७ वैशाख २०८१ शुक्रबार
अर्थ

क्रसर र फिरफिरे सञ्चालनमा नयाँ मापदण्ड

धादिङ- धादिङमा संचालित क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय गरिएको छ। मापदण्ड विपरित संचालित उद्योगको विजुली लाइन काटिएपछि बन्द भएका उद्योगमा नयाँ मापदण्ड लागु गरेको हो । नयाँ मापदण्ड अनुसार फिरफिरे उद्योगलाई राजमार्गको क्षेत्रधिकार र नदीको क्षेत्राधिकार भन्दा सय मिटर बाहिर एवम् सार्वजनिक जग्गा अतिक्रमण नगरी चलाउनु पर्नेछ। कुनै पनि क्रसर तथा वालुवा धुने उद्योगले रातीको समयमा संचालन गर्न पाईने छैन। प्रत्येक उद्योग दर्ता गर्दाका शर्तहरु पालना गरेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र संचालनमा ल्याउन आग्रह गरिएको छ।

जिल्लामा संचालनमा रहेका क्रसर र फिरफिरे उद्योगहरुले उद्योगबाट निष्कासित प्रदुषित पानी लगायतका बस्तुहरुको निकास नदीमा मिसाई नदी प्रदुषित गर्दै आइरहेका छन् । राजमार्गको छेउमा भण्डार गरी सडक अव्यवस्थित भएकालेले तोकिएको मापदण्ड भित्र व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा मंगलबार धादिङबेसीमा बसेको सरोकारवालासँगको बैठकले तत्कालका लागि नयाँ मापदण्ड तोकेको हो।

त्रिशुली नदीलाई स्वच्छ र सफा बनाउनको लागि जिल्लामा संचालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र (फिरफिरे) लगायत खानीजन्य उद्योग व्यवस्थापनका लागि प्रचलित कानून विपरित नहुने गरी संचालन गर्न जिल्ला तहमा नयाँ मापदण्ड लागु गरिएको हो। नयाँ मापदण्ड अनुसार जिल्लामा संचालनमा रहेका क्रसर र फिरफिरे उद्योगहरुले अबदेखि उद्योगबाट निष्काशित फोहोर पानी लगायतका बस्तुहरुको निकास नदीमा मिसाउँदै राजमार्ग छेउमा भण्डार गरेर संचालन गर्न पाउने छैनन।

उद्योगहरुले उद्योगबाट निस्किने फोहोर पानी पूर्ण रुपमा सङ्ल्याएर मात्र पानीको निकास दिने, धमिलो पानी सङलो बनाएर पठाउनु पर्नेछ। यसरी सङलो बनाइएको पानी थिग्राउने ३ तहको ट्याङकी निर्माण गरी सफा पानी मात्रै बाहिर पठाउनु पर्ने मापदण्ड निर्धारण गरिएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए । ‘अहिले भूकम्पपछि पुनर्निर्माणको कार्य तीब्र भइरहेको छ’, प्रमुख नेपालले भने ‘तत्काललाई भूकम्पपछिको पुनर्निर्माणलाई समेत मध्यनजर गर्दै अल्पकालिन व्यवस्थापनको लागि असार मसान्तसम्मको नयाँ मापदण्ड तयार पारिएको हो।’

कार्यदलले तोकेको मापदण्ड पुरा गरेपछि मात्रै स्थानीय तह, जिल्ला समन्वय समिति, नापी कार्यालय, विद्युत्त प्राधिकरण, घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय प्रशासनको संयुक्त निरीक्षण पछि मात्रै उद्योग संचालनको अनुमति पाउने भएका छन् । सडक तथा नदीको क्षेत्राधिकार र सार्वजनिक जग्गा अतिक्रमण गरी संचालन वा बस्तु भण्डारण गरेका क्रसर उद्योगहरुले तत्काल उक्त क्षेत्राधिकार बाहिर मात्र उद्योग संचालन एवम वस्तु भण्डारण गर्न पाउने मापदण्डमा तोकिएको छ ।

       तयार पारिएको मापदण्ड अनुसार उद्योग संचालन गर्न समितिले अनुरोध गरेको छ । कुनै पनि क्रसर तथा फिरफिरे उद्योगहरुले मापदण्डको उल्लंघन गरेको पाईएमा उक्त उद्योग र उद्योग संचालकलाई कालोसूचीमा राखी उद्योग संचालनमा समेत रोक लगाइने मंगलबार आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए। मापदण्ड पुरा गरेका उद्योगहरुको विद्युत्त लाइन भने पुन जोड्ने, उद्योग नविकरण गर्ने कार्यका लागि स्थानीय तहको सिफारिसमा सम्वन्धित कार्यालयले आवश्यक प्रबन्ध मिलाउने व्यवस्था गरिएको भण्डारीले बताए।

जिल्लास्थित घरेलु तथा साना उद्योगमा जम्मा ७३ वटा बालुवा प्रशोधन उद्योगहरु संचालनमा रहेपनि त्रिशुली नदी आसपासमा मात्रै ४ सय वटा भन्दा बढी उद्योगहरु संचालन भइरहेका छन् । संचालनमा रहेका बालुवा प्रशोधन केन्द्रले न त इजाजत नै  दिएका छन् भने न मापदण्ड नै पूरा गरेका छन् । यस्ता उद्योगहरुले दोहनका साथै आसपासका जमिन पनि भासिएर त्रिशुली नदीलाई नै कुरुप बनाएका छन् । खासगरी जिल्लाको महेशदोभान, बेल्खु, मासटार, गलौदी, चालिसे लगायतका ठाउँमा बढी मात्रामा क्रसर उद्योगहरु संचालनमा छन् । जिल्ला अनुगमन समितिले मापदण्ड विपरित संचालनमा रहेका उद्योगहरुको विजुलीको लाइन काटिएपछि उद्योगहरु बन्द भएका थिए । अब मापदण्डलाई ध्यानमा राखेर संचालनमा ल्याइने समतिले बताएको छ ।

       मापदण्ड अनुसार नचलेका बालुवा प्रशोधन केन्द्र (फिरफिरे) का कारण त्रिशुली नदि धमिलो र लेदो जस्तै बग्ने गरेको थियो । विजुलीको लाइन काटेपछि त्रिसुली सफा बग्न थालेको छ । राजमार्गमा संचालित यस्ता उद्योगहरु नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुको मिलोमतोमै अधिकांश उद्योगहरु संचालित थिए । एक त मापदण्ड विपरित संचालित थिए अर्कोतिर अनाधिकृत रुपमा त्रिशुलीको दोहन गरेको आरोप उद्योग व्यवसायीहरुले खेपिरहनु परेको थियो।

प्रकाशित: ७ चैत्र २०७४ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App