coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रमिते बनेका गाउँलेले राधाको सम्मानमा ताली बजाए

बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका५, देउकलियामा सयौं गाउँलेका अगाडि सम्मान गर्दै  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल ।

देउकलिया – बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ वर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीलाई क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुस गरेका छन् ।‘बोक्सी भनेर राधालाई ६ घण्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्,’ नवगठित शोषणरहित महिला सञ्जाल देउकलियाकी सचिव रेनुका बोहराले भनिन्, ‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’ बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको उनले बताइन्। 

अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरू सजग भएका छन् । ‘बोक्सी लागेकाले निको पार्न भोलेबाबालेकुटपिट गरेका होलान्भनेर त्यस दिन हामी केही नबोलेका हौं,’ स्थानीय सम्झना चौधरीले भनिन्,‘त्यस दिनभोलेबाबालाई कुटपिट गर्न नरोकेर गल्ती गरेका रहेछौं भनेर अहिले पछुतो भएको छ ।’ घटनास्थलको भीडले कुटपिट नगर भनेर रोक्नुपर्ने उनको भनाइ छ।

गाउँमा शोषणरहित महिला सञ्जाल गठन
बोक्सी आरोपमा राधामाथि अमानवीय ढंगले कुटपिट भएको र गाउँले रमिते बनेको घटनापछि देउकलिया गाउँमा महिलामाथि हिंसाका घटना हुन नदिन स्थानीय महिलाहरूको भेलाले शनिबार शोषणरहित महिला सञ्जाल गठन गरेको छ। 

गीता धामी अध्यक्ष, पार्वती चौधरी उपाध्यक्ष, रेनुका बोहरा सचिव र अनिता शाही कोषाध्यक्ष रहेको ४० सदस्यीय सञ्जाल गठन गरिएको हो ।‘एक निहत्था युवतीमाथि कुटपिट हुँदा कोही नबोलेर रमिते हुनु गलत थियो, अब यस्ता घटना हुन नदिन र कोही महिला हिंसा र शोषणमा परेका भए न्याय दिन हामीले यो सञ्जाल गठन गरेका हौं,’गीताले भनिन्।

राधामाथि कुटपिट भएको घटनाबाट स्थानीय समुदाय सचेत भएकोबताउँदै उनले अब कुनै बहानामा पनि महिलामाथि यस्तो घटना दोहोरिन नदिने बताइन् । राधाले गाउँमै बसेर पढाइ अगाडि बढाउने चाहना राखेकीछिन् । ‘हामी राधालाई गाउँमा सम्मानका साथ बस्ने वातावरण बनाउँछौं,’उनले भनिन्।

पीडित राधालाई गाउँमा सम्मान
बोक्सी आरोपमा कुटपिट गरिएकी चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका ५ देउकलियामा सयौं गाउँलेका अगाडि सम्मान गरिएको छ । राधा अध्ययनरत स्थानीय राष्ट्रिय माविमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राधालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगी युवतीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले शनिबार बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएर समर्थन जनाएका थिए । राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् ।सम्मानित भएपनि उनी हतास मुद्रामा देखिएकी थिइन् । उनले गाउँमा सहजवातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । वैशाखमा आइरहेको परीक्षा बिग्रने उनको चिन्ता छ।

 गाउँमा पुनसर््थापित हुन सहज होस् भनेर सहपाठी विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र गाउँलेको उपस्थितिमा राधालाई अभिनन्दन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘पीडितलाई गाउँमा फर्कन सहज होस् र सकारात्मक सन्देश जाओस् भनेर गाउँलेकै बीचमा उनलाई अभिनन्दन गरिएको हो,’उनले भने । सयौं गाउँलेलाई बोक्सी हुँदैन, कुनै मानसिक रोगका कारण मान्छेमा काप्ने, बौलाउने, कराउने लक्षण देखिने गरेको सन्देश दिने अग्निदहन वृत्तचित्र पनि देखाइएको थियो । यो वृत्तचित्र हेरेपछि केही मान्छेमा बोक्सी हँुदैन भन्ने विश्वास जागेको स्थानीय बताउँछन् ।‘ यो फिल्म हेरेपछि चियापसललगायत विभिन्न ठाउँमा बोक्सी हुँदो रहेनछ, यस्ता कुरामा विश्वास गर्नु हँुदैन भनेर कुरा हुन थालेको छ,’ स्थानीय खेम सापकोटाले भने । केही व्यक्ति भने देवीदेउता र भूतप्रेत हुन्छ भन्ने विश्वासमा अझै पनि रहेको उनको भनाइ छ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन बोक्सी आरोपमा राधालाई भोलेबाबा भनिने रामबहादुर चौधरी, किस्मती चौधरी र स्मारिका चौधरीले लगातार ६ घण्टासम्म कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा ३ जना र मतियारकारूपमा संलग्नरहेका भनेर ३ जना गरी ६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। 

प्रकाशित: ४ चैत्र २०७४ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App