coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बधाई कार्यक्रममा मन्त्री नै अनुपस्थित

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले बुधबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र श्रममन्त्री गोकर्ण विष्टलाई बधाई दिन राखेको अन्तरक्रिया कार्यक्रममा दुवै मन्त्री उपस्थित भएनन्। 

‘वर्तमान सन्दर्भमा खेलकुदको विकास र सम्भावना तथा बधाई’ नाममा महासंघले गरेको कार्यक्रममा सम्बन्धित मन्त्रीहरू अनुपस्थित भए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले वर्तमान सरकार खेलकुदमैत्री भएको भन्न छुटाएनन्।

सदस्यसचिव विष्टले पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका खेलमैदान बनाउने, खेलकुद क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको भन्दै वर्तमान सरकार खेलकुदप्रेमी भएको दाबी गरे। 

बजेट अभावका कारण खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको तर्क गर्दै विष्टले भने, ‘सरकारले उपलब्ध गराएको बजेटलाई अधिकतम प्रयोग गर्दै खेलकुद सञ्चालन गरिरहेका छौं। आगामी दिनमा बजेट एथेष्ट रूपमा उपलब्ध भए खेलकुद क्षेत्र अगाडि बढ्न समय लाग्दैन। वर्तमान सरकारको ध्यान खेलकुदमा परेको छ। त्यसैले अहिलेका युवा तथा खेलकुदमन्त्रीलाई सहज हुनेछ। तर खेल क्षेत्र अगाडि बढाउन खेलकुद निकाय सञ्चालन गर्ने निकाय इमान्दार हुनु आवश्यक छ।’

नेपाल खेलकुद महासंघका अध्यक्ष एवं पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अस्थिर सरकारका कारण नेपालको खेलकुद क्षेत्रले फड्को मार्न नसकेको बताए। सयौंको संख्यामा उपस्थित एमाले कार्यकर्ताहरूको माझमा पूर्वमन्त्री पौडेलले भने, ‘खेलकुदमा सबभन्दा पहिला घोषणापत्र ल्याउने एमाले नै हो। एमाले खेलकुदलाई प्राथमिकतामा राख्ने पार्टी हो। अब स्थायी सरकार बनेको छ । खेलकुदले फड्को मार्नेछ।’

काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित नेकपा एमालेका सांसद तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले विश्वव्यापी मान्यताको आधारमा ऐन र नीति बनाएर अगाडि बढ्नुपर्ने बताए। राखेपका पूर्व सदस्यसचिवसमेत रहेका श्रेष्ठले थपे, ‘अहिलेको सरकारको काँधमा खेलकुदलाई पनि स्थिरतामा लैजाने जिम्मेवारी आएको छ। देशकै गौरवको विषय रहेको १३औं साग समयमै पूरा गर्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढ्नुपर्छ।’
दक्षिण एसियाली ओलम्पिक काउन्सिलका समेत अध्यक्ष रहेका श्रेष्ठले अर्को वर्ष मार्चमा काठमाडौंमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा सरकार गम्भीर हुनुपर्ने विचार राख्दै काउन्सिलको मुख्यालय काठमाडौंमा राख्न पहल हुने बताए।

राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव लामा टेन्डी शेर्पाले खेलकुदको विकास चाहने हो भने झोले संघबाट नेपाली खेलकुदलाई मुक्त पार्नुपर्ने धारणा राखे। ‘सर्वोच्च निकायले चर्चामा आएका खेललाई मात्र प्राथमिकता दिनुभन्दा पनि पदक ल्याउने खेललाई चासो दिनुपर्छ,’ शेर्पाले थपे, ‘पूर्वाधार विकासका नाममा शिलन्यासभन्दा पनि सुरु गरेको भौतिक पूर्वाधार निर्माण सम्पन्न गराई अर्को निर्माण थालनीमा लाग्नुपर्छ।’

दुई मन्त्रीलाई एमालेका खेलकर्मीले सुझाव दिइरहे पनि मन्त्रीहरुको अनुपस्थितिका कारण उनीहरूको उद्देश्य पूरा भएन। मन्त्रिपरिषद्को बैठक परेकाले मन्त्रीहरू अनुपस्थित भएको बताइएको थियो। कार्यक्रममा खेलाडी, प्रशिक्षक र खेलकर्मीको दाँजोमा एमाले कार्यकर्ताको बाहुल्य थियो। 

दुई मन्त्रीलाई एमालेका खेलकर्मीले सुझाव दिइरहे पनि मन्त्रीहरूको अनुपस्थितिका कारण उनीहरूको उद्देश्य पूरा भएन।

प्रकाशित: ८ चैत्र २०७४ ०५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App