७ वैशाख २०८१ शुक्रबार
अर्थ

अावास निर्माणका लागि १ लाख ४७ हजारसँग अनुदान सम्झौता

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर निर्माणका लागि राहत वितरण गर्न बिहीबारसम्म १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

भूकम्पको १४ महिनापछि प्राधिकरणले अतिप्रभावित १४ जिल्लामध्ये ११ जिल्लाका १ लाख ४७ हजार १ सय ८८ घरधनीसँग सम्झौता गरेको हो । प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाका अनुसार अनुदान सम्झौतामध्ये रामेछापका ३९ हजार ४ सय ५, ओखलढुंगाका १६ हजार ६ सय २१, गोरखाका ३४ हजार ४ सय ५७, सिन्धुपाल्चोकका २० हजार ७८, दोलखाका ५८ हजार ८ सय ४२, धादिङका ८ हजार ६ सय ६०, काभ्रेका ३ हजार २ सय ९७,  नुवाकोटका २ हजार ८ सय ७५, रसुवाका १ हजार ५ सय ६६, सिन्धुलीका १ हजार १ सय र मकवानपुरका २ सय ८७ घरधनीसँग अनुदान सम्झौता सम्पन्न गरिएको छ । रामेछाप र ओखलढुंगामा अनुदान सम्झौता अन्तिम चरणमा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

भूकम्पलगत्तै पुनर्निर्माण र पुनस्र्थापनाको काम तत्काल अघि बढाउनुपर्नेमा प्राधिकरणले १४ महिनामा ५ लाख ३३ हजार घरधनीमध्ये जम्मा १ लाख ४७ हजारसँग मात्रै अनुदान सम्झौता सम्पन्न गरेको हो । प्राधिकरण प्रवक्ता थपलियाका अनुसार काठमाडौं उपत्यकाबाहिर भूकम्पपछि गरिएको प्रारम्भिक सर्वेक्षणमा ७ लाख १७ हजार घरधनी अनुदान पाउनेको सूचीमा परेका थिए तर अनुदान सम्झौताका लागि पुनः सर्वेक्षण गर्दा त्यो संख्या घटेर ५ लाख ३३ हजार ४ सय ५४ मा झरेको छ । प्राधिकरणका अनुसार अनुदान सम्झौता भएका घरधनीमध्ये हालसम्म ५ हजारले मात्रै पहिलो किस्ताबापतको रकम प्राप्त गरेका छन् ।

भूकम्पप्रभावित जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुरमा भने प्राधिकरणले अहिलेसम्म पीडितको सर्वेक्षणसम्म गर्न सकेको छैन ।

 

प्रकाशित: १० असार २०७३ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App