७ वैशाख २०८१ शुक्रबार
अन्य

बजारको स्वामित्व विवाद चर्किंदै

जनकपुर- जिल्लाको मिथिला नगरपालिकास्थित ढल्केबर कृषिउपज बजारमा दुईथरि ठेकेदारले कर उठाउन थालेपछि स्थानीय किसान मारमा परेका छन्।  बजार सञ्चालक समिति र स्थानीय महेन्द्र उच्च माविले एउटै बजारलाई आ–आफ्नै शैलीमा ठेक्का लगाएपछि समस्या उत्पन्न भएको हो। विद्यालयले ०२४ सालदेखि नै बजार आफ्नो स्वामित्वमा रहेको दाबी गरिरहेको छ भने बजार सञ्चालक समितिले स्थानीय कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले स्थापना गरेकाले स्वामित्व आफ्नो हुनुपर्ने अडान लिएको छ।

चालू आर्थिक वर्षका लागि वर्षदिनपहिले विद्यालय र बजार सञ्चालक समितिले साझेदारीमै १७ लाख ३० हजार रुपैयाँमा ठेक्का लगाएको थियो। ती ठेकेदारले यो असार मसान्तसम्म कर संकलन गर्न पाउनुपर्ने अधिकारको आड लिइरहेका छन्।

 यता, बजार सञ्चालक समितिले कुनैबेला विद्यालयसँग जे जस्तो सम्झौता भएपनि आफ्नो निश्चित क्षेत्र बजारको रूपमा स्थापित भइसकेकाले अब एकल स्वामित्व भएको दाबी गर्दै अगामी आवका लागि ५ लाख ५३ हजार १ सय रुपैयाँमा ठेक्का लगाएको छ। यो ठेक्का अगामी आवका लागि भएपनि अहिलेदेखि नै ठेकेदारले कर उठाउन सुरु गरेपछि दुई पक्षबीच झन् विवाद चर्केको स्थानीय बताउँछन्। पुरानो ठेक्का सम्पूर्ण बजार क्षेत्रको भएपनि अहिले कृषिउपज सामग्रीलाई मात्रै तोकिएकाले रकम घटेको बजार समिति प्रबन्धक शम्भुनाथ दासले बताए।

 विद्यालय व्यवस्थापन समिति सदस्य सूर्यनारायण यादवले विद्यालय प्रावि हुँदा (हाल उच्च मावि) ०२४ सालदेखि नै यो बजारको आम्दानीले निजी स्रोतमा कर्मचारी तथा शिक्षकलाई तलब खुवाउँदै आएको दाबी गरे। 'प्राविलाई निमाविको रूपमा स्तरोन्नति गर्नुपर्ने भएपछि तत्कालीन प्रधानपञ्चले गाउँ पञ्चायतलाई कुनै आम्दानीको स्रोत नरहेकाले १० प्रतिशत दिनेगरी सम्झौता गरेपछि आवश्यक सहयोग गरेका थिए,' यादवले भने, 'गाउँ पञ्चायतबाट गाविस भएपछि २० प्रतिशत लिन थाल्यो।'

 ०५६ सालदेखि ६० प्रतिशत विद्यालय र ४० प्रतिशत गाविसले पाउनेगरी बजार ठेक्का लाउने सहमति भएको थियो। गाविसले पाउने ४० प्रतिशतमध्ये बजार क्षेत्रको विकास गर्न २० प्रतिशत रकम छुट्याउने व्यवस्था भएको यादवको दाबी छ। उक्त सम्झौता ५ वर्षसम्मका लागि भएपनि गत वर्षसम्म त्यसैअनुरूप त्रिपक्षीय सम्झौताका आधारमा बजार ठेक्का लाग्दै आएको थियो।

 पहिला विद्यालयसँग अतिरिक्त आम्दानीको स्रोत नरहेको र बजार पनि विद्यालयकै स्वामित्वमा रहेको जग्गामा रहेकाले पुरानो सम्झौताले निरन्तरता पाएपनि अब कृषिउपज बजार क्षेत्रमा बजार सरिसकेको अवस्थामा पूर्ण स्वामित्वको दाबी बजार सञ्चालक समितिको छ। पहिला बजार ढल्केबर चोक–पार्क नजिक थियो भने अहिले करिब डेढ सय मिटरमाथि सरेर कृषि बजार क्षेत्रमा सरेको छ।

 विद्यालय र बजार सञ्चालक समितिको यस्तो विवादले गाउँबाट बारीको उत्पादन बेच्न आउने किसान करका नाममा दोहोरो मारमा परेको स्थानीय किसान कमल सिंह बताउँछन्। 'तरकारी लिएर बजारमा नपुग्दै एउटा ठेकेदारले कर लिइहाल्छ। बेचेर फर्किन थालेपछि अर्को ठेकेदार घेर्न आइपुग्छन्,' उनले भने, 'यो समस्या मैले नभई बजारमा आउने सबै किसानले झेल्नु परिरहेको छ।'

 बजार समिति र विद्यालयबीचको विवादले किसान त पीडित छन् नै। विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि बेला–बेला पठनपाठन छाडेर सडकमा उत्रेर नाराबाजी गर्नु परिरहेको छ। हप्तादिनअगाडि विद्यालयका प्रअ रामदयाल महतोकै नेतृत्वमा विद्यार्थीहरूले राजमार्गमा १ घण्टासम्म प्रदर्शन गरे। बजार सञ्चालक समितिले लगाएको ठेक्का खारेज गर्नुपर्ने नारा लगाउँदै विद्यार्थी राजमार्गमा उत्रेपछि केहीबेरसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी आवागमनसमेत अवरुद्ध हुन पुग्यो।

प्रकाशित: १२ असार २०७३ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App