८ वैशाख २०८१ शनिबार
विचार

चिटले गर्दैन कसैको हित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ८ गतेबाट सुरु हँुदैछ। शिक्षा ऐनमा आठौँ संशोधन भएपश्चात कक्षा १० मा एसइइ र कक्षा १२ मा एसएएसी परीक्षा हुने भएको हो। परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित गरे पनि चिट चोर्ने/चोराउनेको चर्चामा कमी आएको छैन। एसएलसीको नाम र नतिजा प्रकाशन प्रणाली परिवर्तन भए पनि चिट चोर्ने/चोराउने संस्कारमा कमी आउने छाँट देखिंदैन। परीक्षाको हाउगुजी चाहिँदो भन्दा बढी प्रचारका कारणबाट पनि विद्यार्थीमा मनोवैज्ञानिक त्रासदी फैलिएको छ। विद्यार्थीलाई एक्जामिनेसन फिभरले छोइसकेको छ। फलामे ढोकाका रूपमा चित्रित यस परीक्षामा अधिकतम अंक ल्याएर उत्कृष्ठ स्थान हांसिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनिभूत पारिराखेका छन्। परीक्षा सँगसँगै चिट चोर्ने/चोराउने प्रसंग विगतदेखि नै उत्तिकै चर्चाको विषय बन्ने गरेको छ।

अंग्रेजी शब्दको फरक हिज्जेअनुसार चिट शब्दको अर्थ एक सानो कागजको टुक्रा र अर्को निहीत स्वार्थपूर्तिका लागि विश्वासघात गरी गरिने अनुशासनहीन धूर्त कामलाई जनाउँछ। परीक्षामा सानो कागजको टुक्रामा उत्तर लेखेर निरीक्षकको आँखा छली चोर्ने काम हुने भएकाले वर्तमानमा चिट शव्द अंग्रेजीका उल्लिखित दुवै अर्थको रिमिक्सका रूपमा प्रयोग भएको पाइन्छ। अझ एसइइ परीक्षाको समयमा त चिट सर्वत्र बहसको विषय बन्ने गरेको छ। अन्य क्षेत्रमा पनि नेपालीले यसलाई बिनाहिच्किचाहट आफनो बानीबेहोरामा उतारेको बग्रेल्ती उदाहरण पाइन्छ। एकले अर्कालाई ठग्ने÷झुक्याउने धोका दिने काम हाम्रो संस्कार र संस्कृति बन्दै गएको छ। 

राष्ट्रियस्तरमा सञ्चालित यस परीक्षामा एक किसिमले चिट हाहाकार नै हुने गरेकाले परीक्षा मर्यादित बनाउन  हरप्रयास गरे तापनि निमिट्यान्न पार्न पनिकालाई हम्मेहम्मे परेको यथार्थ जगजाहेर छ। एसइइ परीक्षामामात्र चिटको चर्चा किन व्यापक हुन्छ? कारण खोजिनुपर्छ। चिट चोर्न/चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गर्छन्? बहसको विषय बन्नुपर्छ । परीक्षा सञ्चालन समयमा गरिने कडाइ चिट निराकरणको एकमात्र उपाय हो त? सार्थक अध्ययन/अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्ब भइसकेको छ। शैक्षिक विकृति विसंगतिरूपी रोगको एक लक्षणमात्र हो सदाबहार चिट लोकप्रियता। 

पाठ्यक्रमले तोकेको सिकाइ उपलव्धि हासिल गर्ने गरी तोकिएको समयावधि पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिने गरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चिट। यसप्रकार चिटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकार पक्ष उम्कन खोज्नु अक्षम्य भूल हो। अर्कोतर्फ चिट चोर्नुरूचोराउनु र चोर्न विवश बनाउने सबै गतिविधि एक प्रकारको शैक्षिक भ्रष्टाचार हो। चिट चोरर पास हुनु र सुन्निएर मोटाउनु एकै हो। चिट चोरेर अधिक अंक ल्याएर सफल भए पनि पछि व्यवहारमा असफल हुँदाको ग्लानियुक्त यथार्थता बेहोर्दाको क्षण पश्चातापपूर्ण हुन्छ। तसर्थ वास्तवमा चिटले गर्दैन कसैको हित।

चिट चोर्ने/चोराउने तथा परीक्षा बिथोल्ने जो/कोहीलाई कसुरअनुसार परीक्षाबाट निष्काशन तथा ६ महिनासम्म जेल सजाय वा एक लाख रुपियाँसम्म जरिवाना गर्ने प्रावधान छ। अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षागर्न सकिन्छ। शैक्षिक सत्रभर हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासीनताको प्रतिफलहो चिट। शिक्षक, अभिभावक, विद्यालय तथा नीति निर्माताले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर इमान्दारीपूर्वक शैक्षिक गतिविधि सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटिङसंस्कारलाई निरुत्साहित गर्न बल पुग्छ।  

(पूर्वजिल्ला शिक्षा अधिकारी)

प्रकाशित: ७ चैत्र २०७४ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App