८ वैशाख २०८१ शनिबार
समाज

गाउँमा सिंह आए तर दरबार आएन

बाहिरी गामको ठुलोगाउँ। तस्बिरः नागरिक

रोल्पा – सिंहदरबारको अधिकार गाउँ सम्म ल्याएको बताउँदै निर्वाचनमा भोट मागेका जनप्रतिनिधि बसेको केन्द्र सम्म पुग्नै जनतालाई सास्ती भएको छ।

अब त घर छेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका रोल्पाका गमालीहरू यतिबेला निरास छन्। हिजोका दिनमा ४१ किलोमिटर कच्ची सडक ‘गाम हुँदै सुलिचौर’ पुगेर २९ किलोमिटर पक्की सडकको यात्राले सदरमुकाम लिवाङ पुगेका गमालीहरू अहिले आफूहरू अन्यायमा परेको अनुभब गर्दैछन। उनीहरू आज पनि सुलिचौर त आउँछननै तर गाउँपालिकाको केन्द्र पुग्न फेरी २७ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ।

‘हामी हाम्रो गाउँपालिकाको केन्द्र सम्म पुग्न लुङग्री गाउँपालिकाको केन्द्र किलाचौरलाई बायाँ पारेर सुनिल स्मृति गाउँपालिकाको केन्द्र हुँदै पोवाङ पुग्छौ। कहि नभएको अन्याय भएको छ। भारी नबाेकी हामी जस्ता केटाहरू छिटो छिटो हिड्दा भने ४–५ घण्टा लाग्छ। गाडीमा जादा पनि उत्तिकै समय लाग्छ। गामबाट सुलिचौर ५ सय, सुलिचौर पोवाङ २५० गाडीभाडा तिरेर केन्द्र सम्म पुग्नु पर्छ। अहिले ७५० लाग्छ बरु पहिले ६ सयमा सदरमुकाम पुगिन्थ्यो। छिटो पनि हुन्थ्यो।’ बाहिरी गाम स्थीत ठूलाेगाउँका गोबिन्द बुढाले सुनाए।

योजना संझौता लगायत सानो सानो सेवा लिन पनि ठूलो मेहनतका साथ मात्र स्थानीय सरकार भेटिन्छ। ‘गाउँ गाउँमा सिंहदरबार होइन सिंह चाहि आए दरबार आएन। यस्तो पनि हुन्छ। जनतालाई सजिलो गराएको कि दुख दिएको। बल्ल बल्ल गाउँपालिकामा गयो त्यहाँ पनि कुनै सुविधा छैन। न बत्ति छ, न छेउमा बैङ्क छ। एक दुई जना कर्मचारी छन। उनीहरूले काम गर्नै भ्याउदैनन्। ५० हजारको एउटा योजना संझौता गर्न जानेहरूको उस्तै परे आदी रकम आउँदा जादा खाना बासमै सकिन्छ।’ गाम ठूलोगाउँका देउसिंह घर्ती स्टोनले भने।

बाग्लुङको सिमानासँग जोडिएको गाम आफैमा अभाव भित्र छ। झनै स्थानीय सरकारनै पहुँच बाहिर भए पछि गमालीहरू चिन्तित भएका हुन्। ‘हाम्रोमा न बत्ति छ, न त फोन लाग्छ। खानेपानीको पनि त्यत्तिकै समस्या छ। बाहिर गामसम्म त कच्ची सडकले हिउँदमा अलि अलि काम दिएको छ। भित्री गामको कुनै गाउँ जान त यहाँबाटै तिन चार घण्टा लाग्छ। मगरात क्लस्टर मिलाउने नाममा नेताले गरेको राजनीतिले गर्दा हामीले दुख पाएका छौ। गाउँपालिकाको केन्द्र जान उल्टो बाटो हिडेर जानु पर्छ।’ जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बागबिर घर्तीले भने। ‘बिकास क्रमका हिसाबले हामी त धेरै पछाडी छौ।’

यो गाउँ माओबादी द्वन्द्व ताका सबै जसो नेताको सुरक्षित पैदल मार्ग र रात बिसाउने ठाउँ थियो। ‘यही गाम भएर दर्जनौ पटक हिडेका प्राय धेरै सत्तामा पुगिसके तर हामीलाई भुले। आज पनि पानी आयो भने बाटो बन्द हुन्छ । भित्रि गाममा त अझै बाटोको ट्रयाक समेत खुलेको छैन।’ स्थानीय देउसिंह घर्ती स्टोनले गुनासो गरे। ‘सब यो बिगार्ने जिल्लाका नेताको काम हो। मगर क्लस्टर मिलाउने भन्दै यी यता हामी मगरलाई नै दुख। नेताको चुनावी स्वार्थले गमालीलाई फसाए।’

‘हाम्रो लागि त उल्टो भयो। पैदल जादा पनि चार पाँच घण्टा लाग्छ। गाडीमा जादा पनि उस्तै हो। दुईवटा गाउँपालिकाको केन्द्र हुँदै आफ्नो केन्द्र पुगिन्छ। यतैबाट सिधै पोवाङ जोड्ने बाटो खने त हुन्थ्यो नि। गरे जस्तो गर्छन तर सबै अपुरो मात्र गर्छन। भन्ने बेलामा गाउँगाउँमा सिंहदरबार भने अहिले त सिंह चाहि टोलटोलमा छन तर दरबार उतै छ।’ स्थानीय समाजसेवी धु्रब गमालले भने।

प्रकाशित: १० चैत्र २०७४ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App