६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरा–नयाँदिल्ली उडान गर्ने बुद्धको तयारी

काठमाडौं– निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखराबाट भारतको राजधानी नयाँदिल्ली उडान गर्ने भएको छ। यसका लागि कम्पनीले आन्तरिक तयारी अघि बढाएको छ।

पोखराबाट नयाँदिल्लीका लागि ७२ सिट क्षमताको ‘एटिआर७२–५००’ सिरिज जहाज प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ। ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनासाथ हामी त्यहाँबाट दिल्लीका लागि दैनिक उडान गर्छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मंगलबार नागरिकसँग भने, ‘अहिले सञ्चालनमा रहेको विमानस्थलबाट भने उडान गर्न मिल्दैन।’

नयाँ विमानस्थलबाट दिल्लीका लागि दैनिक दुईदेखि तीन उडान गर्ने योजना बनाइएको बस्नेतले जानकारी दिए । एटिआर७२–५०० जहाज लिएर दिल्ली जाँदा वित्तीय हिसाबले जोखिम कम हुने उनको भनाइ छ । पोखराबाट १ घन्टा १५ मिनेट उडेपछि दिल्ली पुग्न सकिन्छ ।

‘पोखराबाट दिल्ली उडान गर्ने भनेरै हामीले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स नवीकरण गरेर राखिरहेका हौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘यो सेक्टर हाम्रा लागि नाफायोग्य हुनेमा विश्वस्त छौं ।’

उनका अनुसार दिल्लीबाट विभिन्न गन्तव्यका लागि वार्षिक १० करोड सिट उपलब्ध हुने गर्छ । यसमा ट्रान्जिट यात्रुदेखि विदेशी र नेपाली यात्रु पर्छन् । त्यसबाहेक नेपाल भ्रमण गर्न आउने कुल पर्यटकको ७० प्रतिशत पोखरा पुग्ने गरेको तथ्यांक छ । यो संख्यालाई पोखराबाट दिल्ली ‘डाइभर्ट’ गर्ने बुद्धको योजना छ ।
‘पोखरा–दिल्ली सेक्टरको उडान सफल भयो भने हामी जेट इन्जिन जहाज ल्याउँछौं,’ बस्नेतले भने, ‘अहिले हामीसँग भएका सबै आठ जहाज टर्बोप्रप इन्जिनयुक्त हुन् । पोखरा–दिल्ली सेक्टरले मुलुकको पर्यटन उद्योगमा ठूलो योगदान दिनेमा हामी निश्चिन्त छौं ।’

आन्तरिक उडानसँगै पोखरा–दिल्ली उडान सञ्चालनको तयारी तथा यसलाई सफल पार्न करिब ८ सय ५० कर्मचारी लागिरहेको उनले बताए । बुद्धले गत वर्ष स्थापनाको १८ वर्ष पूरा गरेको थियो । यस अवधिमा आइपुग्दा कम्पनीले आन्तरिक उडानतर्फ करिब ७० प्रतिशत बजार हिस्सा ओगटेको छ ।

बुद्धले उडान सुरु गरेर २०७२ असोजसम्म आइपुग्दा स्वदेशी तथा विदेशी गरी ७८ लाख यात्रुलाई गन्तव्यसम्म पु¥याइसकेको थियो । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । ‘अहिले हामी वार्षिक ९ लाख यात्रुलाई गन्तव्यमा पु¥याइरहेका छौं,’ बस्नेतले भने ।

बुद्धले हालै ‘इन्टरनेसनल सेफ्टी अडिट’ पूरा गरेको छ । ९ सय ५८ वटा मापदण्डअनुसार अडिट पूरा भएको कम्पनीले जनाएको छ । ‘उडान सुरक्षामा हामी कति गम्भीर छौं र कसरी काम गर्छौं भन्ने यसखालको अडिट पूरा हुनु भनेको नेपाली उड्डयन क्षेत्रकै लागि महŒवपूर्ण उपलब्धि हो,’ प्रबन्ध निर्देशक बस्नेतले भने ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठवटा जहाजबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यमा उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ तथा पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

यसले दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ । बुद्धले भारतको बनारसका लागि पनि उडान गरिरहेको छ । कम्पनीसँग हाल ७२ सिट क्षमताका तीनवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमताका तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज सञ्चालनमा छन् । यी आठ जहाजको मूल्य करिब ६ अर्ब रुपैयाँबराबर रहेको छ ।

नेपालबाट २ घन्टा ३० मिनेट दुरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ ।
कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । यसले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमतर्फ पूर्वी तराईमा सहकारीमार्फत करिब १ हजार बिघा क्षेत्रफलमा पूर्णयान्त्रीकरण तथा ‘एसआरआई’ विधिबाट खेती सञ्चालन पनि गरिरहेको छ ।

विश्व बैंकको १ अर्ब ऋण चुक्ता

बुद्ध एयरले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग लिएको १ करोड अमेरिकी डलर (ऋण सम्झौता हुँदा १ अर्ब रुपैयाँ) चुक्ता गरेको छ ।

‘तोकिएको समय सीमाभन्दा साढे दुई वर्षअघि नै आइएफसीलाई सबै ऋण चुक्ता ग¥यौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘प्रत्येक तीन महिनामा तिर्नुपर्ने सावाँ र ब्याजमा हामी कहिले पनि ढिला भएनौं ।’

उनका अनुसार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्लोज्ड डोर ह्यांगर’ निर्माण गर्न र ४७ सिट क्षमतायुक्त दुई थान ‘एटिआर४२–३२०’ सिरिजका जहाज खरिद गर्न आइएफसीसँग सन् २००८ सेप्टेम्बरमा १ करोड डलर ऋण लिएको थियो ।

बुद्धले ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ । विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो ।

 

प्रकाशित: ८ असार २०७३ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App