५ वैशाख २०८१ बुधबार
अन्य

सुनसरीमा ११ लाख ३६ हजार कुखुरा

इटहरी– कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै सुनसरीमा व्यावसायिक रूपमा ११ लाख ३६ हजार कुखुरा पालिएका छन्। पछिल्लो समय कुखुराको मासु र अन्डाको उपभोग बढेसँगै व्यवसायी पनि हौसिएका छन्। जसले गर्दा संघीय संरचनाअनुसार प्रदेश नम्बर १ मा सबैभन्दा सुनसरीमै कुखुरा पालिएको छ।

नेपालमा व्यावसायिक कुखुरा पालन सर्वेक्षण–०७१÷७२ को तथ्यांक विभाग सुनसरीले फार्ममा कुखुरा गणना गरी बुधबार तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकअनुसार १ वर्षमा ब्रोइलर कुखुरा १० लाख ७६ हजार र लेयर्स ४४ हजार व्यावसायिक प्रयोजननिम्ति पालिएका छन् ।

देशभर भने १ वर्षमा ६ करोड ८ लाख २७ हजार कुखुरा पालिएका छन् । गणनाले १ वर्षमा सुनसरीमा ७ लाख २५ हजार अन्डा उत्पादन भएको बताइएको छ । देशभर भने १ अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन भएको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष करिब ४४ वटा अन्डा उपलब्ध हुनेगरी उत्पादन भएको बताइन्छ ।

किसानले जिल्लामा कुखुराको मासु, अन्डा र चल्ला बिक्रीबाट ४७ करोड २३ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेका छन् । जसमा कुखुराबाट ४३ करोड ८८ लाख ६० हजार, अन्डाबाट ५७ लाख ३६ हजार, चल्लाबाट २ करोड ५४ लाख र सुलीबाट २३ लाख ७३ हजार रुपैयाँ कमाएका छन् ।  

देशभरका किसानले भने ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार कमाएका छन् । तथ्यांकअनुसार जिल्लाभर ९ सय ९२ वटा फार्म रहेका छन् । जसमा ९ सय ५२ ब्रोइलर, ३८ वटा लेयर्स र २ वटा ह्याचरी रहेका छन् । देशभर २१ हजार ९ सय ५६ फार्म रहेको बताइएको छ ।

यहाँ २ हजार ५ सय ६ मेट्रिकटन मासु (जिउँदो कुखुरा तौल) उत्पादन हुने गरेको छ । देशभर भने १ लाख १४ हजार ५८ मेट्रिकटन उत्पादन हुन्छ । तथ्यांकअनुसार सुनसरीमा पहाडे ब्राह्मण समुदायले बढी कुखुरा पालेका छन् । यहाँ पहाडे ब्राह्मण समुदाय २४ प्रतिशतले कुखुरा पालेका छन् । यस्तै, नेवार ८, मगर १, थारू ९, राई १५, लिम्बू ६ र अन्य समुदाय १७ प्रतिशतले कुखुरा पालेका छन् ।

सर्वेक्षणले कुखुराको मृत्युदर ब्रोइलरको १२.८ प्रतिशत, लेयर्सको ९.२ र प्यारेन्टको ७ प्रतिशत पत्ता लगाएको छ ।

प्रकाशित: १० असार २०७३ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App