८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा गुट हेरफेर

काठमाडौं – नेपाली कांग्रेसका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन्। आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरूले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ।  पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट/समूह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो। निर्वाचनमा पराजयपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ।
  
नेताहरूले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३औं महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समूहमासमेत हलचल आएको छ।
 
महाधिवेशन भएको दुई वर्षमा सभापति शेरबहादुर देउवा गुटबाट अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र चन्द्र भण्डारी अलग्गिएका छन्। केसी १३औं महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका उम्मेदवार थिए। भण्डारी पनि देउवा गुटबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसैगरी पौडेल र सिटौला समूह पनि एकपछि अर्को गर्दै कमजोर बन्न पुगेका छन्। अन्य गुट र समूह कमजोर बन्दै जाँदा देउवाले नेतृत्व गरेको गुट बलियो बन्दै गएको छ।  

आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरूले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणामलाई लिएर सभापति देउवामाथि विरोधी गुट र समूहले नेतृत्व छाड्न दबाब बढाइरहेका बेला त्यहाँबाट अलग्गिएका केसी पौडेल र सिटौलालाई मिलाउन सक्रिय छन्। जब कि १३औं महाधिवेशनमा यी दुई नेता पौडेल र सिटौला एकअर्कालाई स्वीकार गर्नै नसक्ने अवस्थामा थिए।
 
पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने पार्टी निर्णयको विपक्षमा उभिएपछि पाखा परेका भण्डारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी सभापति देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न नपाएपछि रुष्ट थिए। भण्डारीले गुल्मी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार बेहोरेपछि सभापति देउवा विरोधी केही युवा केन्द्रीय सदस्यको अगुवाइ गर्दै आएका छन्। त्यसमा गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका केन्द्रीय सदस्य छन्। तत्कालीन सभापति सुशील कोइरालाले मन्त्री नबनाएपछि भण्डारी देउवा गुट छिरेका थिए। महाधिवेशनको संघारमा देउवा गुटमा मिसिएका गुरुङ अहिले त्यहाँ छैनन्। 

१३औं महाधिवेशनमा सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ पदका लागि भएको प्रतिस्पर्धामा देउवा पक्षले सभापतिसहित ३७ पद जितेको थियो। देउवा गुटबाट खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रदीप गिरी, बालकृष्ण खाँण, रमेश लेखक, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, एनपी साउद, चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, शंकर  भण्डारी, प्रकाशशरण महत, भीष्मराज आङ्देम्बे, रमेश रिजाल, मोहनबहादुर बस्नेत विजयी भएका हुन्। त्यस्तै, देवेन्द्रराज कँडेल, जीवनबहादुर शाही, बीरबहादुर बलायर, डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, बहादुर लामा, सीता गुरुङ, रत्ना शेरचन, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार, अजय चौरसिया, महेन्द्र यादव, फरमुल्ला मन्सुर र पार्वता डिसी चौधरी पनि देउवा पक्षबाट विजयी हुन्। 
 
गुटहरुको महासंघ जस्तो देखिने पौडेल समूहमा साझा नेताको अभाव देखिएको छ। एकले अर्कालाई नेता मान्नेभन्दा पनि आफैं नेता बन्न सबै सक्रिय हुँदा महाधिवेशन भएको दुई वर्षमा पौडेल पक्षका आधा दर्जन केन्द्रीय सदस्य देउवा समूहमा पुगेका छन्। १३औं महाधिवेशनमा पौडेल समूहबाट महामन्त्री, कोषाध्यक्षसहित २७ जना केन्द्रीय समितिमा पुगेका थिए। तर, संसदीय दलको पछिल्लो निर्वाचनसम्म आइपुग्दा चिनकाजी श्रेष्ठ, नारायण खड्का, मीनेन्द्र रिजालसहित पौडेल समूहबाट अलग्गिएको निकट नेताहरुको दाबी छ।
 
चिनकाजीले तत्कालीन पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको विश्वास जितेर प्रमुख सचेतको जिम्मेवारी पाएका थिए। त्यसपछि देउवा संसदीय दलको नेता निर्वाचित भए तर प्रमुख सचेतकमा चिनकाजीले नै निरन्तर रहे। यसपटक संसदीय दलको नेताको निर्वाचनका लागि देउवाले उनै चिनकाजीलाई संयोजक बनाए। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पौडेल गुटको भेलामा उपस्थित नभएका नारायण संसदीय दलको निर्वाचनमा देउवाकै पक्षमा उभिए। त्यस्तै संसदीय दलको चुनावमा रिजालले पनि देउवालाई सघाएको पौडेल पक्षको आशंका छ। देउवाले रिजाललाई प्रमुख सचेतकको जिम्मेवारी दिन लागेको दाबी गर्दै पौडेल निकट स्रोतले भन्यो, ‘संसदीय दलको निर्वाचनपछि खड्काको त कुरा छाडौं, रिजाल पनि गुटको भेलामा आउनु भएन।’

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना पनि पौडेल गुटको भेलामा सहभागी नभएको धेरै समय भइसक्यो। ‘उहाँ कतै पनि नदेखिएको धेरै समय भइसक्यो,’ पौडेल निकट एक नेताले भने, ‘हाम्रो समूहको बैठक, छलफलमा उपस्थित नभएकाले उहाँको पनि छाँट राम्रो छैन।’

