७ वैशाख २०८१ शुक्रबार
अन्य

गर्मीयामको भोजन

गर्मी मौसममा खानेकुरा छिटो सड्ने–गल्ने हुन सक्छ। त्यसैले गमी याम सुरु भएसँगै खानेकुरामा ध्यान दिनुपर्छ। मौसम परिवर्तनसँगै हाम्रो शरीरलाई आवश्यक पौष्टिक तत्त्व पनि परिवर्तन गर्नुपर्ने हुन्छ। खानपानकै कारण गर्मी मौसममा शरीर अस्वस्थ हुने चिकित्सक बताउँछन्। शारीरिक व्यायाम, सन्तुलित भोजन, आवश्यक आराम, निद्राको सन्तुलन मिलाउन सके स्वस्थ्य रहन सकिन्छ । पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘के खाने, कसरी र कुन समयमा खाने भन्ने ज्ञान भयो भने जीवन स्वस्थ हुन्छ।’ 

दूषित वातावरण, बासी खानेकुरा, रसायनयुक्त तरकारी तथा फलफूलले धेरै प्रकारका दीर्घकालीन रोग निम्त्याउने सक्ने उप्रेती बताउँछिन्। ‘अझ बजार क्षेत्रमा बाहिर ठेलागाडामा राखिएको खानेकुरा प्रदूषित हुन्छ । त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्छ,’ उनले भनिन्, ‘बारम्बार एउटै तेलमा तारेका खानेकुरा खाँदा पनि क्यान्सर हुन्छ।’ 

अस्वस्थकर खाना बेच्ने पसलेका कारण पनि धेरै मानिस जटिल रोगको सिकार हुनुपरेको उनको भनाइ छ। परिवारले खानपानका सम्बन्धमा आफ्ना बालबालिकालाई विशेष ध्यान दिनुपर्ने उनी सुझाउँछिन् । ‘घरमै सफासँग बनाएर खुवाउने, खाने बानी बसाल्नुपर्छ,’ उनले भनिन्, ‘बालबालिकालाई प्रदूषित खानेकुराबाट हुने बेफाइदा बुझाउनुपर्छ।’
व्यापारीले सरसफाइमा ध्यान दिनुपर्ने र सरकारले ठेलागाडामा खानेकुरा बेच्नका लागि मापदण्ड बनाउनुपर्ने उनी बताउँछिन्। 

गर्मी मौसममा पकाएर खाइनेभन्दा पनि काँचै खाइने खानेकुरामा ध्यान दिन जरुरी रहेको नापतौल विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती बताउँछन्। 

‘ठेलागाडामा राखिने खानाका लागि त्यस्तो कुनै मापदण्ड बनाइएको त छैन, तर हामी गृहकार्य गर्दै छौँ,’ उनले भने। कसैले अखाद्य वस्तु बेचेको जानकारी आए कानुनी कारबाही हुने पनि उनले बताए। 

गर्मी मौसममा चिसो पेयपदार्थ पिउन मन हुनु स्वाभाविकै हो । तर, लामो समयसम्म बजारिया पेयपदार्थ सेवन गर्नाले क्यान्सरजस्तो जटिल रोग लाग्न सक्ने डा. उप्रेती बताउँछिन् । ‘बजारमा उपलब्ध पेयपदार्थमा शरीरलाई हानि गर्ने केमिकल प्रचुर मात्रामा प्रयोग गरिन्छ, जसले शरीरलाई कमजोर मात्र नबनाई दीर्घकालीन असर गर्ने रोग समेत निम्त्याउँछ,’ उनले भनिन्। 

अहिले बजारमा पाइने विभिन्न ब्रान्डका पेयपदार्थलाई स्वस्थवद्र्धक र फलफूलकै जुस हो भनेर विज्ञापन गरिए पनि शरीरका लागि लाभदायक नभएको डा. उप्रेती बताउँछिन् ।
गर्मीमा उपयोगी केही खानेकुरा :

कागती र चुक 
कागती र चुकबाटलाई सफा पानीमा घोलेर चिसो पेयपदार्थका रूपमा सेवन गर्न सकिन्छ । कागती र चुक हर मौसममा उपलब्ध हुन्छ । डा. उप्रेतीका अनुसार दिनमा दुईवटा कागती खानाले शरीरमा आवश्यक शक्ति प्राप्त हुन्छ।

