८ वैशाख २०८१ शनिबार
खेल

आइसिसी विश्वकप छनोटमा सफल र असफल खेलाडी

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै छनोटचरणको यात्रा समाप्त ग¥यो । जिम्बाब्वे छनोट प्रतियोगितामा नेपालको सुपर सिक्स यात्राबाट वञ्चित भए पनि पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै सोमबार नेपाल स्वदेश फर्कियो।

सीमित स्रोत र साधानका बावजुद हासिल गरेको यस सफलतालाई जोगाइराख्नु अबको चुनौती हो । कमजोर भौतिक पूर्वाधार, घरेलु संरचना नभएको अवस्थामा नेपालका लागि जिम्बाब्वे यात्रा ऐतिहासिक रह्यो । तथापि प्रतियोगितामा अपेक्षा गरिएका केही खेलाडीको प्रदर्शन बिर्सनलायक रहे पनि नयाँ अनुहारले आशा लाग्दो प्रदर्शन गरे ।
ब्याटिङमा सफल
१. पारस खड्का


राष्ट्रिय टोलीका कप्तान पारस ब्याटिङमा भरपर्दा खेलाडी हुन् । उनी क्रिजमा रहुन्जेल नेपालको आशा कायम रहन्छ । पारसले प्रतियोगिताको ६ खेलमा २ सय ४१ रन जोडे । अफगानिस्तानविरुद्ध सबैभन्दा धेरै ७५ रन बनाएका थिए । तथापि उक्त खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । प्रतियोगितामा २ अर्धशतक पूरा गरेका पारसले लिस्ट ‘ए’ १ हजार रन पनि पूरा गरेका थिए ।
२. दीपेन्द्रसिंह ऐरी


यु–१९ टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले प्रतियोगितामा मध्यम प्रदर्शन गरे । ६ खेलबाट १ सय ४३ रन बनाएका दीपेन्द्रले १२ चौका र ४ छक्का हाने । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्धको जितमा अर्धशतकीय इनिङ खेल्दै ६ विकेटको जित दिलाउन महत्वपूर्ण योगदान गरे । त्यही खेलमा दीपेन्द्रसिंहले ४ विकेट पनि लिएका थिए ।
३. सोमपाल कामी


बलिङ अलराउन्डर सोमपाल प्रतियोगिताका केही खेलमा ‘फिनिसर’को रूपमा पनि चिनिए । सोमपाल नेपालबाट धेरै रन बनाउने चौथो खेलाडी बने । सोमपालले ६ खेलबाट १ सय १२ रन जोड्न सफल भए । सोमपालले समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध अविजित ३७ रनको योगदान गरे । उक्त खेलमा नेपाल ५ विकेटले विजयी भएको थिजयो । यस्तै, सातौ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलमा सोमपालले सर्वाधिक ३६ रन बनाए ।
बलिङमा सफल
सन्दीप लामिछाने


लेग स्पिनर सन्दीप लामिछानेले बलिङमा राम्रो प्रदर्शन गरे । १७ वर्षे सन्दीप प्रतियोगिताभर आइसिसीको वेबसाइटमा छाइरहे । प्रतियोगितामा १३ विकेट लिएका सन्दीपले पिएनजीविरुद्ध सबैभन्दा राम्रो बलिङ गरे । पिएनजीलाई ५ विकेटले पराजित गर्दा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हराइदिएपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चित भएको थियो ।
२. सोमपाल कामी
सोमपालको अलराउन्ड प्रदर्शनले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन ठूलो योगदान रह्यो । प्रतियोगितामा सोमपालले ८ विकेट लिए । नेदरल्यान्ड्सविरुद्ध १० ओभर बलिङ गरेको सोमपालले २ मेडनसहित २४ रन दिएर ४ विकेट लिएका थिए ।
३. ललितनारायण राजवंशी


पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका ललितनारायणले ६ खेलमा ५ विकेट लिए । शक्ति गौचनको ठाँउबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका उनले प्रतियोगितामा कुल ४१ ओभर बलिङ गरेका थिए ।
फ्लप खेलाडी
१. ज्ञानेन्द्र मल्ल


उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालका भरपर्दा ब्याट्सम्यान हुन् । तर, प्रतियोगिताभर ज्ञानेन्द्र मल्ल फ्लप रहे । ज्ञानेन्द्रले ६ खेलबाट ७३ रन मात्र जोड्न सके । प्रतियोगिताको पहिलो खेलमा आयोजक जिम्बाब्वेविरुद्ध बनाएको ३२ रन नै ज्ञानेन्दले बनाएको सबैभन्दा ठूलो स्कोर हो । युवा खेलाडी आरिफ शेख र रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दा ज्ञानेन्द्र भने असफल रहे ।
२. अनिलकुमार शाह


केही खेलमा ओपनिङ ब्याटिङ गरेका अनिलकुमार शाहले आफूलाई प्रमाणित गर्न सकेनन् । चार खेलमा मौका पाएका अनिलकुमारले ५०  रन बनाए । अनिलकुमारको सबैभन्दा राम्रो प्रर्दशन हङकङविरुद्धको २६ रन हो ।
३. दिलीप नाथ


विकेटकिपर ब्याट्सम्यानका रूपमा टोलीमा परेका दीलिप नाथको प्रदर्शन पनि विर्षन लायक रह्यो । पहिलो खेलमा ६ रन जोड्दै पवेलियन फर्किएका दिलीपले ओपनरको भूमिका निर्वाह गर्न सकेनन् ।
बलिङमा फ्लप
१. पारस खड्का

ब्याटिङ लाइनमा चम्किएका कप्तान पारस बलिङमा भने चम्किएनन् ।  १८ ओभर गर्दै १ सय ६ रन खर्चिएका पारस खड्काले कुनै पनि विकेट लिन सकेनन।

प्रकाशित: ७ चैत्र २०७४ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App