पौडेल पक्षबाट केन्द्रीय सदस्य जितेका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल अहिले सिटौला समूहमा सक्रिय छन्। उनले महाधिवेशनमा पौडेल समूहबाट मात्र नभई देउवा र सिटौलातिरबाट पनि मत पाएको नेताहरू बताउँछन्। प्रदीपले भने आफूलाई महाधिवेशनमा पौडेल पक्षले उम्मेदवार सूचीमा नराखेको गुनासो गर्दै आएका छन्। 

कुनै पनि समूहमा नरहेको बताउँदै आएका नेता शेखर कोइरालाले पछिल्लो संसदीय निर्वाचनपछि भएका पौडेल गुटका केही बैठकमा भाग लिएका छन्।

पौडेल गुटमा अहिले नेता रामचन्द्र पौडेल (सभापतिबाट केन्द्रीय सदस्यमा मनोनित), महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, शेखर कोइराला, सुजाता कोइराला, कमला पन्त, सरिता प्रसाईं, कल्याण गुरुङ, जीवन परियार, रामकृष्ण यादव, किरण यादव, गुरुराज घिमिरे, हृदयराम थानी, बद्री पाण्डे, नवीन्द्रराज जोशी, गोविन्द भट्टराई, दीपक गिरी, दिलेन्द्रप्रसाद बडू छन्।

१३औं महाधिवेशनका क्रममा अलग समूहको पहिचान बनाएको सिटौला समूह संसदीय दलको निर्वाचनपछि छिन्नभिन्न जस्तै देखिएको छ। प्रतिनिधिसभामा तीन सांसद र केन्द्रीय समितिमा चार सदस्य जिताउन सफल सिटौला समूह संसदीय दलको निर्वाचनमा देउवा र पौडेल समूहमा विभाजित बने। संसदीय दलको चुनावमा सभापति देउवाले प्रतिस्पर्धी प्रकाशमान सिंहले भन्दा २५ मत बढी ल्याएका थिए । संघीय प्रतिनिधिसभामा कांग्रेसका ६३ सदस्य छन्।
   
सिटौला समूहका तीन सांसदमध्ये उमाकान्त चौधरी र भीमसेनदास प्रधानले देउवा र गगन थापा सिंहको पक्षमा उभिएको निकट बताउँछन् । चौधरी र प्रधान सभापति देउवाको विरोधभन्दा उनलाई सँगै लिएर पार्टी संगठन सुदृढ गर्नुपर्ने पक्षमा छन्। थापा भने अब देउवाबाट पार्टी नचल्ने भन्दै उनको विरुद्ध उभिनुपर्ने अडानमा छन्। संसदीय दलको चुनावमा विभिाजित भएको सिटौला पक्षले आफूभित्र पूर्ण एकता रहेको सन्देश दिन शुक्रबार राजधानीमा भेला गरेको थियो।
 
संसदीय दलको नेताको चुनावमा सांसदहरुलाई स्वविवेक प्रयोग गर्न भनेको दाबी गर्दै सिटौलाले भने, ‘महाधिवेशनपछिको दुई वर्ष सभापतिलाई निःसर्त सहयोग ग¥यौं अब गुण र दोषका आधारमा आलोचनात्मक रुपमा हेर्छौं।’

संसदीय दलको निर्वाचनपछि पौडेल गुट बाँकी नरहेको दाबी गर्दै सिटौलाले भने, ‘उहाँहरु निकट महामन्त्रीले नै सभापति देउवालाई दलको नेतामा मतदान गरेपछि पौडेलजीहरुको गुट अब बाँकी रहेन।’ सिटौलाले यसो भने पनि उनी पौडेलसँग निकट हुँदै गएको स्रोतको दाबी छ। महाधिवेशनमा सभापतिका प्रत्याशी सिटौलालाई देउवाले केन्द्रीय समिति सदस्य मनोनयन गरेका हुन्।

सिटौला समूहका थापाले पार्टीभित्रका परम्परागत गुट भत्किँदै नयाँ बन्ने क्रममा रहेको जिकिर गरे । ‘समय र परिस्थितिले गुटहरु बन्ने र भत्कने गर्छन्,’ थापाले भने, ‘अब परम्परागतरुपमै पार्टी चल्छ र परिवर्तन चाहिन्छ भन्नेबीच नयाँ धु्रवीकरण हुन्छ।’

केन्द्रीय समिति बैठकमा परिवर्तन र यथास्थितिवादीबीच नयाँ धु्रवीकरण हुने दाबी थापाको छ। केन्द्रीय समिति बैठक चैत ९ गतेका लागि बोलाइएको छ। 

८५ सदस्यीय केन्द्रीय समितिमा सभापति देउवाले २१ जना मनोनित गर्न पाउँछन्। जसमा १२ जना मनोनित भइसकेका छन् । मनोनित पौडेल, सिटौला, केसी, थापा, चौधरीबाहेक अरु देउवा पक्षका हुन्।

प्रकाशित: ५ चैत्र २०७४ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App