५ वैशाख २०८१ बुधबार
अर्थ

गैंडाछाप सिमेन्टको उत्पादन दोब्बर बनाइने

उदयपुर – राजनीतिकरण र मजदुर आन्दोलनले पछिल्लो २ दशक थिलथिलो भएको दक्षिण एसियाकै उत्कृष्ट गैंडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेले उत्पादनमा फड्को मार्ने भएको छ। गुणस्तरीय सिमेन्ट उत्पादकको परिचय बनाउन सफल सिमेन्टले आप्mनो साख बचाउँदै अब उत्पादनलाई दोब्बर पार्नेगरी क्षमता बढाउन पहल थालेको छ।

प्रशस्त लाइमस्टोन (चुनढुंगा) खानी तथा फराकिलो उद्योग परिसर भएको उद्योगले थप उत्पादन गर्नेगरी क्षमता बढाउन पहल थालेको हो। नेपाल सरकारको पूर्ण स्वामित्वको उद्योगलाई क्षमता वृद्धि गर्न सरकारसँग औपचारिक माग प्रस्ताव पेश गरिसकेर प्रक्रियामा गइसकेको महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेलले बताए। हाल दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगले दैनिक ७ सय २५ टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रस्तावित क्षमता बिस्तार गर्न सके उद्योगले दैनिक थप १ हजार मेट्रिक टन उत्पादन गर्न सक्नेछ। त्यसका लागि उद्योगले केही यान्त्रिक उपकरणहरु मात्र थपे पुग्नेछ। पौडेलले दैनिक ८ सयबाट बढाएर १ हजार ८ सय मेट्रिक टन उत्पादन गर्न सरकारसँग परियोजना प्रस्तावसहित स्वीकृति मागेको जानकारी दिए।

क्षमता बढाउन स्वीकृतिसँगै उद्योगले ऋण सहयोग पनि मागेको छ। उत्पादन क्षमता थप्न निश्चित अवधिभित्र तिरिसक्ने गरी उद्योगले २ अर्ब १२ करोड ऋण सहयोग सरकारसँग मागेको जिएम पौडेलले बताए। उद्योगको बोर्ड बैठकको निर्णय अनुसार क्षमता वृद्धिको माग प्रस्ताव र त्यसका लागि आवश्यक ऋण उपलब्ध गराउन नेपाल सरकारले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको जनाएको छ।

‘दोब्बर बढी उत्पादन गर्नसक्ने अध्ययनले देखाए अनुसार क्षमता बढाउन सरकारसमक्ष प्रस्ताव पठाएका छौं’ जिएम पौडेलले भने ‘त्यसका लागि चाहिने २ अर्ब १२ करोड सहुलियत ऋण पनि मागेका छौं। हाम्रो प्रस्ताव अर्थमन्त्रालय पुगिसकेको खवर आएको छ।’ पौडेलका अनुसार मागेजति सरकारले ऋण दिए उद्योग क्षमता बढाएर उत्पादन बढाउने र ४ वर्षभित्रै ऋण तिरिसक्ने उसको प्रस्ताव छ। ऋण माग्दा तिर्ने अवधि र तालिकासहित प्रस्ताव पेश गरेको उनले बताएका छन्।

उदयपुर सिमेन्ट उद्योग स्थापनाकालमा परेको सरकारको ६ अर्ब ५५ करोड ऋणमध्ये अब १ अर्ब ७२ करोड भुक्तानी गर्न बाँकी छ। जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा २०४४ सालमा स्थापना भएको उद्योग नेपाललाई व्यवस्थापकीय जिम्मेबारी हस्तान्तरण गरेदेखि नै घाटामा जान थालेको थियो। राजनीतिकरण र मजदुर युनियन विवादका कारण धरासायी भइसकेको उद्योग व्यवस्थापनमा नेतृत्व परिवर्तनसँगै पछिल्लो २ वर्षयता सुधार आएको छ।

