coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कस्ता नाइट वेयर लगाउने ?

मानिसको जीवनमा निद्राको महत्त्व बताइरहन पर्दैन । मिठो निद्राका लागि सुत्ने बेला लगाइने लुगाले पनि फरक परेको अनुभव सबैले गरेका हुन्छौं । त्यसैले राती सुत्दा मात्र लगाउने लुगा पनि बनाइएका छन् । यस्ता लुगालाई ‘नाइट वेयर’ भनिन्छ । राती सुत्दा लगाउने लुगा आरामदायी, नरम र खुकुला हुनुपर्ने चिकित्सक बताउँछन्। 

नाइट वेयर मौसम अनुसारका न्यानो र शीतल दिने पनि हुनु उत्तम मानिन्छ । नाइट वेयरले निद्रालाई असर गर्ने भएकाले यसले मानिसको स्वास्थ्यलाई समेत प्रभाव पार्ने विज्ञ बताउँछन्।  

दिनभरि कसिला लुगा लगाए पनि शरीरले आराम गर्ने समयमा खुकुलो पहिरन लगाउनु पर्ने चिकित्सक बताउँछन् । हरेक उमेर समूहका महिला र पुरुषलाई नाइट वेयर लगाउन जरुरी रहेको उनीहरूको भनाइ छ। 

यस्ता नाइट वेयरहरू हिजोआज बजारमा तयारी नै पाइन्छन् । रोजाई अनुसारको डिजाइन, फेसन, साइज र रङमा पाइन्छन्। 

दिनभरि कसिला लुगा लगाए पनि शरीरले आराम गर्ने समयमा खुकुलो पहिरन लगाउनु पर्ने चिकित्सक बताउँछन् । हरेक उमेर समूहका महिला र पुरुषलाई नाइट वेयर लगाउन जरुरी रहेको उनीहरूको भनाइ छ । विशेष गरी शारीरिक कामले थाकेका महिलाका लागि सुत्ने समयमा नाइट वेयरको प्रयोग गर्दा फाइदाजनक हुने विज्ञ सुझाउँछन्। 

प्रचलित केही नाइट वेयरहरू
वान पिस नाइट वेयर 

वान पिस डिजाइनका विभिन्न नाइट वेयर लगाउन सकिन्छ। लामा, छोटा र मझौला साइजका नाइट वेयर वान पिस डिजाइनमा पाइन्छन्। 

एउटै लुगा हुने भएकाले यस्ता नाइट वेयर आरामदायक र सजिला हुन्छन् । वान पिस नाइट वेयर जुनसुकै उमेर समूहका महिलाले प्रयोग गर्ने गरेको व्यापारी भोला कुमार बताउँछन्।

सुन्धारास्थित पुनम रेडिमेड स्टोरका सञ्चालक भोला भन्छन्, ‘सर्ट वान पिस टिनएजर्सले मन पराउँछन् । विशेष गरी इमोज्, एनिमल र फ्लावर प्रिन्ट गरिएका छोटा साइजका वान पिस नाइट वेयरको माग टिनएजर्सले गर्छन् ।’ कटनको सट वान पिसको माग बढी रहेको उनी अनुभव सुनाउँछन् । बजारमा सर्ट वान पिसको मूल्य चार सय रूपैयाँदेखि उपलब्ध रहेको उनी बताउँछन्।

पाटनकी सोनी मालाकार विद्यार्थी हुन् । उनी सुत्ने बेला सधैं  नाइट वेयर लगाएर सुत्न मन पराउँछिन् । उनी भन्छिन्, ‘दिनभरि शरीरमा टम्म हुने लुगा लगाइन्छ, राती सुत्ने बेला खुकुलो लुगा लगाउन मन पर्छ ।’ सुत्ने बेला खुला र आरामदायी तरिकाले सुत्न पाइने भएकाले नाइट वेयर आफ्ना लागि अनिवार्य भएको उनी सुनाउँछन् । उनलाई छोटो आकारको वान पिस नाइट वेयर सजिलो लाग्ने बताइन्। 

