६ वैशाख २०८१ बिहीबार
विचार

एफएम रेडियोको प्रभावकारिता

सानो छँदा रेडियो नेपालबाट बज्ने नाटक सुन्नका लागि गाउँभरिका हामी एकै ठाउँमा जम्मा हुन्थ्यौं, पाका पुस्ताले पनि त्यत्तिकै चाख दिएर रेडियो सुनेको पाइन्थ्यो। त्यसैले पनि रेडियोमा काम गर्ने र यसबारे जान्ने उत्सुकता बच्चैदेखि थियो। रेडियो सुन्नेको खोजी गर्दा अहिलेसम्मको अनुसन्धानले काठमाडौंमा रेडियो सेटहरु चन्द्रशमशेरकै पालामा आइपुगेको देखाउँछ। आत्मजीवनपरक पुस्तक आनन्दमय आकाशमा मदनमणि दीक्षित आफ्ना कान्छा काका देवमणि दीक्षितले बेलायतबाट झिकाएको वेतार (रेडियो) दीक्षितहरूको काठमाडौं गैरीधारास्थित घरमा सन् १९२९ मा आइपुगेको वर्णन गर्छन्। वि.सं. १९९६ ताका शुक्रबार बेलुका कलकत्ताबाट प्रसारित हुने गोर्खाली प्रोग्राम सुन्न पुल्चोकदेखि गैरीधारासम्म हिँडेर जाने गरेको उल्लेख पनि उहाँले गर्नुभएको छ। नेपालमा राणा प्रधान मन्त्री जुद्धशमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि वि.सं. २००४ सालपछि मात्रै पद्मशमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए। वि.सं. २००७ सालको जनक्रान्तिका बेला भारतको फर्बेसगन्जबाट रेडियो ट्रन्समिटर झिकाइ भोजपुर जिल्ला र पछि विराटनगर जुट मिलबाट क्रान्ति सफल बनाउन रेडियो प्रसारण सुरु गरिएको थियो। जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौंको सिंहदरबारमा ल्याई रेडियो नेपालका रूपमा २००७ साल चैत २० गतेदेखि प्रसारण सुरु गरिएको हो।

नेपालमा एफएम रेडियोको विकासले विश्वलाई नै नमुना प्रस्तुत गरेको त छ तर अझै रेडियोबाट प्रसारण हुने सामग्रीको गुणस्तरीयतामा जोड दिन भने सकिएको छैन।

 

२००७ सालको प्रजातन्त्र प्राप्तिसँगै प्राप्त रेडियो नेपालले प्रसारणको ४५ वर्षपछि  एफएम सुरु गरेको थियो। २०५२ साल कात्तिक ३० गतेदेखि नेपालमा एफएम प्रसारण सुरु भएको थियो। यसपछि निजी तथा सामुदायिक प्रयासबाट एफएम खुल्ने ढोका खुल्यो। रेडियो प्रसारण गर्न वि.सं. २०४९ कात्तिक ७ गते नेपाल वातावरण पत्रकार समूहले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिए तापनि उसले २०५४ सालको जेठ ५ गतेमात्रै रेडियो सगरमाथाका रूपमा प्रसारण गर्न इजाजत पायो र जेठ ९ गतेबाट प्रसारण सुरु गर्‍यो। त्यसपछि भने निजी र सामुदायिकतवरबाट धेरै एफएम खुल्न थाले। अहिले देशका ७४ वटा जिल्लामा एफएम रेडियो स्थापना भइसकेका छन्। ६१६ वटा रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ४ सयभन्दा बढी एफएम रेडियोले नियमित प्रसारण गरिरहेका छन्। त्यसमा २८५ वटा सामुदायिक एफएम छन्।

सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोहरुले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ।  अहिले लोडसेडिङको समयमा त झन् यसको महत्व बढ्न थालेको छ। त्यसमाथि पनि दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमै नपुग्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार नै हुन पुगेका छन्। नेपालमा यी रेडियाको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता भने बढ्दै गइरहेको छ। अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ। भर्खरै काठमाडौंमा सम्पन्न दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनले पनि विश्वमै सामुदायिक रेडियोको सफल अभ्यासमा नेपालले गरेको अभ्यासलाई लिएको पाइयो।

गएको  साउन ७ मा जारी राष्ट्रिय आमसञ्चार नीति–२०७३ ले अब रेडियो एफएमहरुको व्यावसायिक विकासको बाटो खुलेको छ। नीतिले एफएम रेडियो र टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारण गरी तीन भागमा वर्गीकरण गरेको छ। यसले सामुदायिक रेडियोहरूको छुट्टै ऐनका साथ पहिचान दिने व्यवस्था गरेको छ। एक वर्षभित्रमा सामुदायिक रेडियोसम्बन्धी छुट्टै ऐन जारी गरिने तयारी पनि भएको छ। यसले पक्कै पनि रेडियो प्रसारकहरुमा भइरहेको अन्योल कम गर्नेछ। रेडियोको दिगो विकासको चुनौतीलाई दृष्टिगत गर्दै सामुदायिक रेडियोहरुको दिगो विकासका लागि सामुदायिक रेडियो प्रसारक संघले अहिले विभिन्न रणनीति अघि सारेको छ जसले रेडियोको गुणस्तरीयता वृद्धि गर्ने र रेडियोको दिगो विकासमा सहयोग गर्ने लक्ष्य लिएको पाइन्छ। 

