७ वैशाख २०८१ शुक्रबार
खेल

युराेकप २०१६ः सपना पूरा गर्दै अाइरिस

लिले– रोबी बार्डीले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल गरेपछि बुधबार राति गणतन्त्र आयरल्यान्डले इटालीमाथि १–० को नाटकीय जित हासिल गर्दै युरोपियन च्याम्पियनपिको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

इटालियन गोलपिकर साल्भाटोर सिरिगु र रोमानियाका रेफ्री ओभिडिउ हेटगनका कारण आइरिस टोलीले लगातार निराशा सामना गरिरहेका बेला बार्डीले गोल गर्दै टोलीलाई जोगाए । लिलेको स्टेड पिरे माउरोएमा समूह ‘ई’ बाट विजेताको हैसियत सुरक्षित गरिसकेको इटालीमाथि आयरल्यान्डले सुरुमै नतिजा निकालिसक्नुपर्ने थियो । तर, जियानलुइजी बुफोनलाई आराम दिँदै इटालीको गोलपोस्ट सम्हालेका दोस्रो रोजाइका गोलकिपर सिरिगुले डारिल मर्फीको एउटा खतरनाक प्रहार जोगाए। यसैगरी हेटगनले दुईपटकसम्म आयरल्यान्डको पेनाल्टी अपिल खारेज गरेका थिए । तर, बार्डीले अन्तिम समयमा सनसनीपूर्ण गोल गर्दै आयरल्यान्डको आयोजक फ्रान्सविरुद्ध अन्तिम १६ को भिडन्त पक्का गरे ।

‘यो सफलता हामी सबैले देखेको सपना थियो । हामीले खेल हेर्न यहाँ आउने र विश्वभरका आइरिस समर्थकका लागि यो सफलता हासिल गरेका छौं । म यो जित सम्पूर्ण आइरिस समर्थकप्रति समर्पण गर्न चाहन्छु,’ बार्डीले भने, ‘आजको रात मेरा लागि गौरवमय रह्यो । मेरा लागि मात्र होइन, हाम्रो पूरा टिम र देशकै लागि यो गौरवको क्षण हो ।’

अन्तिम १६ मा आयोजक फ्रान्ससँग खेल्नुपर्ने भए पनि आफूहरू त्यसबाट चिन्तित नरहेको बार्डीको दाबी थियो । ‘हामी युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुगेका छौं । यहाँ हामी आफ्नो क्षमता प्रदर्शन गरेर पुगेका हौं । यति ठूलो प्रतियोगिताको नकआउट चरणमा आफूले सोचेजस्तो विपक्षी पाइन्न । हामी जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न तयार छौं,’ बार्डीले भने, ‘पक्कै पनि फ्रान्स एउटा राम्रो टोली हो । उनीहरूसँग सबै पोजिसनमा विश्वका उत्कृष्ट खेलाडी छन् । त्यसमाथि उनीहरू आफ्नो घरमा खेल्दैछन् । यसले हामीलाई केही दबाब हुनसक्छ । तर फ्रान्स हराउनै नसकिने टोली होइन । फुटबलमा ठूला टोलीहरू हारेका थुप्रै इतिहास छन् । हामी त्यही इतिहास र जारी प्रतियोगितामा आफैले देखाएको लयबाट प्रेरित हुनेछौं ।’

आयरल्यान्डका प्रशिक्षक मार्टिन ओ’निलले गत सातामा बोर्डेमा बेल्जियमसँग ३–० को पराजय भोगेको टोलीबाट बुधबार पहिलो रोजाइमा चार परिवर्तन गरेका थिए । १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपपछि पहिलोपटक इटालीमाथि प्रतिस्पर्धात्मक खेलमा विजय हासिल गर्दा प्रशिक्षकको खेलाडी परिवर्तन गर्ने त्यो निर्णय सही साबित भयो ।

जेम्स म्याकक्लिन र डारिल मर्फीलाई पहिलो रोजाइ दिइएको खेलमा सेन्ट्रल डिफेन्समा पनि ओ’निलले नयाँ सेट खेलाए । सेन्ट्रल डिफेन्समा रिचार्ड कियोघ र सेन डफीलाई खेलाइएको थियो । ‘हामीलाई यो खेलमा जितको विकल्प थिएन । जितबाहेकको नतिजाले हामी नकआउट चरण जाने सम्भावना हँुदैनथ्यो । त्यसैले हामीले आज आफ्नो तर्फबाट सम्भव भएजति सबै प्रयास गर्नुपर्ने थियो,’ जितको सम्पूर्ण श्रेय खेलाडीलाई दिँदै ओ’निलले भने, ‘हामी आफ्नो उद्देश्यमा आज सफल भएका छौं । हामीले नतिजामात्र अन्तिम समयमा हासिल गरेका हौं । तर, सुरुदेखि नै खेल पूरा हामीले आफ्नो पक्षमा राखेका हौं । बल पोसेसन, विपक्षी पोस्टमा आक्रमण लगायतका सबै पक्षमा पूरा खेल अवधिभर नै हामीले विपक्षीलाई पछि पार्यौं ।’

विजेताको हैसियतमा सोमबार दुईपटकको साबिक विजेता स्पेनविरुद्धको अन्तिम १६ को प्रतिस्पर्धा पक्का भइसकेको अवस्थामा इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो टोलीमा बुधबार ८ परिवर्तन गरेका थिए, जसका कारण इटालीको ‘बी’ टिमले मैदानमा स्वाभाविक लय देखाउन सकेन ।

कोन्टेले पराजयका बाबजुद बुधबारको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । ‘हामीले आज खेलमा धेरै प्रयोग गर्न खोजेका थियौं । टिमका सबै खेलाडीलाई मौका दिएर उनीहरूलाई जाँच्नका लागि पनि यो खेल उपयोग गर्यौं,’ कोन्टेले भने, ‘आज हामीले युवा खेलाडीलाई अनुभव दिन खोजेका थियौं । उनीहरू आफ्नो भूमिकामा खरो उत्रिएका छन् । टिमको प्रदर्शनबाट म सन्तुष्ट छु ।’

 

प्रकाशित: १० असार २०७३ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App