७ वैशाख २०८१ शुक्रबार
अर्थ

वैदेशिक रोजगारीले परिवारको बिचल्ली

टीकापुर- युवाको आकर्षण बढेको वैदेशिक रोजगारीले धेरै परिवारलाई बिचल्लीमा पारेको छ। समाजमा वैदेशिक रोजगारीले धनमात्रै नभई ज्यान समेत गुमाएका प्रशस्त घटना छन्। टीकापुर नगरपालिकाका ३२ वर्षका करनबहादुर थापाले मलेसियामा ज्यान गुमाए। उनको २०७२ वैशाख १९ गते घरको छतमाथिबाट खसेर ज्यान गएको थियो। परिवारका अनुसार जेठ ९ गते उनको शव घर पुर्‍याइयो।

प्रशस्त पैसा कमाउने आसमा त्यहाँ पुगेका उनको शव घर पुगेपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। श्रीमती सीता र छोरी करुणा बेसहारा बनेका छन्। ९ वर्षकी छोरी करुणा स्थानीय खड्ग स्मृति माविमा कक्षा ५ मा पढ्छिन्। जीवन साथी गुमाउँदा एक्लो बनेकी करनकी श्रीमती माइतीमा बस्दै आएकी छिन्।

उनी सशस्त्र प्रहरीको हवल्दार पदको जागिर छोडेर वैदेशिक रोजगारीमा गएका थिए। दुई वर्षको लागि गएका उनी धेरै पैसा कमाउने सोचमा करिब पाँच वर्ष बसे। सोही क्रममा उनको ज्यान गयो। सरकारले भिसा अवधिभन्दा बढी बसेको भन्दै अवैध ठहर गर्‍यो। जसका कारण उनका परिवारलाई राहत दिन मानेन।

'शव घरसम्म पुर्‍याउन सहयोग गर्‍यो बाँकी केही सहयोग पाएनौं,' सीताले भनिन्, 'कमाउने व्यक्ति नै गुमेपछिका दिन निकै कष्टकर छन्।'

टीकापुरकै सीतापुरका ३७ वर्षे सर्जन दमाई मलेसिया गएको सात वर्ष भयो। वृद्ध आमाबुबा, श्रीमती, दुई छोरा र दुई छोरी छोडेर बिदेसिएका उनी पूर्ण रुपमा सम्पर्कबिहीन भएको ६ महिना बित्यो।

उनका बुबा खण्टे दमाईका अनुसार त्यसअघि पनि उनी ५–६ महिनाको फरकमा घर–परिवारको सम्पर्कमा आउँथे। उनले पैसा पठाउन छोडेको चार वर्ष भयो। उल्टै गत वर्ष जेठमा उनले घरपरिवारसँग एक लाख रुपैयाँ मागे। बुबा–आमाले जग्गा बैंकमा धितो राखेर पैसा पठाए। त्यसपछि नागरिकता मागे। त्यो पनि पठाए।

'त्यसपछि न आफू फोन गर्छ न हामीले गर्दा रिसिभ गर्छ,' उनका बुबा खण्टेले भने, 'पैसा कमाउन भनेर विदेश गएको छोराले उल्टो ऋणमा डुबायो।'

जग्गा धितो राखेको वित्तीय संस्थाले लिलामीको सूचना पठाएको छ। ऋण तिर्न परिवारसँग कुनै विकल्प छैन। श्रीमती दुई छोरी बोकेर पैसा कमाउन भारत पसेकी छिन्। उनीहरुले कमाएको पैसाले साँझ बिहानको हातमुख जोड्न मात्रै पुग्छ।

'एक्लो छोरो त्यो पनि बेपत्ता भएपछि टुहुरा भएका छौं,' उनकी आमा पवित्राले भनिन्, 'यो दुःखबाट कसले पार लगाइदेला।'

टीकापुर बन्दीपुरका २५ वर्षका रामकृष्ण चौधरी रोजगारीका लागि दुबई पुगेर एक महिनामा फर्किए। दलालले पर्यटन भिसामा लगेका कारण उनी एक महिनामै फर्किनु पर्‍यो। उनी दुई लाख ७५ हजार रुपैयाँ तिरेर काठमाडौंस्थित रिचहुड ओभरसिजबाट वैदेशिक रोजगारीमा गएका थिए।

कक्षा १२ पास गरेका उनी राम्रो आम्दानी हुने प्रलोभनमा परेर त्यहाँ पुगेका थिए। उनलाई दलालले आठ घन्टा काम गर्दा १५ सय दिराम पाउने प्रलोभन देखाएका थिए। रामादा होटलको एक महिने बसाइमा पनि जागिर नपाउने भएपछि उनलाई एजेन्ट खेम जोशीले नेपाल फर्काइदिए। जोशीले अर्कोपटक पुनः लैजाने आश्वासन दिएको उनले बताए।

'तयार भएर बस्नु फेरि जानुपर्छ भनेको थियो,' उनले भने्क 'अहिले फोन सम्पर्क गर्दा वास्ता गर्दैन।'

उनलाई दाजु कृष्णबहादुरले दलालकहाँ पुर्‍याएका थिए। दलाल पनि चिनेजानेका महेन्द्रनगरका विरेन्द्र चौधरी हुन्। 'जागिर भनेअनुसार नभए पैसा फिर्ता दिन्छु भनेको थियो,' उनले भने, 'खेती किसानी गरेको पैसा डुब्यो।'

पैसा दिँदा कागज नगरेका कारण दलालसँग पैसा फिर्ता माग्न पनि उनलाई समस्या परेको छ। उनीसँगै गएका जनक चौधरी र मंगल चौधरी पनि काम नपाएर फर्किए। उनीहरुको समेत पैसा डुब्यो। तीन लाख ५ हजार तिरेर दुबई पुगेका जनक घरबाट ३० हजार पठाएपछि फर्किए।

उनीहरुसँगै जाने तयारीमा रहेका विजय चौधरी भने गएनन्। उनको २५ हजार रुपैयाँ दलालले कुम्ल्यायो। सामी परियोजनाका धनबहादुर मगरले सम्झाएपछि विजयले विदेश जाने कुरा त्यागेका हुन्। मगरले उनीहरु सबैलाई पर्यटन भिसामा रोजगारीका लागि विदेश नजान सम्झाएका थिए।

'विदेश जानेलाई मात्रै होइन। उनीहरुका परिवारलाई समेत निकै सम्झाएँ,' सामीका धनबहादुरले भने, 'तर मेरो कुरामा उनीहरुले विश्वास गरेनन्।'

यिनीहरु प्रतिनिधि पात्र मात्रै हुन्। यस्ता समस्या भोग्नेमा कैयौं परिवार छन्। कतिले ज्यान गुमाएका छन्। कति घरपरिवारको सम्पर्कबाहिर छन् भने कतिपय काम गर्न नसकेर फर्केका छन्।

केही युवाले वैदेशिक रोजगारीबाट पैसा आर्जन गरेका छन्। उनीहरुको आम्दानी देखेर कैयौं युवा वैदेशिक रोजगारीमा जान हौसिने गरेका छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच उनीहरुमा देख्न सकिन्छ। उनीहरुले वैदेशिक रोजगारीमा जाने प्रक्रियाबारे चासो समेत दिएको पाइँदैन। जसका कारण थुपै्र युवाहरुले दुःख पाएका छन्। उनीहरुका कारण परिवारका सदस्यहरुले समेत सास्ती भोग्नु परिरहेको छ।

प्रकाशित: ९ असार २०७३ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App