‘मलाई कटनको स्माइली इमोजी भएको पिंक कलरको सर्ट वान पिस नाइट वेयर मन पर्छ,’ उनी भन्छिन्, ‘हलुका, खुकुलो हुने भएर निदाउँदा आरामले निदाइन्छ।’   

मिडियम वान पिस नाइट वेयर पनि धेरै महिलाको रोजाइमा रहेको उनले बताए । मिडियम वान पिस नाइट वेयर खोज्न आउनेमा टिनएज कटेका महिला बढी रहेको उनी सुनाउँछन् । विशेष गरी गुलाबी, निलो र मरुन रङको नाइट वेयरको माग बढी रहेको उनले बताए । लङ वान पिस विशेष गरी गृहिणी तथा विवाहित महिलाको रोजाइमा पर्ने भोला बताउँछन् । बच्चा हुने महिलाका लागि यो वान पिस नाइट वेयर सहज हुने भएकाले गृहिणी महिला आकर्षित भएको उनको भनाइ छ । बजारमा लङ वान पिस नाइट वेयरको मूल्य कपडाको गुणस्तर अनुसार निर्धारण गरिएका हुन्छन् । साधारणतः पाँच सय रूपैयाँबाट सुरु हुने उनी बताउँछन्।

कटन नाइट गाउन
कटन नाइट वेयर गाउन लामो र खुकुलो हुन्छ । खुकुलो हुने भएकाले यो गाउन आरामदायी हुने व्यापारी आयुष्मा खड्का बताउँछिन् । विशेष गरी शरीरको बनावट ठूलो हुनेका लागि कटन नाइट गाउन वरदान साबित हुने उनी ठोकुवा गर्छिन्। 

उनी भन्छिन्, ‘विवाहित महिला, बालबच्चा हुने र शरीरको बनावट अलिक ठूलो हुनेहरू यो कटन नाइट वेयर गाउन खोज्न आउँछन् ।’ कटन नाइट वेयर गाउनको महिला र अधवैशे महिलाले खोज्न आउने उनी बताउँछिन् । कटन नाइट गाउनमा पनि विभिन्न प्रकारका डिजाइन पाइने उनी बताउँछिन् । आफ्नो इच्छा र डिजाइन अनुसारका गाउन बजारमा उपलब्ध रहेको उनी बताउँछिन् । ¥यापर, स्लिभलेस, फुल–स्लिभ र साइड–कट गाउन विभिन्न डिजाइनमा उपलब्ध छ । कटन नाइट वेयर गाउनको सामान्यतः १५ सय रूपैयाँ पर्ने उनी बताउँछिन्।

खुकुलो हुने भएकाले यो लगाएर सुत्दा सजिलो र आराम हुने बताउँछिन्, निशा श्रेष्ठ । उनी भन्छिन्, ‘राती सुत्दा रिल्याक्स भएर सुत्न जरुरी हुन्छ । दिनभरिको थकानले चुर भएको शरीर सुतेको समयमा नै आराम पाउने हो । तसर्थ सुत्दा लगाइने लुगा सहज, नरम र आरामदायी हुन जरुरी हुन्छ ।’ शरीरलाई सहज हुने भएकाले कटन नाइट वेयर गाउन लगाउने गरेको उनी बताउँछिन्।

