coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दशैंतिहारको स्वागत गाउँ सरसफाई

खोटाङ- कसैको हातमा कुटो छ, कसैको हातमा कोदालो । खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–४ दाल्फुमा आइतबार देखिएको एउटा लामबद्ध समूह गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाईमा जुटिरहेको छ । 

कोही झ्याल, बुट्यान फाँड्नमा व्यस्त छन्, कोही गोरेटो बाटोका ढुंगा पन्छाउन र पर्खाल लगाउन । स्थानीय सिर्जनात्मक एकता युवा सेवा समाजले आइतबार बडादशैं र तिहारको स्वागतमा गाउँमा सरसफाई अभियान चलाएका हुन् । वर्ष दिनपछि भेटघाट गर्न र रमाईलो गर्न आउने आफन्तलाई गाउँको स्वच्छता र सुन्दरता देखाउनकालागि गोरेटो बाटो सरसफाई गरिएको समाजका सचिव लेखराज राईले बताए । 

उनीहरुले फिर्कु घरडाँडादेखि देबिस्थान, चिउरीबोट हुँदै खेलमैदानसम्मका गल्ली र गोरेटो सरसफाई गरेका छन् । सरसफाई अभियानमा बच्चादेखि बुढापाकासम्मको उत्साहजनक सहभागीता रहेको थियो । हरेक वर्षको दशैं र तिहारको स्वागतमा सञ्चालन हुँदै आएको सरसफाई कार्यक्रमलाई यसपल्ट पनि समाजले निरन्तरता दिएको हो । ‘स्वस्थ स्वास्थ्य र गाउँको स्वच्छ वाताबरण’कालागि दशैंतिहारको चटारो छाडेर सरसफाईमा जुटेको समाजले जनाएको छ । 

स्थानीय गाउँको स्वच्छता र सुन्दरताकालागि आ–आफ्नो घरको काम थाँती राखेर उत्साहकासाथ सरसफाई अभियानमा सामेल बनेको समाजका कोषाध्यक्ष खबिराज राईले जनाए । ‘दशैंतिहारको बेलामा खाने बस्ने र रमाईलो गर्ने मात्र प्रचलन छ,’ कोषाध्यक्ष राईले भने, ‘सबै भेला भएको यो बेलामा सिर्जनात्मक काम पनि गर्न सकिन्छ भनेर सरसफाई गरिएको हो ।’ 

समाजले सरसफाई अभियानकैक्रममा चाडबाडका नाममा मादक पदार्थ सेवन नगर्न र दशैंतिहारलाई शान्तीपूर्ण वाताबरणमा मनाउन एकआपसमा आग्रह गरेको छ । समाजले गत वर्ष टिकाको दिन दाल्फुबाट घुम्ती, जोरसिमल, प्रहरीचौकी, बनपाला, बोझेओढार, गाबिसको कार्यालय, स्वास्थ्यचौकी, च्यास्मीटार उच्च माबि लगायतका स्थानसम्म पुगेर सरसफाई गर्दै फोहोर संकलन गर्ने टोकरी राखेको थियो ।

प्रकाशित: २३ आश्विन २०७३ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App