coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

परीक्षा केन्द्रमा अधिकार क्षेत्र मिच्दै प्रहरी, जुम्लामा तनाव

जुम्ला– विहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षामा प्रहरी हस्तक्षेप बढेको छ। जुम्लाको तिला गाउँपालिका १ स्थित सिता माध्यमिक विद्यालय रारालिही केन्द्रमा प्रहरीको हस्तक्षेप देखिएको हो। सहायक केन्द्राध्यक्ष दिपेन्द्र हमाल प्रहरी नै परीक्षा हलमा प्रवेश गरेर निगरानी गर्न थालेपछि परिक्षार्थी त्रसित भएको बताउँछन्। उनले भने, ‘प्रहरीको काम परीक्षा केन्द्र बाहिरको सुरक्षा गर्ने हुनुपर्ने हो, तर परीक्षा हलमा प्रवेश गरेर निरीक्षक र परिक्षार्थीलाई समस्यामा पार्दै आएका छन्।’

केन्द्राध्यक्ष मानवहादुर शाही प्रहरी चौकी रारालिहीका असई ईश्वरबहादुर शाहीले बर्दी लगाएरै परीक्षा हलमा पस्दा समस्या आएको बताए। उनले भने, ‘सुरक्षाकर्मीले गर्नुपर्ने काम निर्वाह गर्नुस, हामी हाम्रो भुमिकामा बस्छौ भन्दा पनि अटेर गर्ने गरेका छन्।’ उनका अनुसार सुरक्षाकर्मीले अधिकारको सीमा नाघेर आउँदा परीक्षा सञ्चालनमा कठिनाई भएको छ।

सो परिक्षा केन्द्रमा १ सय ६५ जना परिक्षार्थी सहभागी भएकोमा ५ जना अनुपस्थित छन्। ‘परीक्षा केन्द्रको बाहिरी वातावरण निकै सुनसान देखिन्छ, अभिभावकले तनाव दिइएको पाइँदैन’, केन्द्राध्यक्ष शाहीले भने, ‘सुरक्षाकर्मीको प्रमुखले अधिकार नाघेर काम गर्न खोज्दा भित्री वातावरण असहज बनेको छ। दैनिक यस्तै खाले हस्तक्षप रहेमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन।’

प्रहरी पोशाकमै  कोठाकोठामा छिरेको देख्दा संकटकालको अनुभुति भइरहेको बिद्यार्थीहरु बताउँछन्। उनीहरुले आफूहरुलाई निर्धक्क पूर्वक लेख्ने वातावरण मिलाइदिनको लागि आग्रह गरेका छन्। परीक्षाको हलभित्र प्रवेश गर्ने, विद्यार्थी र शिक्षकलाई निगरानी राख्नेदेखि विद्यार्थीको स्वतन्त्रपूर्वक लेख्न सकिने वातावरणलाई खल्बलाईदिने गरेको आरोप स्थानीयको छ।

परीक्षा केन्द्रका निरीक्षक टोपबहादुर शाही असई शाहीले निरीक्षकलाई समेत हटाइदिने चेतावनी दिने गरेको गुनासो गरे। उनले भने, ‘रनिङ गार्डलाई भित्र जान दिँदैन । परीक्षा हलमा खटिएका गार्डलाई समेत मानसिक रुपमा तनाव दिने गरेका छन्।’ तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले असई शाहीका कारण परीक्षा हलमा विद्यार्थीलाई समस्या परेको बताइन। ‘अहिले पनि पोशाक लगाएको प्रहरी देख्दा डराउनु पर्ने अवस्था छ’, उनले भनिन, ‘परीक्षा हलमै पसेर ज्यादती गर्नु उचित होइन्।’ उनले प्रहरी र केन्द्राध्यक्षको टिमलाई आ आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्न सुझाव दिइन। प्रहरीले अनुगमनदेखि निरीक्षकको काम गर्ने भए केन्द्राध्यक्षको टिम किन चाहियो’, उनले भनिन।

परीक्षा केन्द्रका अनुसार दोस्रो दिनको परिक्षामा पेपर आफूले बाँड्ने चेतावनी असईले दिएका छन्। प्रहरीले परीक्षा केन्द्रमा हस्तक्षेप गरेपछि केहिबेर केन्द्रमै तनाव भएको थियो।

परीक्षा हलमा पसेर चिट खोस्ने, केन्द्राध्यक्ष र निरीक्षकको अधिकार समेत उनले खोसेको आरोप छ।

प्रकाशित: ८ चैत्र २०७४ १२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App