८ वैशाख २०८१ शनिबार
समाज

निरन्तर वर्षाले ८० प्रतिशत सडक अवरुद्ध

वर्षाले डुवान भएको त्रिनपा–३ स्थित एउटा घर। स्थानीयको गोठका गाई डुबानमा पर्दै। तस्बिरः महेश्वर चामलिङ

उदयपुर– तीनदिनदेखिको निरन्तर वर्षाले उदयपुरमा ८० प्रतिशत सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकतर सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो । यातायात अवरुद्ध भएपछि यात्रुलाई सास्ती पर्नुका साथै विरामीले उपचार गर्न अस्पताल जानसमेत हम्मे परेको अवस्था आईपरेको छ ।

दुई दिनअघि चट्याङ लागेर गम्भीर घाईते हुन पुगेका जिल्लाको पूर्वी गाविस रामपुर ठोक्शीला ७ का रुद्रबहादुर कार्की र अर्जुन कार्कीको उपचार गर्न स्थानीय खोलाले छेकेर तत्काल लान नसकेको पीडित परिवारले जनाएको छ । सोमबार विहान परेको चट्याङले सख्त घाईते एका ६५ वर्षीय कार्की र १२ वर्षे उनकै नातिलाई उपचार गर्न लानबाट खोलाले रोकेपछि भोलिपल्ट बाढी घटेपछि मात्र उपचारार्थ लगिएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।

७२ घण्टादेखि निरन्तर पानी परिरहेकाले उदयपुरका सबैजसो नदी तथा खोला खोल्सीमा लगातार बाढी आएर सडक पूरै अवरुद्ध पारेको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ । वर्षाका काण गाईघाट–बेलटार, बेलटार–बसाहा–रामपुर, गाईघाट–साउने, गाईघाट–कदमाहा खण्डका सबै सडकमा यातायात अवरुद्ध भएको संघका उपाध्यक्ष उमेश बस्नेतले बताए । सदरमुकाम नजिकै रहेको बगाहास्थित फर्सेट खोलामा निर्माणाधिन पुल पाँचवर्षमा पनि पूरा नभएपछि गाईघाट–जलजले खण्डमै वर्षायाममा यातायात अवरुद्ध हुन पुगेको उनलेब ताए । गाईघाट–जलजलेबीचको उक्त पुल आर्थिक वर्ष ०६९÷७० देखि सुरु गरिएकोमा अहिलेसम्म पूरा हुन सकेको छैन ।

दुई स्पाम र तीन पिल्लरको उक्त पुल निर्माण कम्पनीका सञ्चालकबीच आपसी झगडा परेका कारण काम रोकिएको स्थानीय प्रशासनले जनाएको छ । तोकिएको समयमा काम नसकिएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको भए पनि सञ्चालकबीच अदालतमा मुद्धा विचाराधिन रहेकाले काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । गाईघाटदेखि लाहान खण्डमा पर्ने भएकाले उक्त पुल नबन्दा विराटनगर, काठमाडौं, धरान, राजविराज हुदै सो सडकसँग जोडिएका अन्य थुप्रै ठाउँ जाने यातायात वर्षामा अवरुद्ध हुने गरेको चालकहरुको भनाई छ । ठूला गाडी तर्न सक्ने भए पनि जीप, टेम्पो, म्याजिक र सिटीसफारी तर्न नसक्दा छोटा दूरीका यात्रु मार्कामा पर्ने गरेका छन् ।

सदरमुकामदेखि उत्तर पहाडी भेग चल्ने गाईघाट–साउने खण्डको बरुवा खोलामा निर्मित अर्को पक्की पुल पनि निर्माण सम्पन्न हुन बाँकी हुँदा सो खण्डसँग जोडिएका सडकहरुमा गाडी चल्न पाएका छैनन् । बरुवामा निर्माणाधिन आठ स्पामको पुलको काम दुईवर्षअघि नै सक्नुपर्ने सम्झौता भए पनि बिभिन्न कारण देखाएर निर्माण कम्पनीले काम ढिलाई गर्दा साउने खण्ड भएर चलने साउने–रानीबास–रौता–सल्ले, रानीबास–फोक्सिन्टार–रसुवाघाट सडक खण्डमा चारदिनयता गाडी चल्न नसकेको संघको साउनेस्थित शाखा कार्यालयले जनाएको छ ।

बाढीका कारण गाईघाट–बेलटार खण्डमा पनि सवारी अबरुद्ध हुन पुगेको छ । बेलटार जाने वैकल्पिक मार्गको हडियास्थित भिमा खोलामा निर्माणाधिन पक्की पुलको बिम सेटिङ तीनसाताअघि भत्काएपछि रोकिएको पुलको काम अघि बढ्न सकेको छैन । यतिखेरसम्ममा बिम निर्माण सक्नेगरी काम अघि बढेकोमा बाढीले सेटिङ भत्काएका कारण बाँकी काम अवरुद्ध भएको निर्माण कम्पनी पवित्र–एपेक्स जेबीले जनाएको छ । हिमाली संघका अनुसार  गाईघाट–मुर्कची–नेपालटार खण्डमा पनि गाडी चल्न सकेका छैनन् । गाईघाट–चुहाडे खण्डको कालीखोला र सरस्वती खोलामा पुल नभएका कारण सामान्य वर्षाको बाढीले नै यातायात अवरुद्ध हुने गरेको संघले जनाएको छ ।  

अविरल वर्षाले गाईघाट बजार तीनदिनयता जलमग्न हुदै आएको छ । जमिनको सतहभन्दा उच्च सडक र नगरपालिकाले नालाहरु नियमित सफा नगरेका कारण वर्षायाममा सडकबाट पानी घरघरमा पस्ने गरेको स्थानीयको दुखेसो छ । खाली जमिन, विद्यालय प्रांगण र घर परिवरी पानी जमेर स्थानीयलाई सास्ती दिएको स्थानीयले बताएका छन् । गाईघाटका सामुदायिक तथा संस्थागत विद्यालयका प्रांगणमा पानी भरिएर पठनपाठन पनि अवरुद्ध पार्ने गरेको विद्यालयहरुले जनाएका छन् ।

 

 

प्रकाशित: ९ असार २०७३ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App