भक्तपुर – नेपालकी प्रथम महिला धिमेवादक इन्दिरा लाछिमस्यूको टोलीले भारतको असाममा नेवारी जीवनशैली झल्किने नेवारी कला र संस्कृति देखाएका छन् । त्यहाँ आयोजित ‘वृहत नेवारी पारम्परिक सांंस्कृतिक प्रदर्शनी तथा एकदिवसीय अभिवर्तन कार्यक्रम’मा लाछिमस्यूको टोलीले नेवारी कला संस्कृति देखाएका हुन् । संस्कृतिविद गणेशराम लाछीको संयोजनमा गएको ११ सदस्यीय टोलीले भारतको ओदालगुडी जिल्लाको सामराङमा नेवारी संस्कृति झल्किने बाजा तथा नाच प्रदर्शन गरेर हालैमात्र नेपाल फर्केका छन्।
अखिल भारतीय नेवार संगठन असाम राज्य समितिको निमन्त्रणामा भक्तपुरका ६ र मध्यपुर थिमिका चार जनाको नेपाली टोलीले प्रदर्शनीमा नेपालकोतर्फबाट सहभागिता जनाएका थिए । भक्तपुरका किशोर ढुकुछू, जुलुम श्रेष्ठ, विनोद श्रेष्ठ, काव्य ढुकुछू, क्रिजा मानन्धर र मध्यपुर थिमिका अनुसा सिंजाली, सिर्जना फाँंजू, अभय डंगोल र मुकेश श्रेष्ठसहितको १० जनाको संयुक्त टोलीले मार्च ११ र १२ मा आफ्नो प्रस्तुति दिएका थिए।
उनीहरुले नेवारी संस्कृति झल्किने धिमे बाजा, नाय खिं, लाला खिं, पछिमा, नगरा (नौ बाजाअन्तर्गत पर्ने विभिन्न बाजाहरु) को प्रदर्शन गरेका थिए । टोलीले लाखे नाच, बज्रयोगीनी नाच, नेवारी लोकनृत्य पनि देखाएका थिए।
प्रदर्शनीमा नेवारी सम्हेबजी (नेवारी खाजा), गुभाजु (बेलविवाहको लागि), नेवारी भेषभुषा, नेवारी पुस्तकहरु, नेवारी वाद्ययन्त्रहरु राखिएका थिए । प्रदर्शनीमा नेवारी परम्परा झल्किने भादगाउँंले कालो टोपी, सुकुन्दा, नेवारी खादा, हाकुपटासी (नेवार समुदायकी महिलाले लगाउने परम्परागत कालो फरिया) बिक्रीको लागि राखिएको थियो।
वाद्यवाद्यक इन्दिराका अनुसार नेवार उपजातिलाई अनुसूचित जनजातिमा समावेश गराउने पक्षमा नेवारी कला संस्कृति, परम्परा, खाद्यभास, रहनसहन आदिको सर्वेक्षण तथा अवलोकन गर्ने हेतुले कार्यक्रम सञ्चालन गरिएको हो । भारत तथा असाम सरकारले गोर्खा जातिको ११ वटा उपजातिलाई जनजातिको दायरामा ल्याउने पहलस्वरुप यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
नेपालकी प्रथम महिला धिमे वाद्यक इन्दिराले यसअघि पनि विभिन्न मुलकहरुमा पुगेर नेवारी संस्कृति झल्किने प्रदर्शनहरु गर्दै आएकी थिइन् । उनले हालसम्म जर्मन, इटली, अष्ट्रिया, सिक्किम, दार्जिलिङमा पुगेर प्रदर्शन गरिसकेकी छिन्।
प्रकाशित: ४ चैत्र २०७४ ०३:४४ आइतबार