८ वैशाख २०८१ शनिबार
समाज

वीरेन्द्रको शालिक पुनःस्थापना गर्न दबाब

स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना माग गर्दै बिहीबार नेपालगन्जमा निकालिएको दबाब र्या ली। तस्बिर : अर्जुन ओली

नेपालगन्ज- स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको छ। नेपालगन्जमा बिहीबार राजतन्त्र पक्षधर तथा व्यापारी, नागरिक समाज तथा सर्वसाधारण लगायतले त्रिभुवन चोकबाट र्‍याली प्रर्दशन गरेर दबाब दिएका हुन्।

दिउँसो २ बजे सुरु भएको र्‍याली सदरलाइन, घरबारीटोल हुँद धम्बोझी चोकस्थित वीरेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने वक्ताले इतिहास मेटाउने गरी स्वर्गीय राजा वीरेन्द्रको शालिक हटाउन प्रशासन र राजनीतिक दलहरुले गरेको कार्यको चर्को आलोचना गर्दै जसरी भए पनि पुनःस्थापना गराएरै छाड्ने उद्घोष गरे। यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने उनीहरुले चेतावनी दिए।

कोण सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री डा. धवलशम्शेर राणाले इतिहासलाई मेटाउन गरिएको कार्य राष्ट्रघाति भएको बताए। शालिक पुनःस्थापना गर्दा जनताका अगाडि अब कसैले पनि रोक्न नसक्ने जिकिर गरे। ‘जनताको भावनाविपरीत इतिहास मेटाउने काम भएको छ, त्यसका लागि ठूलो मूल्य चुकाउनुपर्छ,’ उनले भने। नेपालगन्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न नदिए देशभरि आन्दोलन फैलिने चेतावनी दिए।

राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजासँग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने कुरा प्रष्ट भएको बताए। उनले जनतामा जागेको आक्रोशले शालिक पुनःस्थापना भएरै छाड्ने जिकिर गरे। गत भदौ दोस्रो साता राष्ट्रवादी युवा शक्तिले नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको अर्धकधको शालिक पुनःस्थापना गरेको थियो। शालिक पुनःस्थापना पश्चात जिल्लाका प्रमुख राजनीतिक दलले विरोध जनाउँदै स्थानीय प्रशासनलाई हटाउन दबाब दिएका थिए। प्रशासनले २४ घण्टा बित्न नपाउँदै शालिक हटाएको थियो।

शालिक पुनःस्थापना समितिका सदस्य तेजनारायण कँडेललेस्वागत गर्दै २४ घन्टा बित्न नपाउँदै रातारात सरकारले शालिक चोरेको आरोप लगाउँदै यसकाविरुद्ध आम जनता सडकमा ओर्लिएको बताए। ‘इतिहासको धरोहर स्वर्गीय वीरेन्द्र शाहको शालिक पुनः स्थापना गराएरै छाड्छौं,’ उनले भने। समितिले यसअघि शालिक पुनःस्थापनाको माग गर्दै नेपालगन्जमा हस्ताक्षर संकलन गरेको थियो। सो क्रममा सर्वसाधारणले शालिक पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: १३ आश्विन २०७३ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App