८ वैशाख २०८१ शनिबार
खेल

आर्मी र झापा भिड्ने

काठमाडौं- त्रिभुवन आर्मी क्लब र रमपम झापा–११ फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार झापाले सुदूर बिस्कुट सुदूर पश्चिमाञ्चल फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले र आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एकअर्काविरुद्धको भेट पक्का गरेका हुन्। सिएमजी क्लब संकटा र जगदम्बा लुम्बिनी फुटबल क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

झापा र सुदूरपश्चिमबीचको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो। दुवै गोल खेलको अन्त्यतिर भएको थियो। दुवै टोलीले खासै गोल अवसर सिर्जना गर्न सकेनन्। खेलको ७८ औं मिनेटमा कप्तान संजोक राईले गोल गर्दै झापालाई अग्रता दिलाए। तर, अन्तिम तीन मिनेट अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो। दीपकराज सिंह ठकुरीले ८७ औं मिनेटमा बराबरी गोल गर्दै टोलीको आशा जीवित राखेका थिए। टाइब्रेकरमा भने सदूरपश्चिम एक गोलमात्र गर्न सफल भयो। जसका कारण टोली  प्रतियोगिताबाट बाहिरियो।

समय थप नगरी निर्णयका लागि सिधै टाइब्रेकरमा जाने प्रतियोगिताको नियममा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

टाइब्रेकरमा झापाका संजोगले बिना गल्ती गोल गरे। सुदूरपश्चिमका राजेश राजी, दीपेन्द्र बुढा र सुनील शाह गोल गर्न असफल भए। झापाका जीवन गुरुङ र पूजन राईले गोल गर्न सकेनन्। झापाका बबिन बोहोरा र अन्तिम गोल प्रमोद चौधरीले गोल गरेका थिए। सुदूरपश्चिमका जीवन चौधरी चौथो पेनाल्टीमा गोल गर्न सफल भए।

झापाका प्रशिक्षक प्रवेश कटुवालले टोली प्राविधिक रूपमा उत्कृष्ट रहेकाले अन्तमा नतिजा निकाल्न सफल भएको बताए। उनले भने, 'हामी प्राविधिक रूपमा स्तरीय थियौं। त्यही कारण जित्न सफल भएका हौं।'

सुदूरपश्चिमका प्रशिक्षक यज्ञ श्रेष्ठले पेनाल्टीमा हार्नु दुर्भाग्य भएको बताए। 'पेनाल्टी हान्न सही खेलाडीकै छनोट गरेका हौं,' उनले भने, 'तर, दुर्भाग्य सफल भएनौं।'

अर्को खेलमा एरिक विष्ट र दिनेश हेम्जनको गोलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी पुलिसमाथि जित पाएको हो। समूह चरणमा जगदम्बा लुम्बिनीसँग ६–० को फराकिलो हार बेहोेरे पनि आर्मी सेमिफाइनल पुग्न सफल भयो। एरिकले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे। त्यस्तै दिनेशले खेल सकिन एक मिनेट बाँकीमा गोल गर्दै टोलीको जित निश्चित बनाए।

पुलिसका प्रशिक्षक अनन्त तामाङले फिनिसिङमा टोलीको कमजोर रहेको स्विकारे। 'हामीले धेरै अवसर सिर्जना गर्‍यौं। सबै योजनाअनुसार नै भएको थियो,' उनले भने, 'तर हामी गोल गर्न असफल भयौं। फुटबलमा यस्तो हुन्छ।'

आर्मीका प्रशिक्षक चक्र तामाङले समूह चरणको हारेले सचेत बनाएको उल्लेख गर्दै त्यहाँबाट उच्च प्रदर्शन गर्न प्रतिबद्ध भएको जनाए। 'सहज लिँदा समूह चरणको खेल हार्‍यौं। खेलाडीले त्यो महसुस गरे,' उनले भने, 'त्यसैले उनीहरूले क्वार्टरफाइनललाई सजिलो लिएन। मिहिनेत गरेर खेले, फलस्वरुप जित्न सफल भयौं।'

सोमबार पहिलो सेमिफाइनलमा संकटा र लुम्बिनी तथा अर्को सेमिफाइनलमा आर्मी र झापाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ११ असार २०७३ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App