४ वैशाख २०८१ मंगलबार
खेल

प्रथम मेयर कप फुटबलकाे उपाधि मेचीनगरलाई

मेयरकपको फाइनलमा भिड्दै मेचीनगर (नीलो जर्सी) र सूर्याेदय नपाका खेलाडी। तस्बिर : नागरिक

इलाम – सूर्योदय नगरपालिकास्थित करफोकमा सञ्चालित ‘प्रथम मेयर कप आमन्त्रण फुटबल प्रतियोगिता’को उपाधि झापाको मेचीनगर नगरपालिकाले चुमेको छ। शनिबारको फाइनलमा इलामको सूर्याेदय नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो।

निर्धारित समयसम्म  मेचीनगर र आयोजक सूर्योदय दुवै ३–३ गोलको बराबरीमा रोकिए। निर्धारित समयमा मेचीनगरका एन्जल गुरुङ, पुजन उपरकुटी र निशान लिम्बूले १–१ गोल गरेका थिए। सूर्योदय नगरपालिका तर्फबाट सञ्जोग खड्का, सचिन यल्मो र रविन राईले १–१ गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए।

विजेता मेचीनगरले १ लाख २५ हजार नगद, ट्रफी र प्रमाण–पत्र पायो। उपविजेता सूर्योदयले ८५ हजार नगदमा चित्त बुझायो। प्रतियोगिताभरका सर्वाधिक गोलकर्ता सञ्जोग खड्का र उत्कृष्ट खेलाडी मेचीनगरका सरोज तामाङ भए।

गत फागुन १९ मा सुरु प्रतियोगितामा मेचीका ११ नगरपालिकाका टिम सहभागी थिए। यो प्रतियोगितालाई बर्सेनि निरन्तरता दिइने खेल संयोजक तथा नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्। खेलको समापन अवसरमा पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनालले रेफ्रीलाई बल दिएर फाइनल खेल उद्घाटन गरेक थिए।

त्यस अवसरमा खनालले हरेक नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको खेलमैदान आवश्यक रहेको बताए। उनले योजनाबद्ध ढंगले खेल क्षेत्रको विकास गर्न मैदान आवश्यक रहेको भन्दै कला र संस्कृतिको संरक्षण गरेजस्तै खेलको संरक्षण गर्नुपर्ने बताए। ‘वर्तमान गठबन्धन सरकार स्थायी सरकार भएकाले यसले देशको खेल क्षेत्रलाई आधुनिक ढंगले विकास गरेर जान सक्नुपर्छ,’ उनले भने, ‘अब इलाममा पनि आधुनिक खेलमैदान बनाउन स्थानीय सरकारहरूले प्रस्ताव अगाडि ल्याउनुहोस्। त्यसलाई प्रदेश र संघीय सरकारले के भूमिका निर्वाह गर्नुपर्छ। हामी पनि लाग्ने छौँ।’

कार्यक्रममा प्रदेश सांसद काजीमान कागतेले स्वस्थ जीवनशैली र अनुशासनले देशलाई अग्रस्थानमा लैजाने भएकाले त्यसको मूल आधार खेल क्षेत्र भएको बताए। उनले सभ्य जीवनशैलीको विकासका लागि खेलको महत्वपूर्ण भूमिका रहने भएकाले खेल क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिए। नेपाल नगरपालिका संघका प्रदेश नम्बर १ अध्यक्ष तथा इलाम नगरपालिका प्रमुख महेश बस्नेतले खेलकुदको विकास गर्नका लागि गाउँ–गाउँमा रहेका खेल प्रतिभालाई बाहिर ल्याउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।

प्रकाशित: ४ चैत्र २०७४ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App