६ वैशाख २०८१ बिहीबार
अर्थ

असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

काठमाडौं- चीनबाट ल्याउन लागेको इन्टरनेट सञ्चालनको लागि यसै महिनाभित्र व्यावसायिक सम्झौता हुने भएको छ। चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुल्नेछ।

दुई देशका टेलिकमबीच व्यावसायिक सम्झौताको तयारी भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए। 'असार महिनाभित्र इन्टरनेट ल्याउने सम्झौता हुन्छ,' आचार्यले भने, 'उनीहरूसँग ब्यान्डविथ किन्ने सम्झौता भएपछि हाम्रा ग्राहकले प्रयोग गर्न पाउने छन्।' असारभित्र व्यावसायिक सम्झौता भएपछि साउनबाट चीनबाट ल्याएको इन्टरनेट प्रयोगमा आउने उनले जानकारी दिए।

उनका अनुसार व्यावसायिक सम्झौताको लागि नेपाल टेलिकम र चाइना टेलिकमका कानुनी टोलीले सम्झौताको मस्यौदामा काम गरिरहेका छन्। दुई देशका टोलीले तयार पारेको मस्यौदा अध्ययन गरिरहेको टेलिकमका सह–प्रवक्ता डिल्ली अधिकारीले बताए। 'चिनियाँ टोलीले मस्यौदामाथिको प्रतिक्रिया पठाएको छैन,' अधिकारीले भने, 'प्रतिक्रिया आएपछि मस्यौदाले अन्तिम रुप लिन्छ।'

व्यावसायिक सम्झौतामा मूल्य, कानुनी प्रावधान, सञ्चालनमा आउने समस्या समाधान लगायत सम्पूर्ण विषय समावेश गरिनेछ। ती प्रावधानले दुई देशबीच इन्टरनेट आदनप्रदानमा सहयोग पुग्नेछ।

चीनबाट इन्टरनेट आएपछि सस्तो पर्ने भनिए पनि अहिलेसम्म कति मूल्य पर्ने भन्ने यकिन भएको छैन। हाल नेपालमा प्रयोग भइरहेको भन्दा सस्तो पर्छ भनेर भन्न नसकिने अधिकारीले बताए। सस्तो पर्ने/नपर्ने विषय चाइना टेलिकमले ब्यान्डविथ कतिमा दिन्छ भन्नेमा भर पर्नेछ।

चीनबाट इन्टरनेट आएपछि नेपाललाई इन्टरनेट सुविधा दिने सप्लायरबीच भने प्रतिस्पर्धा बढ्ने छ। अहिलेसम्म नेपालले भारतीय कम्पनीहरू बिएसएनएल, टाटा, एयरटेल, भारत पञ्जाव, र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ। चाइना टेलिकमसँग ब्यान्डविथ किन्ने सम्झौतापछि भारतसँगको निर्भरता घट्ने र सप्लायरबीच प्रतिस्पर्धा हुने विश्वास नेपाल टेलिकमले लिएको छ। नेपाललाई इन्टरनेट सप्लायरहरू बीच प्रतिपर्धा भयो भने नेपाली इन्टरनेट सेवा प्रदायकले सस्तोमा ग्राहकलाई दिने विश्वास लिइएको छ।

नेपाल टेलिकमले केरुङको बाटो हुँदै ल्याइने इन्टरनेटको परीक्षण भइरहेको जनाएको छ ।

चीनले भारत र भारतले चीनको बाटो हुँदै इन्टरनेट किन्न सक्छ। त्यसका लागि नेपाल हब हुनेछ। टेलिकमले धादिङको गल्छीबाट रसुवागढीसम्म इन्टरनेट ल्याउन अप्टिकल फाइबर जडान गरिसकेको छ।  हाल भारतबाट ल्याइएको इन्टरनेट रक्सौल, भैरहवा र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत ल्याइएको छ।

चीनबाट इन्टरनेट आएपछि नेपाललाई इन्टरनेट हब बनाउन सकिने आचार्य बताउँछन्। 'नेपाल भारत र चीनबीच इन्टरनेटको ट्रान्जिट बन्न सक्छ,' आचार्यले भने, 'यहाँबाट भारत र चीनलाई इन्टरनेट, डाटा लगायत विषयमा पठाउन सकिने हब बनाउन सकिन्छ।'

 

नेपाल टेलिकमले अभिभावकको भूमिका खेल्नुपर्छ

सुमनलाल प्रधान, अध्यक्ष, इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन, नेपाल

नेपालमा गुणस्तर र सस्तो इन्टरनेट सेवा प्रदान गर्न नेपाल टेलिकमले अभिभावकको भूमिका खेल्नुपर्छ। राज्यको सबैभन्दा ठूलो संस्था भएको र चीनबाट नयाँ सम्झौता गरेर इन्टरनेट ल्याउने भएपछि अब पुरानो सोच बदलिनु पर्छ। चीनबाट इन्टरनेट आएपछि सस्तो मूल्य पर्ने भनिए पनि यो टेलिकममा भर पर्ने कुरा हो। चीनबाट ल्याएको इन्टरनेट अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीलाई त्यही मूल्यमा दिनसक्नु हुन्छ त?

अहिले पनि भारतबाट ल्याएको इन्टरनेट कुनै आइएसपीले किन्न चाहे भने दोब्बर मूल्य पर्छ। चीनबाट पनि इन्टरनेट ल्याउँदा यस्तै हुने हो भने सस्तो पर्छ भन्ने सकिँदैन।

चीनबाट इन्टरनेट ल्याउनु भनेको आफैंमा राम्रो कुरा हो। अब इन्टरनेट प्रयोगको लागि धेरै नाका खुला हुने भए। राज्यस्तरबाट इन्टरनेट व्यापार सुरु भएपछि मात्र निजी क्षेत्रले पनि गर्न सक्छ। भारतमा निर्भर रहेको इन्टरनेटको लागि चीनतिरका नाका खोल्न सकिएको थिएन। यो निजी क्षेत्रको लागि पनि उत्साहको विषय हो।

अहिले हामी पर्ख र हेरको अवस्थामा छौं। चीनबाट ल्याएको इन्टरनेटको गुणस्तर कस्तो होला?, मूल्य कति पर्ला? भनेर उत्सुकतासाथ कुरिरहेका छौं।

 

 

 

 

प्रकाशित: ९ असार २०७३ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App