दुध, दही, मही
दूध, दही, महीलाई पनि सर्वतका रूपमा प्रयोग गर्न सकिन्छ । दुध, दही, मही शरीरका लागि निकै फाइदाजनक हुने र कुनै प्रकारको हानि नगर्ने डा. उप्रेती बताउँछिन् । यी चिजलाई सर्वतको रुपमा सेवन गर्दा स्वादका लागि चिनीभन्दा मिश्रीको प्रयोग गर्न उपयुक्त हुन्छ । बजारमा उपलब्ध विभिन्न प्रकारका जुस, पेयपदार्थ भन्दा घरमै बनाउन सकिने सर्वतले बच्चादेखि वृद्धवृद्धालाई फाइदा गर्ने डा. उप्रेती बताउँछिन् ।  

सातु
जौ, गौ, मकै लगायत विभिन्न खाद्यान्नको सातु स्वास्थ्यका लागि उत्तम हुन्छ । भान्छामै उपलब्ध हुने थरीथरीका गेडागुडीलाई भुटेर र पिसेर पनि सातु बनाउन सकिन्छ । सातुले शरीरमा आवश्यक पोषण दिने डा. उप्रेती बताउँछिन् । सातुलाई खाजाका रूपमा प्रयोग गर्न सकिन्छ । दूध, तातोपानीमा राखेर नियमित खानाले शरीर भित्रैदेखि बलियो हुने उनी बताउँछिन् । सातुले शरीरमा बाह्य कीटाणुसँग लड्न सक्ने शक्ति उत्पादन गर्ने उनी बताउँछिन् । 

मौसमी फलफूल
शरीरलाई फलफूल निकै आवश्यक हुन्छ । मौसम अनुसारको फलफूलबाट शरीरलाई आवश्यक भिटामिन, फाइबर, मिनिरल्स प्राप्त हुन्छ । गर्मी मौसममा रसयुक्त फलफूलले शरीरमा पानीको कमी हुन दिँदैन । नरिवलको रस, खरभुजा, तरभुजा, केरा, भुइँकटर, आँपलगायत फलफूलले शरीरमा पानीको कमी हुन नदिने डा. उप्रेती बताउँछिन् । ‘मौसमभन्दा अगाडि नै बजारमा आउने फलफूलले शरीरलाई हानि गर्छ,’ उनले भनिन् । विभिन्न प्रकारका केमिकलको प्रयोग गरेर पकाइएका फलफूलले शरीरलाई उल्टो बिगार गर्ने भएको नखान उनको सुझाव छ । ‘बजारबाट फलफूल ल्याएपछि पानीमा औषधि राखेर आधा घन्टासम्म भिजाएर मात्रै खानुपर्छ ।’ 

हरियो तरकारी
गर्मी मौसम आगमनसँगै हरियो तरकारीको प्रकार पनि धेरै थरी प्राप्त गर्न सकिन्छ । हरियो तरकारी, सागपातले शरीरमा आवश्यक पोषण दिने हुनाले मौसम अनुसारको तरकारीको प्रयोग गर्नाले शरीरमा फाइदा हुन्छ । हरियो सागपातलाई राम्रोसँग सफा गरेर पकाएर आउनुपर्ने खाद्य प्रविधिका पूर्णचन्द्र वस्ती बताउँछन् । ‘गर्मी मौसममा सरसफाइमा महत्त्वपूर्ण ध्यान दिनुपर्छ, पकाएर खानेकुराभन्दा पनि नपकाई खाने सलाद, तरकारी, फलफूलमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

माछामासु
माछामासु हरेक मौसममा खान मन पाइने परिकार हो । माछामासुले शरीरमा पौष्टिक तत्त्व प्रदान गर्छ । शरीरको वृद्धि विकासका लागि आवश्यक आइरन, प्रोटिन, म्याग्नेसियम, जिंक, भिटामिन बीलगायत प्राप्त हुन्छ । खाद्यान्न प्रविधिका पूर्णचन्द्र वस्ती भन्छन्, ‘माछामासु फ्रिजमा राखिएको छ भने बासी भन्ने हाम्रो सोच गलत हो, डिफ्रिजमा छ भने त्यो स्वस्थ्यकर हुन्छ।’ 

डिप–फ्रिजमा राखिएको माछामासु खान कीटाणुरहित हुने उनी बताउँछन् । ‘ताजा मासुमा हुने कीटाणु चिसोमा सक्रिय हुन सक्दैन, मर्छ तसर्थ डिप–फ्रिज गरिएको मासु खाँदा लाभदायक हुन्छ,’ उनले भने । 

पुदिना, टमाटर
गर्मी मौसममा पुदिना निकै लाभदायी हुन्छ । पुदिनाको अचार, छोप, जुसलगायत बनाएर खान सकिन्छ । पुदिनाले शरीरको पाचन प्रणालीमा राम्रो गर्ने चिकित्सक बताउँछन् । पुदिना र टमाटर छालाका लागि निकै फाइदाजनक हुन्छ ।

प्रकाशित: २ चैत्र २०७४ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App