७ वैशाख २०८१ शुक्रबार
अन्य

बाख्रापालनले घरखर्चमा सहज

भोजपुर– वर्षदिन अघिसम्म तिम्मा–३ पाङखाङकी राममाया राईलाई घरखर्च जोहो गर्न निकै मुस्किल थियो । आम्दानीको कुनै स्रोत नभएपछि ५ जनाको गुजारा चलाउन दैनिक ज्यालादारीबाहेक उनको परिवारसँग अरू विकल्प थिएन । ज्यालादारी गरेर पनि साँझ–बिहान छाक टार्न धौ–धौ भएपछि परिवारको पालनपालनको समस्यामै उनी पिरोलिन्थिन् ।

गरिबी निवारण कार्यक्रमबाट गठन भएको एक सामुदायिक संस्थाले डेढ वर्षअघि २५ हजार रुपैयाँ ऋण दिएपछि उनले बाख्रापालन सुरु गरिन् । त्यसयता उनको अवस्था फेरिएको छ । ऋण सहयोगले बाख्रापालन थालेपछि अहिले उनको परिवारमा घरखर्चको समस्या छैन । गरिबी निवारण कार्यक्रमअन्तर्गत गाउँमा गठन भएको सप्तकन्या सामुदायिक संस्थाबाट ऋण पाएर थालेको बाख्रापालन व्यवसायबाट उनको आम्दानीको ढोका खुलेको हो ।

सुरुमा उनले ५ वटा बाख्रा खरिद गरेकी थिइन् । अहिले उनका बाख्रा २५ वटा भइसकेका छन् । राई अहिले गाउँकै नमूना किसानको रूपमा चिनिन थालेकी छिन् । ‘बाख्रा पाल्नुअघि पैसाको मुख देख्नै मुस्किल थियो । अहिले २÷४ रुपैयाँ खेलाउन समस्या छैन, घरखर्च आरामले चलेको छ,’ उनले भनिन्, ‘कम मेहनत र लगानीमै आम्दानी गर्न सकिने रहेछ । पहिल्यै बुद्धि पुगेन, ढिलै भएपनि राम्रो काम थालेकोमा खुसी छु ।’
खसीबोका र पाठापाठी बेचेर आएको पैसाले छोराछोरीको पढाइ खर्च जुटाउन उनलाई सहज भएको छ । ‘बाख्रापालनबाट यति सजिलै आम्दानी गर्न सकिन्छ भन्ने मैले सोचेकै थिइनँ,’ राममायाले भनिन्, ‘मेहनत र परिश्रम गरेअनुसार बाख्रा पनि सप्रियो ।’ गाउँमा चलेको मूल्यमा बेच्दा अहिले उनको सबै बाख्राको मूल्य ६ लाख रुपैयाँभन्दा बढी हुने राई बताउँछिन् । ‘परिवारको गुजारा टार्न र छोराछोरीको पढाइ खर्चका लागि अरूकहाँ ज्यालादारी गर्नुपर्ने अवस्था हटेको छ,’ उनले खुसी व्यक्त गरिन् ।

बाख्रापालनबाट आएको आम्दानीमध्येबाट उनले नियमित बचतसमेत गर्दै आएकी छन् । ज्यालादारी गर्न अन्यत्रै जाने गरेका श्रीमानले समेत बाख्राको हेरचारमा सघाउन थालेको उनले बताइन् । ‘अरूको मजदुरी गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा बेग्लै आनन्द आउने रहेछ,’ उनले भनिन् । उनले आफ्नो ५ रोपनी पाखाबारीमा डालेघाँस लगाएकी छिन् । बाख्रालाई बिहान र बेलुकी डालेघाँस खुवाउने र दिउँसो सामुदायिक वनमा चराउन लैजाने गरेको उनले बताइन् । ‘अरूको तुलनामा बाख्रा पाल्न एकदमै सजिलो हुने उनको अनुभव छ । उनी भन्छिन्, ‘दिउँसो जंगलमा लगेर छाडेपछि बेलुकी अघाएर बाख्रा आफैं घर फर्कन्छन्, दिउँसो अरू काम गर्न पनि भ्याइयो ।’

मितेरी नेपालद्वारा सञ्चालित गरिबी निवारण कार्यक्रमले गरिब तथा विपन्न परिवार पहिचान गरी उनीहरूको आर्थिक अवस्था उकास्न ऋणलगायत विभिन्न सहयोग गर्न थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । कार्यक्रमले जिल्लाका विभिन्न गाविसमा आयआर्जन तथा पूर्वाधार निर्माणको कामसमेत गरिरहेको संयोजक सुवास श्रेष्ठले बताए ।

 

प्रकाशित: १० असार २०७३ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App