र ओसारपसारविरुद्ध कारबाही सुरु गरेयता उजुरी आउनेक्रम र उद्धारको शृंखला निरन्तर छ,' डिएसपी मरासिनीले नागरिकसँग भने।

महाशाखाको तथ्यांकअनुसार हालसम्म विभिन्न देशबाट ४६ महिला र १ सय ९३ पुरुषको उद्धार गरिएको छ। ८ सय ९८ जनाको उद्धारका लागि पहल भइरहेको छ। यस क्रममा १ सय ७८ म्यानपावर कम्पनी र त्यसका एजेन्टविरुद्ध जाहेरी परेकोमा ११ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढेको महाशाखाले जनाएको छ।

प्रतिवेदनपछि सुधार प्रयास

श्रम मन्त्रालयले मलेसिया र श्रीलंकाबाट फर्किएको टोलीले बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार तत्काल नियन्त्रण र सुधार प्रयास थालिने जनाएको छ। टोलीले आइतबार श्रममन्त्रीलाई बुझाएको प्रतिवेदनमा वैदेशिक रोजगारीका बेथितिसहित नेपालमा रहेका म्यानपावर कम्पनीका कसुरका विषयमा समेत उल्लेख छ। श्रममन्त्री दीपक बोहराले प्रतिवेदनअनुसार कामकारबाही अघि बढ्ने जानकारी दिए। उनले भने, 'खोजेका र जान्न चाहेका कुरा प्रतिवेदनमा छन्, केही दिनमै सार्वजनिक गर्छौं।'

प्रकाशित: १३ असार २०७३ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App