७ वैशाख २०८१ शुक्रबार
समाज

संसारकै गहिरो अन्धगल्छी जोखिममा

सडक विस्तारमा कुरूप बनेको संसारकै गहिरो अन्धगल्छी। तस्बिर: हरिकृष्ण गौतम

म्याग्दी- विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाँजिर जवाफमा पटक–पटक सोधिने प्रश्न मध्ये एक हो। नेपालमा आधारभुत तहदेखी उच्च शिक्षासम्म अध्ययरत विद्यार्थीदेखी विश्वभर धेरैले यसको सजिलै एउटै जवाफ दिन्छन्–म्याग्दीको अन्धगल्छी।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित अन्धगल्छीको विश्वभर चर्चा भइरहेको छ। गल्छीको अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटक समेत पुग्छन्। सांसरकै गहिरो गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरउन्नतीको क्रममा मुख्य आर्कषक मानिएको भाग आधा पुरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ। उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्व तथा ४ नं प्रदेशकै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजमा शर्मा गजुरमुखी जेभीले काम गरिरहेको छ।

‘गल्छी हेर्न गएका पर्यटक निरास भएर फर्कछन्। सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव छैन’ वडा सदस्य हस्तबहादुर पुनले भने। उनले अन्नपूर्ण पदमार्ग,मुस्ताङको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्ने गरेको बताए। ‘साँघुरो गल्छी भएकाले पनि ठूला ढुंगा बर्खाको समयमा समेत बगाउन मुस्किल हुन्छ। समयमै संरक्षणका लागि पहल आवश्यक छ’ उनले भने। स्थानीयबासीले सिमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाएपनि बजेट अभावमा मर्मत हुन सकेको छैन। गल्छीको उचाई १३ सय मिटरदेखी २६ सय मिटरसम्म धौलागिरी र अन्नपूर्ण चुचुरोबाट ५५ सयदेखी ६८ सय मिटर तल पर्छ। विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत ब्याख्या गर्ने गरेका छन्।

छिमेकी देश चीनको तिब्वतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ। ‘पूर्वाधारको अभावमै धेरै समस्या भइरहेको छ। अझै गल्छी नै संकटमा परेपछि सबैको चासो पुग्नुपर्छ’ धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले भने। उनले रुप्से झरना र अन्धगल्छी विश्वकै नमुना पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जलविद्युत आयोजना बनाउने र सडक विस्तार गदैं गल्छीको नाश गर्न खोजिएको आरोप लगाए। उनले म्याग्दीले हजारौं पर्यटकलाई लोभ्याउन सक्ने गन्तब्यलाई संरक्षण गदैं आवश्यक पूर्वाधार विस्तार गर्नुपर्नेमा जोड दिए।  यता शर्मा गजुरमुखी जेभीका सुपरभाईजर इन्द्रसिंह शेरचनले सडक विस्तारमा अन्धगल्छीलाई जोगाउने प्रयास भइरहेको दावी गरे। ‘हाम्रो सम्पत्ती हो, मैले मजदुरलाई सम्झाइरहेको छु’ शेरचनले भने। उनले सडक विस्तारमा पर्यटकले हेर्न मिल्ने अन्धगल्छीको माथिल्लो क्षेत्रबाट सचेत भएर काम गरिएको बताए। माटोलाई बर्खामा बगाउने  र साना ढुंगाले असर नगर्ने दावी गरे। दुलर्भ शालिग्राम पाइने एकमात्र नदी कालिगण्डलाई मुक्तिनाथदेखी देवघाटसम्म संरक्षण गरी धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिने गरिएको छ।

 

 

 

 

 

 

प्रकाशित: १० चैत्र २०७४ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App