सोर्टस् एन्ड टिसर्ट
लामो लुगा लगाउन झन्झट मान्नेहरूको रोजाई हुन सक्छ, सोर्टस् एण्ड टिसर्ट । कटन, सिल्कको हलुका हुने सोर्टस् र टिसर्ट विशेष टिनएजर्सको रोजाईमा पर्ने बताउँछिन्, कम्फर्ट जोनकी सञ्चालक इन्द्रा दोङ । स्कुले नानीहरूको रोजाइमा परेको सोर्टस् एण्ड टिसर्टको माग राम्रो रहेको उनी बताउँछिन् । हलुका लुगा लगाउन मन पराउनेले सोर्टस् एन्ड टिसर्टको प्रयोग गर्ने उनी बताउँछिन् । साना बुट्टा भएका कटनको सोर्टस् एण्ड टिसर्टको सेट बढी बिक्री हुने उनी सुनाउँछिन् । यसको सामान्यतः बजार मूल्य एक हजार रूपैयाँबाट सुरु हुने व्यापारी बताउँछिन्।

सिमोन सिन्तकला कक्षा ८ की विद्यार्थी हुन् । उनी सुत्ने बेलामा सोर्टस् एण्ड टिसर्ट लगाउन मन पराउँछिन् । ‘मलाई लामो लुगा लगाउन गाह्रो लाग्छ, सुत्ने बेलामा म नरम खालको सोर्टस् एण्ड टिसर्ट लगाएर सुत्छु ।’ उनले भनिन्।

पाइजामा
नाइट वेयरको रूपमा पाइजामा धेरैको रोजाइमा पर्ने गरेको बताउँछिन्, व्यापारी आयुष्मा खड्का । लगाउन सजिलो र आरामदायी हुने भएर यसको माग बढ्दो रहेको उनी बताउँछिन् । पाइजामा महिला, पुरुष दुवैको मनपर्ने नाइट वेयर रहेको उनी बताउँछिन् । सिल्क र कटनमा विभिन्न बुट्टा, डिजाइन र रङमा पाइन्छन् । तलमाथि दुवै सेटमा हुन्छ पाइजामा र सट वा टिसर्ट आफ्नो इच्छा अनुसार लगाउन सकिन्छ । लङ स्लिभ र स्लिभलेस दुवैमा उपलब्ध पाइजामा सबै उमेर समूहका महिला पुरुषका लागि लाभदायक नाइट वेयर रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘लङ पाइजामा र सर्ट पाइजामा गरी दुईथरिको पाइन्छ । धेरैजसो लङ पाइजामा किन्न आउँछन् ।’ कपडाको गुणस्तर र डिजाइन अनुसार पाइजामा बजारमा उपलब्ध रहको उनी बताउँछिन् । बजारमा समान्यतः पाइजामाको मूल्य १२ सय रूपैयाँबाट सुरु हुने उनी बताउँछिन्।

म्याक्सी
म्याक्सी विशेष गरी तराई भेगमा लगाइने नाइट वेयर हो । व्यापारी भोला भन्छन्, ‘हर मौसममा लाउन सहज हुने भएर म्याक्सी खोज्न आउनेको जमात छ ।’ म्याक्सी खुकुलो हुन्छ, मेक्सीको बाउला पनि खुकुलो हुने हुनाले लगाउन सजिलो हुने उनी बताउँछन् । ‘सुत्केरी महिला, स्तनपान गराउने महिलालाई मेक्सीले निकै सजिलो हुन्छ । हाम्रोमा यस्तै महिलाका लागि लिन आउँछन्,’ उनले भने । बजारमा म्याक्सीको मूल्य सात सय रूपैयाँमाथि पर्ने उनी बताउँछन्।

म्याक्सी लगाउँदा निकै सजिलो हुने बताउँछिन्, बिन्ती पुन । भर्खरै मात्र छोराको आमा बनेकी उनी मेक्सी लगाउँदा बच्चालाई स्तनपान गराउन सजिलो भएको बताउँछिन् । मेक्सी लगाउँदा खुला र सजिलो हुने उनी बताउँछिन्। उनी भन्छिन्, ‘सुत्ने समयमा कटनको म्याक्सी लगाउँछु । यसले सुत्न सजिलो हुन्छ र छोरालाई स्तनपान गराउन सजिलो हुन्छ।’  

प्रकाशित: ५ चैत्र २०७४ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App