पछिल्लोे ६ महिनायता झण्डै पूर्ण क्षमताको सिमेन्ट उत्पादन गर्न सफल भएपछि उद्योगले ऋण तिर्न थालेको हो। अहिलेसम्म ४ अर्ब ८३ करोड ६२ लाख तिरिसकेको र बाँकी ऋण पनि यही रप्mतारमा उत्पादन कायम रहे आउँदो आर्थिक वर्षभित्र तिरिसक्ने लक्ष्य उद्योगले लिएको छ।

जिएम पौडेल मागेको २ अर्ब १२ करोड ऋण सरकारले थपे पुरानोसहित हुन आउने ३ अर्ब ८४ करोड ऋण ४ वर्षभित्र सहजै तिर्नेगरी उद्योग सञ्चालन हुनेमा विश्वस्त छन्। उद्योगको विद्यमान जनशक्ति र प्लान्टबाटै उद्योगलाई दोब्बर बढी क्षमतामा उत्पादन गर्न सकिने उनको भनाई छ। सरकारसँग लिइने ऋण उपकरण खरिद र जडानमा मात्र खर्च हुने तर, जनशक्ति र मुख्य पूर्वाधार मौजुदाबाटै काम चल्ने उनको भनाई छ।

जिल्लाको साविक चिलाउने हाल त्रियुगा नगरपालिका १६ सिंधालीस्थित उद्योगको चुनढुंगा खानीमा अझै ७ करोड मेट्रिक टन हाराहारी लाईमस्टोन बाँकी छ। त्यस्तै अर्को प्लान्ट स्थापना गर्नुपरेपनि जग्गा जमिन उद्योगसँग प्रशस्त भएकाले उद्योगलाई न्यूनतम लगानीमा दोब्बर क्षमताको बनाउन सकिने प्राविधिक निष्कर्ष अनुसार क्षमता बढाउन लागिएको हो।

०४४ देखि स्थापना सुरु भइ ०४९ मंसिरदेखि उत्पादन थालेको गैंडा छाप सिमेन्टका लागि अहिले ९ करोड ९० लाख मेट्रिक टन लाईमस्टोन सुरक्षित रहेको उद्योगले जनाएको छ। ‘स्थापनाकालमा उद्योगको सिंधालीस्थित लाईमस्टोनको क्षमता भनेको ७ करोड ३० लाख मेट्रिक टन हो’ उद्योगका बिक्री विभाग प्रमुख रामबहादुर जिसीले भने ‘अहिलेसम्म भर्खर ४० लाख मेट्रिक टन मात्र खपत भएको छ, बाँकी त्यहीँ पहाडमा सुरक्षित छ।’ २५ वर्षमा ४० लाख मेट्रिक टन मात्र खपत भएको उद्योगले क्षमता दोब्बर बनाए पनि सयौं वर्षसम्म सिमेन्ट उत्पाना गर्न लाईमस्टेनले धान्न सक्छ।’

गैंडाछाप नेपालका अन्य सिमेन्ट र भारतीय उत्पादनको दाँजोमा अब्बल सावित हुँदै आएको छ। दक्षिण एसियामै गुणस्तरीय मानिएको यो सिमेन्ट १ घण्टामै सेटिङ हुने तथा मूल्यमा पनि सस्तो भएकाले दिन प्रतिदिन माग बढिरहेको जिसीले बताए। पूर्वाधार निर्माणको बेला (पिक सिजन) मा माग धान्नै गाह्रो हुने गैंडा छाप दैनिक सरदर ६ सय मेट्रिक टनका दरले बिक्री हुँदै आएको छ। जिसीका अनुसार गैंडाछापको मुख्य बजार १ नम्बर प्रदेशका अधिकतर जिल्ला, २ नम्बर प्रदेशका २ तिहाई र राजधानी तथा भारतसमेत रहेको छ।

प्रकाशित: ४ चैत्र २०७४ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App