त्यस्तै देशभर खुलेका एफएम रेडियाका कारण अहिले राजधानीबाट निक्लने दैनिक पत्रपत्रिकाले प्रकाशित गर्ने समाचार र विषयवस्तु लाखौँ नेपाली स्रोताको माझ पुग्ने गरेको छ। एफएम रेडियो र रेडियोका नेटवर्कहरुले बिहान ६ बजेदेखि ८ बजेको बीचमा राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाका मुख्य विषयवस्तु पढेर सुनाउने भएकाले ३ देखि ५ लाखको हाराहारीमा निक्लने पत्रपत्रिका करिव ३ करोड नेपाली भाषा बु‰नेहरुका माझ पुग्न सफल भएको छ। यतिमात्रै होइन, कम मात्रामा प्रकाशित भई मुख्य सहरहरुमा मात्रै वितरण हुने पत्रपत्रिकालाई पनि रेडियोले वाचन गरेर आमनागरिकमाझ पुर्‍याउने प्रयत्न गरिरहेको छ। राजधानीबाट देशका विभिन्न भागमा रहेका रेडियोहरुसँग नेटवर्क बनाई समाचार प्रसारण गर्ने सामुदायिक सूचना नेटवर्क, उज्यालो नेटवर्क र नेपाल एफएम नेटवर्कले त बेलुकासम्म पत्रपत्रिका नपुग्ने ठाउँका स्रोतालाई बिहानै राजधानीका पत्रपत्रिका पढेर सुनाउने गर्छन्। दैनिक पत्रिकामा प्रकाशित हुने समाचार, लेख रचना, साहित्यदेखि कार्टुन र तस्बिरसमेत रेडियोले पढ्ने गरेका छन्। जिल्लामा खुलेका रेडियोले पनि त्यहाँ निक्लने स्थानीय पत्रिका वाचन गर्ने गरेको पाइन्छ। त्यसैले एफएम रेडियोले पत्रपत्रिकाको विषय आमनागरिकमाझ पुर्‍याउन र पत्रपत्रिकाको प्रसिद्धि वृद्धिका लागि केही भूमिका खेलेको भन्न सकिन्छ।

राजनीतिक परिवर्तनका लागि भएको पछिल्लो जनआन्दोलनमा रेडियोले खेलेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो। शाही शासनमा समाचारमा रोक लगाएकोविरुद्ध सडकमा बसेर समाचार भनेको, एकोहोरो शंख बजाएर सरकार विरोधी आन्दोलन गरेको स्मरण अझै झलझली आउँछ।  २०६१ साल माघ १९ गतेको शाही कु सँगै रेडियोले समाचार भन्नसमेत पाएका थिएनन्। तर अहिले एफएम रेडियोको विकास विश्वलाई नै नमुना प्रस्तुत गर्ने गरेर भएको छ। राजधानीकेन्द्रित केही रेडियो प्रसारण संस्था तथा रेडियो प्रसारक समूहहरुले देशभर फिँजिएका सामुदायिक, व्यावसायिक, शैक्षिक तथा कृषि रेडियोहरुलाई आफ्नो प्रसारण सञ्जालमा आबद्ध गरी समाचार तथा विचारमुलक कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएका छन्। यी नेटवर्कले समाचार बुलेटिन तथा कार्यक्रमलाई सदस्य रेडियोहरुमा डिटिएच, भू–उपग्रहीय एमपिइजी रिसिभर, टेलिफोन हुकिङ्ग, अप्टिकल फाइबर तथा इन्टरनेट स्ट्रिमिङका माध्यमद्वारा प्रसारित गर्ने गरेका छन्। देशभरका स्थानीय तथा राष्ट्रिय खबरहरुसँगै अन्तर्राष्ट्रिय घटनाक्रम एवं अर्थ वाणिज्य, खेलकुद तथा मनोरञ्जनात्मक सामग्री एवं समसामयिक अन्तर्वार्ताहरु समेटी राजधानी सहर काठमाडौंमा उत्पादन हुने नेटवर्क समाचार बुलेटिनहरुमा सदस्य रेडियोका सञ्चारकर्मीद्वारा उत्पादित वा सम्प्रेषित समाचार सामग्रीसमेत प्रसारण हुने गरेको छ।

आबद्धता, सामुदायिक सूचना नेटवर्क (सिआइएन)

प्रकाशित: २७ भाद्र २०७३ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App