ब्रसेल्स- स्नायुप्रणालीमा असर पुर्याउने गरी भएको एउटा आक्रमणलाई लिएर बेलायत र रसियाबीच रहेको चरमविवादले युरोपेली संघ ईयुमा पनि प्रवेश पाएको छ।
ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकपछि इयूले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम चालिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउ उक्त प्रक्रियालाई अघि बढाउन लागिएको इयूका अधिकारीले बताए।
इयूले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ब्रसेल्समा युरोपेली संघका शीर्ष नेताहरूको बैठकले रुसबाट आफ्ना राजदूत फिर्ता गर्ने कदम लिएको छ । विवादमा बेलायतप्रति ऐक्यवद्धता जनाउन उक्त प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ।”
इयूको बैठकमा रुसी पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि विषालु पदार्थ प्रयोग गरी भएको आक्रमणमा मस्कोको संलग्नताको सम्भावना अत्यधिक रहेको निष्कर्ष निकालिएकोे जनाइएको छ।
उक्त काण्डका कारण विरामी दुवैजनाको अवस्था गम्भीर छ र उनीहरूको उपचार चलिरहेको छ ।यसपहिले बेलायतले २३ रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको थियो भने प्रतिक्रियास्वरुप रुसले पनि त्यति नै सङ्ख्यामा बेलायती कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ।रासस
प्रकाशित: १० चैत्र २०७४ ०५:५८ शनिबार